बीरगञ्ज । लकडाउनले समस्यामा परेकालाई राहत बाड्न नामावली संकलन गर्ने क्रममा पर्सामा झडप हुँदा १९ जना घाइते भएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बरेवा गाउँमा पीडित परिवारको नामावली संकलन गर्ने क्रममा दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका हुन् ।
घाइते सबैको वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये धेरैको टाउकोमा घाउचोट लागेको र सबैको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न नारायणी अस्पतालका चिकित्सकले जनाएका छन् ।
महानगरपालिकाले लकडाउनका समयमा समस्यामा पर्नेलाई राहत बाड्न भनी विनियोजन गरेको १ लाख २५ हजारबाट राहत सामग्री बाँड्न नामावली संकलन गर्न वडा नम्बर १९ ले सर्वदलीय राहत वितरण समिति गठन गरेको वडाध्यक्ष सन्तोष तिवारीले बताए । सोही समितिले बुधबार नामावली संकलन गर्दै जाने क्रममा बरेवा गाउँमा पुग्दा अप्रिय घटना भयो ।
समितिका सदस्य प्रभु यादवले आफू निकटका बढि मानिसको नाम संकलन गरेको भनी र स्थानीय उपेन्द्र यादवको विरोधपछि विवाद हुँदा झडपमा परिणत भई डेढदर्जन मानिस घाइते भएको उनको भनाइ छ ।
समितिका सदस्य प्रभुले समितिमा नै नरहेका उपेन्द्र र उनका आफन्तले आफू माथि हातपात गरेको दावी गरे । उनी पनि घाइते भई उपचार गराउन नारायणी अस्पताल पुगेका थिए ।
झडपमा घाइते भई उपचार गराउन अस्पताल आइपुगेका अर्का पक्षकाले उपेन्द्रले पनि पक्षपात नगरौं भन्दा प्रभुका समूहले आफू लगायतका स्थानीय माथि नै जाइलागेको बताए ।
झडपमा संलग्न मध्ये ५ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र बहादुर शाहीले बताए । ‘दोषी जो कोही भए पनि कार्वाही हुन्छ’ उनले भने ।