आज असोज २ गते । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृति दिवस । नेपाली कांग्रेसका ’चार तारा’मध्येका एक गणेशमान सिंहलाई सम्झने र श्रद्धाञ्जली अर्पण गर्ने कर्मकाण्ड कांग्रेसले त पूरा गर्ने नै छ, उहाँलाई अन्य कैयन अस्वाभाविक पात्रहरूले पनि सम्झने पक्का छ ।
राणाकालमा नै ‘मिथकीय’ पात्र बनेका गणेशमान सिंहका अनेकन कथा आजका पुस्ताका लागि दन्त्यकथा लाग्न सक्छ । राणाको जेलको दुर्भेद्य मानिएको जेलको पर्खाल नाघ्नु, त्यसपछिको रोमाञ्चक पैदल यात्रापश्चात् भारत पलायन, बीपी कोइरालासँगको भेट, नेपाली कांग्रेसको स्थापना र पुनः गिरफ्तारीका कथा आजका पुस्ताका लागि कुनै सनसनीपूर्ण चलचित्रझैं लाग्न सक्छ । २००७ सालको घोषणापश्चात् रिहाइ अनि सिधै मन्त्री पद र मन्त्री हुँदाकै बखतका अनेकन गाथा आफ्नै ठाउँमा छन् ।
राजा महेन्द्रको २०१७ सालको कदमपश्चात् लगातार आठ वर्षको जेल बास अनि २०३३ सालसम्मको भारत निर्वासन । व्यक्तिगत रूपमा असहमत हुँदाहुँदै पनि २०३३ सालमा बीपीको ‘राष्ट्रिय मेलमिलाप’को नीतिलाई पछ्याउँदै स्वदेश आगमन र पुनः बन्दी जीवन । ‘कोइरालाजी’को निधनपश्चात् सर्वोच्च नेताका रूपमा कांग्रेसको नेतृत्व गर्नुभएका सिंहले २०४६ सालमा पञ्चायती व्यवस्था ढाल्न कम्युनिस्टहरूसँग कार्यगत एकता गर्ने निर्णय लिनुभयो । वास्तवमा उहाँकै प्रेरणाले त्यस समय वाममोर्चा बनेको थियो ।
२०४६ को जनआन्दोलनको सफलता र बहुदलीय शासन व्यवस्थाको पुनस्र्थापनापश्चात् राजा वीरेन्द्रले उहाँलाई नै प्रधानमन्त्री बन्न आमन्त्रण गरेका थिए । तर, गणेशमानजीले प्रधानमन्त्री पद स्विकार्नुभएन । उहाँले प्रधानमन्त्री पदका लागि कृष्णप्रसाद भट्टराईको नाम सुझाउनुभयो । वास्तवमा नेपाली इतिहासमा यो घटना ‘भूतो न भविष्यती’ नै थियो । पदका लागि जेजस्तो सम्झौता गर्न पनि तयार हुने वर्तमान परिवेशमा गणेशमानजीले प्रधानमन्त्री पद त्याग्नुभएको थियो भन्ने कुरो पत्याउन अधिकांशलाई निकै गाह्रो पर्ला †
जीवनको उत्तराद्र्धमा गणेशमानजी कांग्रेस पार्टी र यसको शैलीसँग असन्तुष्ट हुनुहुन्थ्यो । उहाँले आफूलाई कांग्रेसबाट अलग्गै राख्न्नुभएको थियो । वैकल्पिक शक्ति निर्माण गर्ने झिनो कोसिस उहाँले गर्नुभएकै हो, तर सफलता प्राप्त भएन ।
ध्यान दिएर हेर्ने हो भने २००७ साल र २०१५ सालका दुई छोटो अवधिबाहेक उहाँ सम्पूर्ण जीवन सत्ताको विपक्षमा संघर्षरत नै रहनुभयो । सत्तामा रहेको छोटो अवधिमा पनि उहाँमा विद्रोहीपन देखिन्थ्यो । २०४७ सालको परिवर्तनपछि सत्तारूढ नेपाली कांग्रेसको उहाँ ‘सर्वमान्य नेता’ रहनुभयो, तर विद्रोही † पार्टी परित्यागको घोषणापछि त कुरै भएन । निरन्तर संघर्ष, विद्रोह र अटल निष्ठा उहाँको जीवनको अकाट्य सत्य हो । अविचलित अविश्रान्त योद्धा गणेशमान सिंह वास्तवमा नै नेपाल र लोकतन्त्रप्रेमी नेपालीको मनमा सदासर्वदा अमर रहिरहने ध्रुवतारा हुनुहुन्छ ।