हाङझाउमा १९औं एसियाली खेलकुद सुरु

काठमाडौं । चीनको हाङझाउमा एसियाली खेलकुदको महाकुम्भ सुरु भएको छ । १९औं संस्करणको एसियाड भव्य समारोहबीच हाङझाउ ओलम्पिक स्र्पोट्स सेन्टर स्टेडियममा शनिबार साँझ चिनियाँ राष्ट्रपति सी चिनपिङले उद्घाटन गरेका छन् । उद्घाटनस्थल ‘बिग लोटस’का रूपमा चिनिन्छ ।

२०२२ मै हुने भनिए पनि कोभिड–१९ का कारण एक वर्षपछि सुरु १९औं एसियाडका लागि चीनको उत्तरी दक्षिणी सहर हाङझाउ दुलहीझैं सिंगारिएको छ । चीन भ्रमण क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाङझाउमा सम्पन्न एसियाड उद्घाटन समारोहमा भाग लिएका छन् । समारोहमा हुने मार्चपासमा महिलामा उसुकी निमा घर्तीमगर र पुरुषमा तेक्वान्दोका वीरबहादुर महराले नेपालको झन्डा बोकेका छन् ।

उनीहरू दक्षिण एसियाली स्वर्णधारी हुन् । दुई घण्टा चलेको समारोहमा ४५ देशका खेलाडी तथा पदाधिकारीले मार्चपास गरेका छन् । त्यसअघि सहभागी खेलाडी र जजको तर्फबाट एकएक जनाले शपथ लिएका थिए । एसियाली खेलकुदको टर्च बालेपछि अन्तिममा १९औं एसियाडको अफिसियल गीत ‘द लभ वि सेयर’ प्रस्तुति दिइएको थियो । योसँगै उद्घाटन समारोह सकिएको थियो । समारोहमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसिएका) कार्यवाहक अध्यक्ष पनि सहभागी थिए ।

समारोहको सुरुमा ‘वाटर इन अटुमन ग्लो’ नामक ओपनिङ प्रदर्शन भएको थियो । यो एसियाडको नारा ‘हार्ट टु हार्ट’ अर्थात् मुटुदेखि मुटुसम्म भन्ने रहेको छ । चीनमा तेस्रो पटक जारी एसियाड एसियाली खेलकुदको इतिहासमै सहभागिताको हिसाबले सबैभन्दा ठूलो बनेको छ । आगामी २१ असोजेसम्म चल्ने प्रतियोगितामा एसियाका ४५ देशका १२ हजार ५ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

विभिन्न ४० खेलका ४ सय ८१ इभेन्ट्समा प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताका लागि भनेर आयोजकले ५४ खेल स्थलमा प्रयोगमा ल्याएको छ भने १० हजार क्षमताको भव्य एसियाली भिलेज निर्माण गरेको छ । सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट सुरु एसियाड चीनले यसअघि सन् १९९० र २०१० मा आयोजना गरिसकेको छ ।

जम्बो नेपाली टोली, पदकभन्दा एक्स्पोजरलाई जोड
एसियाडमा नेपालले अहिलेसम्मकै ठूलो टोली चीन पठाएको छ । नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडीले सहभागिता जनाएका छन् । नेपालका १ सय २७ महिला र १ सय २६ पुरुष गरी २ सय ५३ खेलाडीले एसियाडमा प्रर्दशन गर्नेछन् । यसअघि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाडमा नेपालबाट २५ खेलमा सबैभन्दा धेरै २ सय ३ खेलाडी सहभागी थिए ।

इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालबाट २९ खेलमा १ सय ८५ खेलाडीले सहभागिता जनाएका थिए । पछिल्ला तीन संस्करणमा एक–एक पदकमा मात्र खुम्चिएको नेपालका लागि यो संस्करण पनि पदकका लागि त्यत्ति फलदायी नहुने पक्कापक्की छ । यो संस्करण पदकभन्दा बढि अन्र्तराष्ट्रिय जगतमा देखाउने सहभागीताका लागि मात्र हुने देखिएको छ ।

१९औं संस्करणको एसियाली खेलकुदमा नेपालले २९ खेलमा सहभागिता जनाउँदै छ । प्रायः हरेकजसो खेलका च्याम्पियन खेलाडी रहेको एसियामा नेपालका लागि पदक ल्याउनु पहिलेभन्दा निकै कठिन देखिएको छ । सहभागी अधिकांश खेलमा नेपालले पदकभन्दा पनि आफ्नो प्रर्दशन सुधार्ने उद्देश्य लिएको छ ।

यसपाली पनि तेक्वान्दो, कराँते र बक्सिङबाट मात्र पदक आशा गरिएको छ । तर अन्य देश पनि यी खेलमा अब्बल बन्दै जाँदा पदकको सम्भावना कठिन छ । नेपालले पहिलोपटक सहभागी हुन लागेको डान्सिङ स्र्पोट्स र ई–स्र्पोट्सबाट पनि पदकको आशा राखेको छ । यो खेल अरुका लागि पनि नौलो हो । नेपालले टिम खेलकुदमा मात्र १ सय ५ खेलाडीलाई सहभागी गराउँदै छ । पुरुष क्रिकेट, पुरुष भलिबलसहित महिलाका भलिबल, फुटबल, कबड्डी, ह्याण्डबलमा भाग लिएको छ ।

पुरुष रग्बीमा नेपालले पहिलोपटक सहभागिता जनाउँदै छ । डान्स स्पोर्ट्समा पनि नेपाली खेलाडीले पहिलो पटक सहभागिता जनाउँदै छन् । भलिबलको पुरुष र महिलामा २४ र ई–स्पोर्ट्सका पाँच इभेन्टमा नेपालका २३ खेलाडी भाग लिएका छन् । पहिलो पटक एसियाली खेलकुदमा महिला फुटबल टोली समावेश भएको छ । जसमा २२ खेलाडी छन् । पुरुष रग्बीमा १२ खेलाडी, महिला ह्यान्डबलमा १६, पुरुष क्रिकेटमा १५, महिला कबड्डीमा १२ खेलाडी सहभागी छन् ।

यसबाहेक नेपालबाट बक्सिङमा १३, उसु र तेक्वान्दोमा ११–११ खेलाडी, एथलेटिक्स, ब्याडमिण्टन, जुडो र करातेमा ८–८ खेलाडी सहभागी छन् । फेन्सिङ, गल्फ, स्क्वास, टेबल टेनिस र टेनिसमा क्रमश ६–६ जना खेलाडीले भाग लिँदैछन् । सुटिङमा २, पौडीमा ४, भारोत्तोलनमा ५ , आर्चरीमा ४, बास्केटबलमा ४, ब्रेकिनमा १, क्यानोईमा १, साइक्लिङमा २, ट्रायथलनमा ४ र कुस्तीमा ४ खेलाडीको सहभागिता रहनेछ

अहिलेसम्मका उपलब्धी
नेपालले ७२ वर्षे एसियाली खेलकुद इतिहासमा २ रजत र २२ काँस्य पदकसहित कुल २४ पदक जितेको छ । सन् १९८६ मा दक्षिण कोरियाको सियोलमा सम्पन्न १०औं एसियाडबाट पदक जित्न थालेको नेपालले त्यसपछि भएका सबै एसियाडमा पदकविमुख हुनुपरेको छैन । १६औं एसियाडदेखि १८औं एसियाडसम्म नेपालले लगातार एक–एक पदक जितेको छ ।

इन्डोनेसियामा चार वर्षअघि भएको एसियाडमा एउटा रजत पदक जितेको नेपालले अहिलेसम्म बक्सिङ, तेक्वान्दो , कराँते र पाराग्लाइडिङ गरी ४ वटा खेलबाट मात्र पदक ल्याएको छ । सबैभन्दा धेरै तेक्वान्दोबाट १ रजत र १३ काँस्य जितेको नेपालले पाराग्लाइडिङमा १ रजत पदक जित्दा बक्सिङबाट मात्रै ७ वटा काँस्य पदक प्राप्त गरेको छ । थप २ काँस्य पदक कराँते खेलबाट नेपालले ल्याएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्