काठमाडौं । यो वर्षको दशैंलाई लक्षित गरेर अर्को चलचित्र ‘कौसिद’ पनि रिलिज हुने भएको छ । यस अघि यही मितिमा चलचित्र परदेशी २ रिलिजको घोषणा गरिएको थियो ।
सोमबार निर्माण पक्षले चलचित्र कौसिदको ट्रेलर रिलिज गर्दै यो चलचित्रलाई यही २६ असोजमा रिलिज गर्ने घोषणा गरेको हो । ऋचा शर्मा र भोलाराज सापकोटा अभिनित चलचित्र कौसिदको ट्रेलरमा ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ प्रस्तुत गरिएको छ ।
सस्तो व्याज भनेर ऋण दिने र व्याजमाथि स्याज जोडेर महँगो रकम असुल्ने बैंक तथा सहकारीहरुको ज्यादतीलाई यो चलचित्रको ट्रेलरमा समेटिएको छ । ट्रेलरले धेरै नेपालीको पीडा भाव बोल्छ ।
चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन् । चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई,सन्दीप लोहनी लगायतका कलाकारको अभिनय रहेको छ ।
यो चलचित्रका निर्माता केदार भुषाल हुन् । दशैं भनेको नेपालीहरुको महत्वपूर्ण चाड भएको र यो बेलामा सबैको रमाइलो गर्ने मुडमा हुन्छन् भनेर चलचित्र रिलिज गर्न लागेको भुषाले बताए,‘दशैंको बेला चलचित्र हेर्ने दर्शक पनि धेरै हुन्छन ।त्यही भएर यो समयमा प्रदर्शन गर्न लागेको हो ।’ निर्माता भुषालले भने ।
यही मितिमा अर्को चलचित्र रिलिज हुँदा पनि दर्शकहरुले दुबै चलचित्र हेर्ने दाबी यी निर्माताको छ । चलचित्रका कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ छन् ।
यस चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको छ । निसाल पौडेलले छायांकन गरेको चलचित्रमा भीम विश्वकर्माको सम्पादन,सुदीप श्रेष्ठको कलर रहेको छ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ ।