कर्मकाण्ड होइन रूपान्तरण

सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले तीनमहिने रूपान्तरण अभियान सकिएको घोषणा गर्दा स्थानीय जनता तथा उक्त पार्टीका समर्थक तथा शुभचिन्तक छक्क परेका छन् । उता जनतामाझ कुनै पनि नयाँ सन्देश दिन नसकेको रूपान्तरण अभियानको वास्तवमा उद्देश्य के थियो ? स्वयम् उनीहरू नै अन्योलग्रस्त छन् । पार्टीका नेता तथा कार्यकर्ताको केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म तहगत बैठकबाहेक यो तीनमहिने अभियानमा अरू केही हुन सकेन । विश्लेषक तथा वुद्धिजीवीको भाषामा यो केवल कर्मकाण्डमा सीमित भएर सकिएको छ । सरकारको नेतृत्व गरिरहेको, भ्रष्टाचारका फाइल एकपछि अर्को गर्दै खोलिरहेको, सुशासन लागू भएको दावा गरिरहेको, बाक्लै विदेश भ्रमण भइरहेको र विभिन्न सन्धिसम्झौता कार्यान्वयन गरिरहेको सत्तासिन पार्टीको यो तीनमहिने रूपान्तरण अभियानमा यी कुराको कुनै गन्धसम्म पनि छैन । सरकारले देश र जनताका लागि के गरिरहेको छ, सत्ताधारी पार्टीका तर्फबाट सोको सूचना पनि छैन । यी विषयहरू रूपान्तरण अभियानमा एजेन्डा नै बन्न सकेनन् । ‘घरघरमा माओवादी र जनजनमा मओवादी’ भन्ने हल्का नाराले जनता तथा कार्यकर्तालाई राहतको अनुभूति गराएन ।

बरू माओवादी केन्द्रका नेता तथा कार्यकर्ता स्थानीय क्षेत्रमा पुग्दा नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण र सुनकाण्ड’bout स्थानीय जनता तथा कार्यकर्ताका तर्फबाट जोडतोडका साथ प्रश्नहरू उठे र उठाइए । त्यसमा पनि सुन काण्डमा माओवादीका शीर्ष नेता तथा नेतृत्वसम्म जोडिएको प्रश्न’bout जिज्ञासा उठिरहे । यो जिज्ञासाको कुनै चित्त बुझ्दो जवाफ प्रश्नकर्ताले पाएनन् । रूपान्तरण अभियान चलिरहँदा यो अभियानका पोस्टर, पर्चा, पम्प्लेट कुनै पनि स्थानीय गाउँमा देखिएनन् । सामाजिक सञ्जालमा कार्यकर्ता भेला भएर सेल्फी खिचेर राखिएका तस्बिर मात्र छाए । अभियानमा सिंगो जनमानस ओझेलमा प¥यो । यो अभियानले आन्तरिक रूपमा माओवादी केन्द्रलाई छुन पनि सकेन । यो न त डरलाग्दो न त रहरलाग्दो दुवै हुन सकेन । केन्द्रका नेता स्थानीय स्तरसम्म पनि पुग्न सकेनन् वा चाहेनन् । बाहिर रूपान्तरण भनिए पनि यो अभियान आन्तरिकरूपमा माओवादी नेतृत्वमाथि लागेको सुनकाण्डको दाग पखाल्न प्रायोजित अभियानजस्तो मात्र रहन गयो । उठेका प्रश्नका सही र ठोस जवाफ आउन नसकेकाले यसले थप भ्रम र निराशा पैदा गरेको देखियो ।

तीनमहिने रूपान्तरण अभियान आउँदा जनताले भ्रष्टाचारविरूद्ध कार्यक्रम आउँछन् भन्ने सोचेका थिए । सरकारमा रहेकाले नेता देश रूपान्तरणका नीति तथा योजना लिएर आउँछन् भन्ने सोचेका थिए । ‘तिम्रोभन्दा हाम्रो पार्टी अब्बल’ भनिरहेका जनता तथा कार्यकर्ताले वास्तविक रूपान्तरणको अपेक्षा गरेका थिए पनि । ‘जति जोगी आए पनि कानै चिरेका’ भन्ने उखान चरितार्थ हुँदै आएको नेपाली राजनीतिमा रूपान्तरण जरूरी पनि छ । जनताले त्यो चाहना गरेका पनि छन् । तर, कुनै पनि राजनीतिक दल वा पार्टीले त्यसका लागि अहिले ‘रोलमोडल’को भूमिका निर्वाह गर्न सकिरहेका छैनन् । माओवादी केन्द्रले पनि अहिले यस्तो रूपान्तरणको परिकल्पनासम्म गरेको देखिएन । बाह्य रूपमा कूटनीतिक भाषा बोलेर छक्याउने र ढाँट्ने बानी परेका नेताले पार्टी पंक्तिलाई पनि कूटनीतिक कार्यक्रम बनाएर गुमराहमा राख्ने योजना बनाउन थालेको गुनासो कार्यकर्तामाझ बाक्लिँदै गएको छ । वास्तवमा रूपान्तरण कार्यक्रम वा नाराले होइन, समकालीन उत्कृष्ट वैज्ञानिक विचारअनुसारको नीति, आचरण र कार्यक्रमले मात्र ल्याउन सम्भव छ । यस अर्थमा रूपान्तरण कर्मकाण्ड होइन ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले नपत्याएका ३३ वर्षिय थापा शिवराजमा मेयर निर्वाचित