स्मरण शक्ति मस्तिष्कको सबैभन्दा महत्वपूर्ण कार्य हो । मानिसको सम्पूर्ण ज्ञान तथा सीप मात्र होइन कि हरेक विचार, हरेक कार्य, व्यक्तिगत पहिचान तथा व्यक्तित्व आदि सबै स्मरण शक्तिमा निर्भर रहन्छ । स्मरण शक्तिबिना मानिसको सम्पूर्ण ज्ञान तथा अनुभव निरर्थक हुन्छ, जीवन शून्य हुुन्छ । स्मरण शक्ति छैन त जीवनमा केही पनि छैन । वास्तवमा हामी भनेको नै हाम्रो स्मरण शक्ति हो ।
बिहान उठेर दिसापिसाब गर्न, थालमा पस्केको भात खान, घरबाट निस्किएको मानिस पुनः घर फर्किनदेखि लिएर रकेट बनाउन र बनाएको रकेट उडाउनसमेत स्मरण शक्तिको आवश्यकता हुन्छ । त्यसै भएर त एलेक्जेन्डर स्मिथले भनेका नै छन्, ‘मानिसको वास्तविक सम्पत्ति नै स्मरण शक्ति हो । अन्य कुनै कुराहरूले मानिसलाई धनी वा गरिब बनाउन सक्दैन ।’
हुन पनि हो, तपाईं आफैं एकक्षण सोच्नुहोस् त, स्मरण शक्ति नभए के हुन्छ ? र, स्मरण शक्ति तेज भए के हुन्छ ? त्यसैले पनि मानिस आफ्नो स्मरण शक्ति तेज होस् भन्ने चाहन्छन् । यदि, स्मरण शक्तिको प्रकृति, प्रक्रिया तथा सिद्धान्तहरू बुझेर व्यवहारमा उतार्ने हो भने बालबालिका तथा युवाको मात्र होइन वृद्धवृद्धाको समेत स्मरण शक्ति बढ्नसक्छ ।
स्मरण शक्ति बढाउने ७ सिद्धान्तको चर्चा गर्नुपहिला स्मरण शक्तिले कसरी कार्य गर्छ भन्ने बुझौं । कुनै पनि सूचना तथा अनुभवहरू (डेटा) पञ्च ज्ञानेन्द्रीय अर्थात् आँखा, नाक, कान, जिब्रो तथा त्वचामार्फत् अवचेतन मन अर्थात् मेमोरी बैंकमा संग्रह हुने गर्छन् । यसरी मेमोरी बैंकमा संग्रह भएका कुरालाई चेतन मनले स्मृतिमा ल्याउने कार्य गर्छ, जसलाई स्मरण शक्ति भन्ने गरिन्छ । स्मरण ती कुराको हुन्छ, जुन कुरा पञ्च ज्ञानेन्द्रीयमार्फत् मेमोरी बैंकमा संग्रह भएका हुन्छन् ।
मेमोरी बैंक भन्नाले मस्तिष्कको कुनै एक निश्चित ठाउँ होइन, डेटा संकलित हुने मस्तिष्कको समष्टिगत भाग हो । यहाँ बुझ्नुपर्ने कुरा के छ भने मानिसको स्मरण शक्ति सञ्चालन तथा नियमनका लागि मस्तिष्कका विभिन्न प्रणाली तथा भागको सक्रिय सहभागिता रहन्छ । डेटाहरू मस्तिष्कको कुनै एक भागमा संग्रह नभएर मस्तिष्कको चारैतर्फ छरिएर रहेका हुन्छन् । जस्तो कि प्रायः मोटर मेमोरी मोटर प्रोसेसिङ भागमा, श्रव्य मेमोरी बायाँ मस्तिष्कको नियोकोर्टेक्समा, दृश्य मेमोरी दायाँ नियोकोर्टेक्समा तथा काइनेस्थेटिक मेमोरी कोर्टेक्सको बाहिर सेरेबेलममा भण्डारण हुन्छ ।
मस्तिष्कमा डेटा संग्रह गर्नका लागि मस्तिष्कका विभिन्न भागको सक्रिय सहभागिता हुुने भए तापनि लिम्बिक प्रणाली तथा नियोकोर्टेक्सको केन्द्रीय भूमिका रहन्छ । त्यो ’cause लिम्बिक प्रणालीले डेटालाई दीर्घकालीन मेमोरीमा भण्डार गर्न पठाउने कार्य गर्छ । लिम्बिक प्रणाली, जसलाई भावनात्मक मस्तिष्क पनि भनिन्छ, यसको प्रमुख कार्य भनेको डेटाहरू मूल्यवान् छन् कि छैनन् भन्ने निर्णय गर्ने पनि हो । त्यसैले, लिम्बिक प्रणालीको सम्पर्कमा आएका डेटालाई नियोकोर्टेक्समा भण्डारण गर्न उपयुक्त छ कि छैन भन्ने कुरा निर्धारण गर्न लिम्बिक प्रणालीले नियोकोर्टेक्ससँग निरन्तर संवाद स्थापित गर्छ ।
यस कार्यमा हिप्पोक्याम्पस तथा एमिग्डेलाको महत्वपूर्ण भूमिका रहन्छ । हिप्पोक्याम्पसले अभावनात्मक सूचनाहरू तथा एमिग्डेलाले भावनात्मक सूचनाहरूका ’boutमा निर्णय गर्छन् । त्यसैले, लिम्बिक प्रणालीका यी दुई भाग (हिप्पोक्याम्पस र एमिग्डेला)सँग सूचनाहरू काटछाँट र पे्रषित गर्ने योग्यता भएन भने नयाँ सूचनाहरू दीर्घकालीन भण्डारणमा पुग्न सक्दैनन् । ठीक यही कुुरा अल्जाइमरका रोगी तथा पाको उमेरका कारण हुने स्मरणशक्तिको कमीमा लागू हुन्छ । त्यो ’cause यस्ता मानिसको हिप्पोक्याम्पीले डेटाहरूलाई मेमोरी बैंकमा पठाउने आफ्नो जैविक क्षमता घुमाउँदै गएको हुन्छ ।
मेमोरी बैंकमा स्टोर भएको डेटा बिर्सने रोग वा अन्य रोगका कारणले बाहेक बिर्सिंदैन
औसत रूपमा मानिसको मस्तिष्क शक्ति तथा डेटा स्टोर गर्ने क्षमता उस्तैउस्तै हुन्छ । यदि, कुनै डेटा मानिसको मेमारी बैंकमा स्टोर हुन्छ भने बिर्सने रोग वा अन्य रोगका कारणले बाहेक, त्यो डेटा बिर्सिंदैन । मेमोरी बैंकमा स्टोर भएका डेटाहरूलाई तपाईं बिर्सन चाहेर पनि बिर्सन सक्नुहँुदैन । के तपाईंले आफ्नो नाम बिर्सन सक्नुहुन्छ ? कदापि सक्नुहुँदैन । किनकि, सानैदेखि नै तपाईंको नाम मेमोरी बैंकमा छ र बारम्बार प्रयोगमा आइरहेको छ । तर, मेमोरी बैंकमा संग्रह भएका यस्ता सबै कुरा चाहेका बेला तुरुन्त स्मृतिमा आउँछन् भन्ने छैन । आउन पनि सक्छन् र नआउन पनि सक्छन् । चाहेका बेलामा याद नआएर पछि याद आउन पनि सक्छन् ।
जस्तो कि दुई–चार दिनयता तपाईं स्कुल, कलेज वा अफिस जाँदा वा घर फर्किंदा बाटोमा अनेक घर, पसल, होर्डिङ बोर्डहरू देख्नुभयो, मानिसहरू आवतजावत गरेको, कार, बस, ट्रक, साइकल, मोटरसाइकल, अटोरिक्सा, रिक्सा आदि गुडेको देख्नुभयो, मानिस बोलेको, हाँसेको, गाडी कराएको, कुकुर भुकेको अनेक आवाजहरू सुन्नुभयो । तपाईंलाई यस्ता कुनकुन कुरा याद छ ? लगभग कुनै कुरा पनि याद छैन । मस्तिष्कमा जोड लगाएर याद गर्न खोज्नुभयो भने मुस्किलले मुठीभरका कुरा याद हुनेछन् । कतिपय कुरा यादै नहुन पनि सक्छन् । त्यो ’cause तपाईंको चेतन मनलाई बाटोमा देखिएका यस्ता कमन कुराप्रति कुनै चासो थिएन । र, जति पनि बाटोमा देखेका तथा सुनेका कुरा थिए, ती चेतन रूपमा अवचेतनमा प्रवेश भएका थिएनन् । तर, तपाईंले बाटोमा ट्राफिक जाम गर्नेगरी बसको एक बढेमानको साँढे देख्नुभएको थियो भने वा मानिसको भीडमा एकदम अग्लो र मोटो डरलाग्दो मानिस देख्नुभएको थियो भने पक्का पनि त्यो तपाईंलाई याद आउँछ । यदि, बाटोमा कुनै महिला जोडले रोइरहेकी थिइन् भने त्यो पनि तपाईंलाई पक्का याद आउँछ । यदि, तपाईं क्रिकेटको खेलाडी वा क्रिकेटप्रेमी हुनुहुन्छ भने बाटोमा क्रिकेटको ब्याट समाएर हिँडेको मानिसलाई याद आउनसक्छ । तर, तपाईंसँगै हिँडेको तपाईंको साथीलाई त्यो याद नआउनसक्छ । यहाँ उल्लेखनीय कुरा के हो भने यसरी यस्ता कुरा याद आउनुको कारण हो, विषयले ध्यान खिच्नु र चेतन रूपमा त्यो विषय मेमोरी बैंकमा संग्रह हुनु । यस तथ्यबाट के प्रस्ट हुन्छ भने यदि कुनै पनि कुरा चेतन रूपमा मेमोरी बैंकमा संग्रह हुन्छन् भने ती कुरा सजिलै स्मरणमा आउँछन् । यो नै स्मरण शक्ति शक्तिशाली बनाउने वैज्ञानिक आधार हो । त्यसैले, निम्न ६ सिद्धान्तलाई व्यवहारमा ल्याउने हो भने जोसुकैले पनि आफ्नो स्मरण शक्तिलाई शक्तिशाली बनाउन सक्छन् ।
सिद्धान्त नं. १
मानिसको मनमस्तिष्कमा स्मरण शक्तिको संरचना यसरी हुन्छ कि असामान्य, अद्भूत, अनुपातहीनता, धेरै ठूलो तथा धेरै सानो कुराप्रति मानिसको ध्यान केन्द्रित हुन्छ र चेतन मनले यस्ता कुरालाई मेमोरी बैंकमा देखिनेगरी राख्छ । यसरी राखिएका कुराहरू चेतन मनले चाहिएको बेलामा सजिलै बाहिर निकाल्न सक्छ । स्कुल, कलेज वा अफिस जाँदा वा घर फर्किंदा देखिएका अनगिन्ती कुरामध्ये बढेमानको साँढे वा निकै अग्लो र मोटो डरलाग्दो मानिस याद आउनुको कारण पनि यही हो ।
स्मरण शक्तिको प्रकृति, प्रक्रिया तथा सिद्धान्त बुझेर व्यवहारमा उतार्ने हो भने बालबालिका र युवाजस्तै वृद्धवृद्धाको पनि स्मरण शक्ति बढ्छ
अतः असामान्य, अद्भुत, अनुपातहीनता, धेरै ठूलो तथा धेरै सानो कुरा याद गर्न सजिलो हुने हँुदा कुनै पनि याद गर्नुपर्ने कुराको आकार, प्रकार तथा रूप रङलाई धेरै ठूलो तथा धेरै सानो, असामान्य र अद्भुत बनाएर तथा एक अर्कोलाई अचम्मसँग जोडेर सजिलै याद राख्न सकिन्छ । उदाहरणका लागि बाघ र टोपी शब्द याद राख्नु छ भने बाघले बढेमानको टोपी लगाएको कल्पना गर्ने हो भने यो कुरा सधैं याद रहिरहन्छ ।
सिद्धान्त नं. २
मानिसको स्मरण शक्ति भावनाबाट प्रभावित हुन्छ । त्यसैले, मन छुने अति राम्रो भावना वा अति खराब भावना वा हृदयविदारक घटना मेमोरी बैंकमा राम्रोसँग स्टोर हुन्छ । त्यसैले, त मानिसलाई अति गर्मी वा अति सर्दी, अति मान वा अति अपमान, अति सुख वा अति दुःखसँग सम्बन्धित भावानात्मक कुराहरू सजिलै याद रहन्छ । स्कुलका अनगिन्ती दिनमा पुरस्कार पाएको दिन वा शिक्षकले गाली गरेको वा सजाय दिएको दिन कुनै विद्यार्थीले सायदै बिर्सिन्छन् । स्मरण शक्तिको यस विज्ञानलाई विज्ञापनले खुब उपयोग गरिरहेको छ ।
सिद्धान्त नं. ३
मानसिको मनमस्तिष्कमा सुनेको भन्दा देखेका कुराहरूको गहिरो प्रभाव पर्छ । मनोविज्ञानका अनुसार श्रव्यको तुलनामा दृश्यको प्रभाव ६० हजारगुणा बढी हुन्छ । र, ९० प्रतिशतभन्दा बढी सूचना मेमोरी बैंकमा इमेजका रूपमा संग्रह हुन्छन् । त्यसैले, याद गर्नुपर्ने कुराहरूलाई कल्पना चित्रमा उतारेर याद गर्ने हो भने ती कुरा सजिलै याद हुन्छन् र लामो समयसम्म मनमस्तिष्कमा रहिरहन्छन् । कल्पना शक्तिलाई कुनै पनि किताब पढ्दाखेरि पनि उपयोगमा ल्याउन सकिन्छ । यसरी किताब पढ्ने हो भने पढाइ निकै प्रभावकारी हुन्छ ।
सिद्धान्त नं. ४
मानिसको स्मरण शक्तिले साहचर्यबाट कार्य गर्छ । जस्तो कि राम र श्याम मिल्ने साथी हुन् । रामसँग भेट भयो भने श्याम पनि स्मृतिमा प्रकट हुनसक्छ † एकैछिन पानी शब्द सम्झिनुहोस् त । पानीसँगै नदी याद आउनसक्छ । अनि नदीका माछा याद आउनसक्छ । माछा खाएको याद आउनसक्छ । नदीनजिकैका रूख बिरूवाहरू याद आउनसक्छन् । रूखमा बसेको चरा याद आउनसक्छ । पानीसँगै समुद्र याद आउनसक्छ । पानीजहाज याद आउनसक्छ । र, कुनैबेला तपार्इंले पानीजहाजमा यात्रा गरेको याद हुनसक्छ । त्यसैगरी, पानीसँगै वर्षा याद आउनसक्छ । वर्षाले तपार्इंकी प्रेमिका वर्षाको याद दिलाउनसक्छ । वर्षाले बिजुली याद हुनसक्छ । बिजुलीसँगै घरको बल्ब याद आउनसक्छ । यसरी नै अनुभवहरू स्मृतिमा प्रकट हुने गर्छन् । त्यसैले त स्मरण शक्तिको यस सिद्धान्तअनुसार याद राख्नुपर्ने कुराहरूलाई सम्बद्ध (एसोसिएट) गर्ने हो भने स्मरण शक्ति शक्तिशाली हुन्छ ।
यस सिद्धान्तलाई प्राक्टिकली बुझ्न एउटा सानो प्रयोग गरी हेरौं । जस्तो कि दुईवटा वस्तु माछा र कुर्सी याद गर्नु छ । यसका लागि पहिला माछाको दृश्य सम्झनुहोस् । चाहे त्यो खोलाको माछा होस् वा बजारमा बिक्री गर्न राखेको माछा होस् वा तपार्इंंले कुनै बेला किनेर ल्याएको माछा होस्, जुन माछाको दृश्य तपाईंले राम्रोसँग सम्झन सक्नुहुन्छ, त्यही दृश्य सम्झनुहोस् । त्यसपछि तपार्इंंलाई याद गर्नुपर्ने अर्को आइटम कुर्सीसँग माछालाई सम्बद्ध गरिदिनुहोस् । जस्तो कि तपाईंंको घरको कुर्सीमा एउटा ठूलो माछा आरामसँग कुर्सी हल्लाउँदै बसेको छ । त्यो देखेर तपार्इं अचम्म पर्नुभएको छ । दुवै आँखा बन्द गर्नुहोस् । उपयुक्त दृश्य मनको पर्दामा हेर्नुहोस् । यति गर्नुभयो भने माछा र कुर्सी, यी दुई आइटम तपार्इंंलाई सधैं याद रहन सक्छ । यसरी याद गर्नुपर्ने विषय वा कुरालाई काल्पनिक दृश्यहरूमा सम्बद्ध गरेर याद गर्ने हो भने ती विषय वा कुरा दीर्घकालीन स्मरण शक्ति बन्न पुग्छन् । त्यसैले, मानिसले सितिमिति बिर्सिदैन ।
सिद्धान्त नं. ५
संज्ञानात्मक मनोविज्ञानका अनुसार अधिकांश डेटा २० देखि ३० सेकेन्डसम्म सर्ट टर्म मेमोरीमा रहन्छन् । यदि, सर्ट टर्म मेमोरीमा रहेका डेटालाई रिहर्सल नगर्ने हो भने याद रहँदैनन् । त्यसैले, सर्ट टर्म मेमोरी रहेका डेटालाई दीर्घकालीन मेमोरीमा स्टोर गर्न रिहर्सल आवश्यक छ । मानिसले आफ्नो नाम किन बिर्सिंदैन ? किनकि नाम बारम्बार रिहर्सल भइरहेको हुन्छ । असामान्य, अद्भुत, भयानक, डरलाग्दो, दुखत र पीडादायक घटनाहरू पनि स्वचालित रूपमा बारम्बार रिहर्सल भइरहेका हुनाले सितिमिति बिर्सिंदैन । त्यसैले, याद गर्नुपर्ने कुराहरूलाई रिहर्सल गरिराख्नुपर्छ ।
सिद्धान्त नं. ६
मानिसको मनमा असीमित शक्ति छ । यदि, मनको शक्तिलाई एक ठाउँमा एकत्रित गर्ने हो भने सूर्यको किरण एकत्रित गरेर आगो बालेझैं ऊर्जा पैदा गर्न सकिन्छ । त्यसैले, मनको शक्तिलाई एकत्रित गर्न जीवनको लक्ष्य बनाउनुपर्छ । यदि, जीवनको लक्ष्य बनाइ अर्जुनदृष्टि साँधेर अघि बढ्ने हो भने मानिसको मन लक्ष्यमा केन्द्रित हुन्छ, जसले मानिसलाई काम गर्ने असीमित ऊर्जा मात्र होइन, मानिसको स्मरण शक्ति पनि शक्तिशाली बनाउँछ । त्यो कसरी भने जब मानिसको चेतन मन लक्ष्यप्रति एकाग्र हुन्छ, तब चेतन मनले लक्ष्यसँग सम्बन्धित कुरालाई मात्र ग्रहण गरी मेमोरी बैंकमा पठाउँछ । तर, अन्य विषयलाई वास्तै गर्दैन । क्रिकेट खेलाडी वा क्रिकेटप्रेमीलाई क्रिकेटको ब्याट समाएर हिँडेको व्यक्ति याद आउनु र अन्य व्यक्तिलाई त्यो याद नआउनुको कारण पनि यही हो ।
अतः स्मरण शक्ति बढाउने यी ६ सिद्धान्तलाई बुझेर सिकेर आफ्नो आवश्यकतानुसार अलगअलग वा एक आपसमा मिलाएर व्यवहारमा ल्याउने हो भने निश्चित रूपमा मानिसको स्मरण शक्ति शक्तिशाली हुन्छ । शक्तिशाली स्मरण शक्तिले नै मानिसलाई सफल बनाउँछ ।