भुमरीमा दक्षिण एसिया

विश्वका अतिमहाशक्ति र महाशक्ति राष्ट्रहरूको ध्यान दक्षिण एसियामा केन्द्रित हुन थालेपछि यसले तनाव र अवसर दुवै सिर्जना गरिदिएको छ । जी–२० जस्तो महत्वपूर्ण शिखर सम्मेलन सकिएलगत्तै क्वाड्रिल्याटरल सेक्युरिटी डाइलग (क्वाड)को अर्को महत्वपूर्ण सम्मेलनको तयारीमा छिमेकी देश भारत जुटिसकेको छ । क्वाडमार्फत् भारत, जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका जस्ता चार शक्तिशाली राष्ट्रहरूले सुरक्षासम्बन्धी सञ्जाल निर्माण गर्नुका साथै सुरक्षा सूचना एकअर्कामा आदानप्रदान गर्ने गर्दै आएका छन् । क्वाड आफंैमा रणनीतिक सैन्य सम्बन्धको अभिव्यक्ति हो । विश्वका अतिमहाशक्ति अमेरिकाले ‘इन्डो–प्यासिफिक क्षेत्रमा चीनको आधिपत्य तोड्न’ यो गठबन्धन निर्माण गरेको हो । यो गठबन्धनको केन्द्र नयाँदिल्ली, जो दक्षिण एसियाको केन्द्र हो र बन्दै पनि गइरहेको छ । यसको प्रत्यक्ष असर नेपाललगायतका छिमेकी देशमा पनि परिहेको छ । दक्षिण एसिया यो वैश्विक अन्तरविरोधले सिर्जना गर्ने तनाव र त्यसको व्यवस्थापन गर्ने हैसियत कायम गर्न सक्षम होला वा होओइन आगामी दिनले देखाउने छन् ।

दक्षिण एसियाली राष्ट्रका आआफ्नै अन्तरविरोध पनि छन् । र, ती अन्तरविरोधमा विश्वका महाशक्तिहरू पनि खेलिरहेका छन् । विश्वमा सिर्जित महाशक्तिबिचको तनाव विश्व युद्धमार्फत् हल गरिने अवस्था तत्कालका लागि सम्भव छैन । त्यसैले शक्ति राष्ट्रहरू यो तनावको दीर्घकालीन व्यवस्थापनमा लागेका छन् । यो भनेको उनीहरूका लागि शक्ति सञ्चयको अवधि पनि हो । त्यसैले विश्वमा अहिले अघोषित शीतयुद्ध चलिरहेको छ । विश्व कित्ताबन्दीको बाटोमा अग्रसर हुँदै गएको छ । पछिल्लो समयमा दक्षिण एसियामा सीमा विवाद निम्तने गरी सिर्जना गरिएको नक्सा प्रकरणले दक्षिण एसियाको आन्तरिक अन्तरविरोधलाई दीर्घकालीन र स्थायी बनाउन बल दिइरहेको छ । यसले विश्वशक्ति राष्ट्रलाई खेल्ने मैदान फाकिलो बनाउँदै लगिरहेको छ । पहिलो र दोस्रो विश्व युद्ध प्रायः युरोपमा लडिएको हुनाले त्यसको परिणाम के हुन्छ भन्ने कुरा युरोप–अमेरिकालाई बढी थाहा छ । त्यसैले तेस्रो विश्व युद्ध एसियातिर सोझ्याउने दाउँ शक्ति राष्ट्रहरूको रहेको पनि स्पष्ट देखिन्छ । यो कुरा एसियाली र विशेषतः दक्षिण एसियाली राष्ट्रले कसरी बुझ्छन्, हेर्न बाँकी छ ।

आन्तरिक अन्तरविरोधको सही पहिचान र त्यसको व्यवस्थापन गर्न नजान्ने र कथंकदाचित भूल मात्र पनि गर्ने हो भने दक्षिण एसिया विश्वशक्ति राष्ट्रहरूको आणविक अस्त्र परीक्षण गर्ने खेलमैदान बन्न बेर पनि छैन । यो परिस्थिति निम्तन नदिन नेपालका छिमेकी राष्ट्र तथा विश्वका उदीयमान शक्ति भारत र चीन बेलैमा सतर्क रहनुपर्छ । दक्षिण एसियालाई कस्तो बनाउने भन्ने हैसियत यी राष्ट्रहरूको छ । साथै, सिंगो एसिया र दक्षिण एसियाको भाग्य र भविष्य निर्माण गर्ने प्रमुख दायित्व पनि यिनैको छ । जहिले पनि आन्तरिक अन्तरविरोध प्रधान रहन्छ । बाह्य अन्तरविरोध गौण नै हुन्छ । दक्षिण एसियाको मामलामा प्रभुत्व कायम गरेका यी शक्ति राष्ट्रहरूले समय छँदै विचार गरून् । राष्ट्रवादी चिन्तन र भावनाको दुरुपयोग नहोस् । दक्षिण एसियालाई अन्तर्राष्ट्रिय अन्तरविरोधको भुमरीमा नपार !

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर टिकट नपाएपछि समाजवादी जिल्ला अध्यक्षद्धारा पार्टी छाडेको घोषणा