काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा द्रुत बस सेवा शुरु गरेको छ। संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन्। द्रुत बस सेवा सूर्यविनायक-रत्नपार्क चल्नेछ।
उद्घाटनका दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह लगायतले यात्रा गरेका छन्। आज परीक्षणका रुपमा सञ्चालन गरिएको यो सेवा सर्वसाधारणका लागि भने बिहीबारबाट सञ्चालनमा आउने भएको छ । भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्मको सडक खण्डमा चल्ने द्रुत बस सेवा सञ्चालन भएपछि यात्रुले ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्क पुग्न सक्ने यातायात व्यवस्था विभागको दाबी छ ।
सूर्यविनायक र रत्नपार्कबाट ३९ सिट क्षमता भएका २५ द्रुत बस सञ्चालन हुनेछन् । यी बस यात्रु कुरेर बस्न पाउदैनन् । विभागले निर्धारण गरेका १९ बसले बस बिसौनीमा यात्रु चढाउने र झार्ने बाहेक यात्रु कुरेर बस्न भने पाउने छैनन् । यसका लागि विभागले सूर्यविनायकबाट सल्लाघारी, राधेराधे, थिमिचोक, चारदोबाटो, गठ्ठाघर, कौशल्टार, लोकन्थली, जडीबुटी, कोटेश्वर, तीनकुने, शान्तिनगर, नयाँबानेश्वर, बबरमहल, माइतीघर, भद्रकाली र अन्तिम रत्नपार्कमा बस बिसौनी तोकिएको छ ।