काठमाडौं । बबरमहलस्थित नेपाल कला परिषद् सभाकक्षमा ‘पाँचौं ग्लोबल फ्रेन्डसिप आर्ट फेस्टिभल नेपाल २०२३’ सुरु भएको छ । प्रदर्शनी ७ असोजसम्म जारी रहनेछ ।
बंगलादेशको कलाकार समूहद्वारा आयोजित अन्तर्राष्ट्रिय कला महोत्सव नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दीन नोमान चौधरीले उद्घाटन गरेका हुन् ।
बंगलादेश, नेपाल, भारत, थाइल्यान्ड, चीन, अमेरिका, फ्रान्स, ग्रिस, लाटिभियालगायत नौ देशका ८६ कलाकारका १ सय ६२ कलाकृति प्रदर्शनमा छन् ।
नेपालबाट कलाकार शर्मिली सरकार, नेपालका अग्रज कलाकार हरिप्रसाद शर्मा, किरण मनन्धर, जीवन राजोपाध्याय, नरेश सैंजु, राधेश्याम मुल्मी, लोक चित्रकार, गोपालकला प्रेमी, प्राज्ञ सञ्जय बान्तवा, मूर्तिकार चा“दनी बज्राचार्य, रोशन प्रधान, नगेन सिंह, रिता मान्नधर, सुष्मा श्रेष्ठ, श्रेया श्रेष्ठ, सम्झना राजभण्डारी, रेनुका महर्जन, सुरेम देशार, मूर्तिकार राजेन्द्र देशारलगायतका कला प्रदर्शनीमा छन् ।
त्यस्तै, बंगलादेशका कलाकार केएमए कयुम, सुफिया बेगम, मोहम्मद रफिक, शर्मिली सरकार, अनिक बरुआ, भारतीय कलाकार सन्दीप भट्टाचार्य, दीपिका साह, अर्पिता कार, तन्द्र भद्रालगायत विभिन्न देशका ६४ कलाकार सहभागी छन् ।
समारोहमा नेपालका लागि बंगलादेशका राजदूत चौधरीले कलाकारलाई कुनै पनि हालतमा सीमाले बाँध्न नहुनेमा जोड दिए । ‘स्वतन्त्र रूपमा एकबाट अर्को देशमा निर्वाध रूपमा जानआउन पाउने र आफ्नो संस्कृति र परम्परा अक्षुण्ण राख्न ठुलो भूमिका कलाकार रहन्छ,’ उनले भने ।
नेपालका अग्रज कलाकार किरण मानन्धरले दुई देशबिचको सम्बन्धले कलासँगसँगै भावनासमेत आपसमा साटिनेमा दुई मत नरहेको बताए ।