१९औं संस्करणको एसियाली खेलकुद प्रतियोगिता चीनको हाङझाउमा आज (शनिबार) औपचारिक रूपमा एक भव्य समारोहबिच सुरु हुँदै छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाङझाउमा हुने एसियाडको उद्घाटन समारोहमा भाग लिने तयारी छ ।
पदकभन्दा सहभागिता महत्वपूर्ण
एसियाली खेलकुदको महाकुम्भ एसियाडमा नेपालले अहिलेसम्मकै ठुलो टोली चीन पठाएको छ । नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडीले सहभागिता जनाउँदै छन् ।
यसअघि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाडमा नेपालबाट २५ खेलमा सबैभन्दा धेरै २ सय ३ खेलाडी सहभागी थिए ।
इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालबाट २९ खेलमा १ सय ८५ खेलाडीले सहभागिता जनाएका थिए ।
असोज २१ गतेसम्म चल्ने प्रतियोगितामा एसियाका ४५ देशका १२ हजार ५ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । विभिन्न ४० खेलका ४ सय ८२ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । २०२२ मै हुने भनिए पनि कोभिड–१९ का कारण एक वर्षपछि १९औं एसियाड चीनमा हुन लागेको हो ।
पछिल्ला ३ संस्करणमा एक–एक पदकमा मात्र खुम्चिएको नेपालका लागि यो संस्करण पनि पदकका लागि त्यत्ति फलदायी नहुने पक्कापक्की छ । यो संस्करण पदकभन्दा बढी अन्तर्राष्ट्रिय जगतमा देखाउने सहभागिताका लागि मात्र हुने देखिएको छ ।
१९औं संस्करणको एसियाली खेलकुदमा नेपालले २९ वटा खेलमा सहभागिता जनाउँदै छ । प्रायः हरेकजसो खेलका च्याम्पियन खेलाडी रहेको एसियामा नेपालका लागि पदक ल्याउनु पहिलेभन्दा निकै कठिन देखिएको छ । सहभागी भएका अधिकांश खेलमा नेपालले पदकभन्दा पनि आफ्नो प्रदर्शन सुधार्ने उद्देश्य लिएको छ ।
यसपालि पनि तेक्वान्दो, कराँते र बक्सिङबाट मात्र पदकको आशा गरिएको छ । तर, अन्य देश पनि यी खेलमा अब्बल बन्दै जाँदा पदकको सम्भावना कठिन देखिएको छ ।
नेपालले पहिलोपटक सहभागी हुन लागेको डान्सिङ स्र्पोट्स र ई–स्र्पोट्सबाट पनि पदकको आशा राखेको छ । यो खेल अरूका लागि पनि नौलो रहेको छ । यो एसियाडमा नेपालबाट २ सय ५३ जना खेलाडीले सहभागीता जनाउँदै छन् । विभिन्न ४० खेलका ४ सय ८३ इभेन्ट्समा प्रतिस्पर्धा हुँदा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दै छ ।
सहभागी हुने खेल
नेपालले तेक्वान्दो, कराते, बक्सिङ, साइक्लिङ, फुटबल, एथलेटिक्स, पौडी, गल्फ, जुडो, ट्रायथलन, उसु, कुस्ती, आर्चरी, बास्केटबल (थ्री अन थ्री), भारोत्तोलन, ब्याडमिन्टन, फेन्सिङ, कबड्डी, टेबलटेनिस, भलिबल, ह्यान्डबल, क्रिकेट, सुटिङ, रग्बी, स्क्वास, टेनिस, इ–स्र्पोट्स, डान्स स्र्पोट्स र क्यानोइङमा गरी २९ खेलमा सहभागिता जनाउँदै छ ।
पदक भन्दा एक्सपोजर महत्वपूर्ण
एसियाडमा नेपालले सकेसम्म धेरै खेल र खेलाडी सहभागी गराउँदै आएको छ । यसपटक अघिल्ला संरक्षणभन्दा बढी खेल र खेलाडीको सहभागीता हुनेछ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्र्तराष्ट्रिय एक्सपोजरका लागि एसियाडमा नेपालको सहभागिता बढाइएको बताए । केही दिनअघि नेपाल खेलकुद पत्रकार मञ्चको कार्यक्रममा उनले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा खेल्ने अवसर नपाएकाले यो एसियाडले त्यसलाई पूर्ति गर्ने बताए । पदकको आशा धेरै नगरौं, खेलाडीका लागि अन्तर्राष्ट्रिय एक्सपोजर हो, उनले भने, ‘यसले भविष्यमा हुने अन्य खेलमा राम्रो प्रभाव पर्छ ।
एसियाडको समूहगत खेलमा नेपालले कम्तीमा केही खेल जित्ने, व्यक्तिगत स्पर्धामा नयाँ व्यक्तिगत तथा राष्ट्रिय कीर्तिमान सुधार गर्र्ने लक्ष्य खेलाडीले लिएका छन् ।
एसियाडमा खेलको अनुभवले दक्षिण एसियाली खेलकुदमा राम्रो गर्ने अवसर मिल्छ । ओलम्पिकमा जस्तो एसियाड खेल्न कुनै छनोट चरण पार गर्नुपर्दैन । आफ्नो तयारी र बजेटअनुसार जति खेलाडी पनि सहभागी गराउन पाइन्छ ।
त्यसैले पनि नेपालले सकेसम्म धेरै खेलाडीलाई अवसर दिने नीतिअनुसार खेलाडी सहभागी गराउने गरेको छ ।
झन्डै सहभागी आधा जति खेलाडी टिम खेलकै
नेपालले टिम खेलकुदमा मात्र १ सय ५ जना खेलाडीलाई सहभागी गराउँदै छ । नेपालले पुरुष क्रिकेट, पुरुष भलिबलसहित महिलाका भलिबल, फुटबल, कबड्डी, ह्यान्डबलमा भाग लिएको छ । यसैगरी, पुरुष रग्बीमा नेपालले पहिलोपटक सहभागिता जनाउँदै छ । यस्तै, डान्स स्पोर्ट्समा पनि नेपाली खेलाडीले पहिलोपटक सहभागिता जनाउँदै छ ।
भलिबलको पुरुष र महिलामा २४ जना खेलाडी छन् भने ई–स्पोर्ट्सका पाँच इभेन्टमा नेपालका २३ खेलाडी भाग लिएका छन् ।
पहिलोपटक एसियाली खेलकुदमा महिला फुटबल टोली समावेश भएको छ । जसमा २२ खेलाडी छन् । यस्तै, पुरुष रग्बीमा १२ जना खेलाडी, महिला ह्यान्डबलमा १६, पुरुष क्रिकेटमा १५, महिला कबड्डीमा १२ जना खेलाडी सहभागी छन् ।
यसबाहेक नेपालबाट बक्सिङमा १३, उसु र तेक्वान्दोमा ११–११ जना खेलाडी, एथलेटिक्स, ब्याडमिन्टन, जुडो र करातेमा ८–८ जना खेलाडी सहभागी छन् ।
फेन्सिङ, गल्फ, स्क्वास, टेबल टेनिस र टेनिसमा क्रमश ६–६ जना खेलाडीले भाग लिँदै छन् ।
यस्तै, सुटिङमा २, पौडीमा ४, भारोत्तोलनमा ५ , आर्चरीमा ४, बास्केटबलमा ४, ब्रेकिनमा १, क्यानोईमा १, साइक्लिङमा २, ट्रायथलनमा ४ र कुस्तीमा ४ खेलाडीको सहभागिता रहनेछ ।
एसियाका सबैजसो राष्ट्र सहभागी
छिमेकी राष्ट्र भारतबाट बिजारोपण भएको एसियाली खेलकुद प्रतियोगिताको इतिहास ७२ वर्ष पुरानो भइसक्यो । सुरुवाती समयमा केही सीमित देशले मात्र भाग लिने एसियाड अहिले विस्तार भएर एसियाका सबैजसो राष्ट्र यो महाकुम्भमा होमिने गरेका छन् ।
हाङझाउ एसियाडसँगै चीनले तेस्रोपटक एसियाली खेलकुद आयोजनाको बागडोर सम्हाल्दै छ । यसअघि सन् १९९० मा चीनको बेइजिङ र सन् २०१० मा चीनको ग्वान्झाओमा एसियाड सम्पन्न भइसकेको छ ।
सबैभन्दा धेरैपटक थाइल्यान्डको बैंककमा एसियाली खेलकुद आयोजना भएको छ । त्यहाँ चारपटक प्रतियोगिता सम्पन्न भइसकेको छ । चीनसरह दक्षिण कोरियाले पनि तीनपटक एसियाली खेलकुद आयोजना गरेको छ ।
७२ वर्ष लामो एसियाली खेलकुदको इतिहासमा दुई देश चीन र जापानले धेरैपदक जितेका छन् । सुरुका ८ संस्करणमा जापानले सबैभन्दा बढी स्वर्णपदक जितेको छ भने त्यसपछिका नवौं एसियाडदेखि १८औं एसियाडसम्म चीनकै दबदबा कायमै छ ।
१ देखि १८औं एसियाड्मा चीनले अहिलेसम्म १ हजार ४ सय ७३ स्वर्ण, ९ सय ९४ रजत र ७ सय २० कांस्यसहित ३ हजार १ सय ८७ पदक जितेको छ । यस्तै, जापानले १ हजार ३२ स्वर्ण, १ हजार ३७ रजत र ९ सय ८५ कांस्यसहित ३ हजार ५५ पदक जितेको छ ।
त्यसपछि तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ७ सय ४५ स्वर्ण, ६ सय ६३ रजत र ८ सय २७ कांस्यसहित २ हजार २ सय ३५ पदक जितेको छ । त्यसपछि धेरै पदक जित्नेमा इरान १ सय ७९ स्वर्ण, भारत र काजकस्तानले समान १ सय ५५ स्वर्ण जित्दा, थाइल्यान्डले १ सय ३२ स्वर्ण, उत्तर कोरियाले १ सय १० स्वर्णपदक जितेको छ । यसैगरी, चाइनिज ताइपेईले ९९ स्वर्णपदक आफ्नो नाममा लेखाउँदा इन्डोनेसियाले ९१ स्वर्णपदक जितेको छ । सागमा प्रतिस्पर्धा गर्ने राष्ट्र पाकिस्तानले अहिलेसम्म ४४ स्वर्णपदक जित्दा श्रीलंकाले ११ स्वर्ण जितेको छ । बंगलादेशले समेत १ स्वर्ण जितिसक्दा अफगानिस्तान ४ रजतभन्दा माथि जान सकेको छैन ।
अहिलेसम्म ल्याएका पदक
नेपालले अहिलेसम्म ७२ वर्षे एसियाली खेलकुदको इतिहासमा २ रजत र २२ कांस्य पदकसहित कुल २४ पदक जितेको छ । सन् १९८६ मा दक्षिण कोरियाको सियोलमा सम्पन्न १०औं एसियाडबाट पदक जित्न थालेको नेपालले त्यसपछि भएका सबै एसियाडमा पदकविमुख हुनुपरेको छैन । १६औं एसियाडदेखि १८औं एसियाडसम्म नेपालले लगातार एक–एकवटा पदक मात्र जितेको छ । इन्डोनेसियामा चार वर्षअघि भएको एसियाडमा एउटा रजतपदक जितेको थियो । नेपालले अहिलेसम्म बक्सिङ, तेक्वान्दो, कराँते र पाराग्लाइडिङ गरी जम्मा चारवटा खेलबाट मात्र पदक ल्याएको छ । सबैभन्दा धेरै तेक्वान्दोबाट १ रजत र १३ कांस्य जितेको नेपालले पाराग्लाइडिङमा १ रजत पदक जित्दा बक्सिङबाट मात्रै सातवटा कांस्यपदक प्राप्त गरेको छ । थप २ कांस्यपदक कराँते खेलबाट नेपालले ल्याएको छ ।
दक्षिण कोरियाको सियोलमा सन् १९८६ मा सम्पन्न १०औं एसियाड नेपालका लागि निकै उपलब्धिमूलक रह्यो । एसियाली खेलकुदको सुरुदेखि नै भाग लिएको नेपालका लागि पदकको स्वाद चाख्न सियोल एसियाड नै कुर्नुप¥यो । २७ देश सहभागी यो एसियाडमा नेपालका तर्फबाट १ सय ५ जना खेलाडी सहभागी थिए । २५ खेलको २ सय ९६ इभेन्ट्सबाट नेपालले आठवटा कांस्यपदक जित्न सफल भयो । नेपालले बक्सिङ र तेक्वान्दोबाट समान ४–४ कांस्यपदक जितेको हो ।
सन् १९९० मा चीनको बेइजिङ को ११औं एसियाडमा नेपालले एउटा मात्र कांस्य जित्यो । बक्सिङ खेलाडी चित्रबहादुर गुरुङले वेल्टरवेट ६७ केजी तौल समूहमा पदक जितेका हुन् ।
सन् १९९४ को १२औं एसियाली खेलकुद जापानको हिरोसिमामा आयोजना भयो । यो एसियाडमा नेपालले तेक्वान्दो र करातेमा गरी एक-एक कांस्यपदक गरी जम्मा दुईवटा कांस्यपदक जित्यो ।
सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको १३औं एसियाली खेलकुद प्रतियोगिता नेपाली खेलकुद इतिहासकै सबैभन्दा उपलब्धिमूलक एसियाड हो । कांस्यपदक कुर्न ३५ वर्ष लागेको नेपालका लागि रजतपदक भेट्टाउन ४७ वर्ष प्रतीक्षा गर्नुप¥यो । एसियाडकै इतिहासमा सबैभन्दा धेरैपटक बैंककमा एसियाड चलिरहँदा नेपालका लागि यो सम्झनलायक रह्यो । नेपालले बैंककमा १ रजत र ३ कांस्यपदक जित्दा पदक जित्ने ३३ राष्ट्रको भिडमा नेपाल २७औं स्थानमा रह्यो । ४१ देश सहभागी एसियाडमा नेपालले तेक्वान्दोमा १ रजत र २ कांस्य तथा करातेमा १ कांस्यपदक जितेको हो । तेक्वान्दोको महिलातर्फ फेदरवेट ५५ केजी तौल समूहमुनि सविता राजभण्डारीले कीर्तिमानी रजतपदक जितेकी थिइन् । स्वर्णको भिडन्तमा उनी चाइनिज ताइपेईकी खेलाडीसँग हारेकी थिइन् ।
सन् २००२ मा दक्षिण कोरियाको बुसानमा सम्पन्न १४औं एसियाड र सन् २००६ को कतारको दोहामा सम्पन्न १५औं एसियाडमा नेपालले समान ३–३ कांस्यपदक जितेको छ ।
सन् २०१० मा चीनको ग्वान्जाओमा सम्पन्न १६औं एसियाली खेलकुद प्रतियोगितामा बक्सिङबाट नेपालले एउटा कांस्यपदक जित्यो । बक्सिङ खेलाडी दीपक मर्हजनले लाइट हेभिवेट ८१ केजी तौल समूहमा कांस्यपदक जितेका हुन् ।
सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाली खेलकुदमा नेपालले एक मात्र कांस्यपदक जित्यो । नेपालका लागि करातेले एक कांस्य दिलाएको हो । कराते खेलाडी विमला तामाङले कातातर्फ कांस्यपदक जितेकी हुन्
चार वर्षपछि सन् २०१८ मा इन्डोनेसियाको जार्कता र पालेम्वाङमा भएको १८ संस्करणमा आएर फेरि नेपालले रजतपदक जित्न सफल भयो । सन् १९९८ को बैंकक एसियाडपछि नेपालले दोस्रोपटक रजतपदक जितेको हो । नेपालले प्याराग्लाइडिङको टिम क्रस क्रन्टीतर्फ रजतपदक जितेको हो । विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापाको टोलीले पाराग्लाइडिङको टिम क्रसकन्ट्रीमा नेपाललाई रजत दिलायो ।
कुन खेलले कुन एसियाडमा पदक
तेक्वान्दोले १०औं एसियाडमा ४ कांस्य, १२औं एसियाडमा १ कांस्य, १३औं एसियाडमा १ रजत र २ कांस्य, १४औं र १५औं एसियाडमा ३–३ कांस्यपदक प्राप्त गरेको छ । यसैगरी, पाराग्लाइडिङले १८औं एसियाडमा रजतपदक जित्दा बक्सिङले १०औं एसियाडमा ४ कांस्य, ११औं एसियाडमा १ कांस्य, १२औं एसियाडमा १ कांस्य र १६औं एसियाडमा १ कांस्य जितेको छ । करातेबाट १३औं एसियाड र १७औं एसियाडमा १–१ गरी २ कांस्यपदक जितेको थियो ।