दोहा । गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैं एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको बताएका छन् ।
नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा शर्माले गैरआवासीय अभियानमा मध्यपूर्वभन्दा बाहिर बस्ने अभियन्तालाई मध्यपूर्वले सधैं अरूलाई दिएको योपटक अरू क्षेत्रमा बस्ने अभियन्ताले दिने समय आएको स्मरण गराए ।
‘मध्यपूर्वलाई सबै चुनाव नभएको बेला पनि सम्झन म सम्मानित सबै एनआरएनका साथीहरूलाई अनुरोध गर्दछु,’ शर्माले भने, ‘मध्यपूर्वले सबै अरूलाई सहयोग गरेको छ, यो पटक अरुले मध्यपूर्वलाई सहयोग गरेर गुन तिर्ने बेला आएको छ ।’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आंदम्बे सहभागी भएको कार्यक्रममा अध्यक्षका प्रत्यासी शर्माले आफू स्पष्ट योजना मध्यपूर्वसहित विश्वमा श्रम गर्नेलाई उकास्ने योजनासहित अध्यक्षको प्रत्यासी बनेर आएको भन्दै आफ्ना योजना सुनाएका थिए ।
‘अर्थतन्त्र श्रमिकले पठाउने रेमिट्यान्सले चले पनि सधैँ रेमिट्यान्स आउने छैन,’ शर्माले भने, ‘श्रमिकको आर्थिक हित उकास्ने गरेर उत्पादन मूलक क्षेत्रमा रेमिट्यान्स रकम लगाउन प्राधिकरण गठन गर्ने योजनासहित म आएको छु ।’
उनले नेपालका राजनीतिक दल र एनआरएनएबिच रगत र मुटुको जस्तो सम्बन्ध रहेको बताए । एनआरएनएका मुद्दालाई कार्यान्वयन गर्न राजनीतिक दलको सहयोग जरुरी रहेको भन्दै शर्माले राजनीतिक दलको हस्तक्षेप एनआरएनएमा हुन नहुने बताए ।
‘आईसीसीको चुनावमा आफ्नो भातृ संगठनमा काम गरेको आधारमा चुनाव जिताउन राजनीतिक दल लाग्नु हुँदैन,’ शर्माले भने, ‘म सबै राजनीतिक दललाई सम्मान गर्छ,एनआरएनका मुद्दा कार्यान्वयन गर्न सबै दलको सहयोग चाहिन्छ, हामीलाई हस्तक्षेप चाहिँदैन ।’
आफू एनआरएनए सबैको साझा चौतारी बनोस् बनेर अभियानमा हिंडेको शर्माले सुनाए ।
बुधबार कर्मभूमिबाट एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शर्मा शुक्रबार बहराइन आइपुगेका हुन् । साउदी हुँदै बहराइन आइपुगेका शर्मा विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
शनिबारदेखि शर्माको युरोप भ्रमणको तालिका रहेको छ । साउदी र बहराइनको विभिन्न कार्यक्रममा भाग लिने तथा साउदी बहराइनमा भएका गैरआवासीय नेपाली तथा राजनीतिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग गैरआवासीय नेपाली अभियानलाई अगाडि बढाउन सल्लाह र सुझाव लिएका थिए ।
बहराइनबाट शर्माको युरोपको चेक रिपब्लिक पुग्ने तालिका रहेको छ । चेकमा हुँदा शर्माले त्यहाँ बस्ने गैरआवासीय नेपाली तथा अभियन्तासँग छलफल गर्ने छन् ।