काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले साँगाबाट उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।
‘रावायण’ चलचित्र निर्माता समूहले केसीविरुद्ध दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको एसपी रवीन्द्र रेग्मीले बताए ।
रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट शुक्रबार साँझ साढे ५ बजे नियन्त्रणमा लिई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रवक्ता रेग्मीले जानकारी दिए ।
निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिका तर्फबाट सुप्रिया भनिने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । सो उजुरीका आधारमा केसीविरुद्ध केही दिनअघि पक्राउ पुर्जीसमेत जारी भएको रेग्मीले जानकारी दिए । प्रहरीले खोजी कार्य गर्दैजाँदा सूचनाका आधारमा साँगाबाट पक्राउ गरिएको जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले चलचित्रमा अभिनय गर्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, चलचित्र खेल्न भने मानेका थिएनन् ।
चलचित्र ‘रावायण’मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेको थियो । केसीलाई सहमतिका लागि बोलाउँदासमेत नआएर ‘प्रहरीले सकेको गरोस्’ भन्ने प्रतिक्रिया दिएपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको राठौरले बताए ।
यही चलचित्रलाई लिएर अभिनेता केसीसहित अन्य कलाकारले लिएको गरेर निर्माण पक्षको १ करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको समेत एसएसपी राठौरले बताए । ‘जाहेरी आएपछि धेरैपटक छलफलका लागि बोलाउँदा पनि उहाँ आउनुभएन,’ एसएसपी राठौरले भने, ‘त्यसपछि पक्राउ पुर्जी जारी गरेर नियन्त्रणमा लिएका हौं ।’
केसीले चलचित्र नखेल्ने भनेर लगानी धरापमा पारेपछि दसैंको मुखमा ६५ जना प्राविधिकसमेत अलपत्र परेको एसएसपी राठौरले जानकारी दिए ।
यसैबीच, अभिनेता अनमोल केसीले पक्राउ पर्नु दुई दिनअघि नै अदालतबाट निषेधाज्ञाको आदेश लिएको खुलेको छ ।
उच्च अदालत, पाटनले बुधबार ‘देवानी लेनदेन वा देवानी दायित्वका विषयमा प्रहरीको क्षेत्राधिकार नहुने भएको’ भन्दै पक्राउ नगर्न आदेश दिएको खुलेको हो ।
उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेलको इजलासले गरेको आदेशमा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम फौजदारी कसुरमा अनुसन्धान गर्दा बाधा नपर्नेगरी देवानी दायित्वका विषयमा यी निवेदकलाई प्रस्तुत निवेदन अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्नु÷नगराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।’ सो निवेदनमा जिल्ला प्रहरी परिसर टेकुलाई विपक्षी बनाइएको छ ।
उता, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले भने अदालतले देवानी प्रकृतिको कसुरमा मात्र पक्राउ नगर्न भनेको भन्दै अनमोलविरुद्ध आइतबार अनुसन्धानका लागि म्याद लिइने बताए ।
‘अदालतले देवानी प्रकृतिको मुद्दा मात्र पक्राउ नगर्न भनेको हो, आपराधिक विश्वासघातमा परेको जाहेरीका आधारमा समातेका हौं, यो फौजदारी मुद्दा हो,’ रेग्मीले भने, ‘त्यसैले यसमा पक्राउ गर्न प्रहरीलाई समस्या छैन, आइतबार अदालतमा हाजिर गराउँछौं ।’