पोखरा । फेवाताल किनार बसुन्धरा पार्कमा कुनै पनि बहानामा संरचना बनाउन नदिन सरोकारवालाले खबरदारी गरेका छन् । पोखरा महानगरले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई बसुन्धरा पार्कको १० रोपनी ग्रिन भेन्चर जोन स्थापनाका लागि दिएसँगै सरोकारवालाले खबरदारी गरेका हुन् ।
राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल र स्थानीयको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई यससम्बन्धमा सचेत गराउँदै ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा सार्वजनिक सम्पत्ति संरक्षणको दायित्व लिएकै सरकारी निकायबाट सिमसार क्षेत्रमा फेवातालको मापदण्डभित्रै संरचना बनाउन अनुमति दिइएकोमा विरोध जनाइएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘पोखरा महानगरपालिका र कोइकाबीच समझदारी हुनु र कुनै ठुलो योजना बन्नु खुसीको कुरा हो तर, योजना बन्ने नाममा सम्पदामाथिको अतिक्रमण र गैरकानुनी काम सह्य हुन सक्दैन ।’ राज्यले विशेष प्रयोजनका लागि अधिग्रहण गरेको जग्गा अर्कै प्रयोजनमा नगरवासीको चाहना र कानुनविपरीत लगाउन नहुने सम्पदाका अध्यक्ष सुनिल पाण्डे बताउँछन् ।
उनका अनुसार यो जग्गा पोखरा टाउन प्लान २०३१ ले तालको संरक्षित क्षेत्रभित्र राखेको जग्गा हो । २०३८ सालमा फेवाताल संरक्षण र पर्यटन प्रवद्र्धनका लागि ग्रिन बेल्ट पार्क बनाउन व्यक्तिहरूको जग्गा अधिग्रहण गरिएको थियो ।