काठमाडौं । नेपालको लोकप्रिय लोकपप ब्यान्ड ‘नेपथ्य’ले पहिलोपटक क्यानडामा कन्सर्ट गर्ने भएको छ । अमृतको भनाइमा क्यानाडा नेपथ्यको १७औं गन्तव्य राष्ट्र हुनेछ । सन् २००२ बाट नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कन्सर्ट गरिसकेको छ ।
आगामी १ अक्टोबरमा आफूहरूले क्यानेडाको क्यालगरी सहरस्थित ‘दि प्यालेस थिएटर’ कन्सर्ट गर्ने नेपाथ्यका भोकलिस्ट अमृत गुरुङले बताएका छन्,‘त्यसपछि हाम्रो कन्सर्ट अक्टोबर ४ मा भ्यानकुभर सहरको’ दि भोग थिएटर’मा र अन्तिम सो अक्टोबर ८ मा टोरन्टोस्थित ‘म्यासी हल’मा हुनेछ । राष्ट्रिय ऐतिहासिक स्मारकमा सूचीकृत नेसनल हिस्टोरिक साइटको म्यासी हलमा कन्सर्ट गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो,’ उनले भने ।
क्यानडामा नेपाली रोजगारीका लागि जानेक्रम बढ्दो भएसँगै त्यहाँका नेपाली संघसंस्थाले विभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्दै आएका छन् । यसै क्रममा यसपटक नेपथ्यले पनि क्यानडाको गन्तव्य रोजेको गुरुङले बताएका छन् । उनका अनुसार सन् २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिलाई ‘मानवताका लागि संगीत’को नारासहित मानवता प्रवद्र्धन अभियानको शृंखलाका रूपमा प्रस्तुत गरिरहेको छ । नेपथ्य क्यानाडा शृंखला पनि सोही नाराअन्तर्गत रहेको छ ।
‘हाम्रा लागि क्यानाडा नयाँ गन्तव्य भएतापनि त्यहाँ बसोबास गर्ने नेपालीले देखाउनुभएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ,’ गायक अमृत गुरुङले भने, ‘दसैंको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौं ।’
क्यानाडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गीतारमा सुबिन शाक्य, गीतारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिने पनि गुरुङले बताएका छन् ।