सिन्धुली । तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता २०८० सिन्धुलीमा हुने भएको छ । विभिन्न जिल्लाका माझी समुदायसँग समन्वय र सम्पर्कका साथैै माझी युवाहरुलाई राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अवस्थालाई मजवुद बनाउने उद्देश्यले गोल्डकपको आयोजना गरिन लागेको नेपाल माझी उत्थान संघ सिन्धुलीले जनाएको छ ।
नेपाल माझी उत्थान संघ सिन्धुलीको आयोजनामा कार्तिक १३ गतेबाट मरिण गाउँपालिका वडा नं. ७ को बाह्रविसे खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरिने भएको छ । मरिण गाउँपालिका वडा नं. ७ को बाह्रविसे खेल मैदान र हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ बोटेनी खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिने नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बविन्द्रलाल माझीले बताए ।
नेपाल माझी उत्थान संघ सिन्धुलीले शनिबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गरि गोल्डकपको आयोजना गर्न लागिएको जनाएको हो ।
प्रतियोगितामा २५ जिल्लाका माझी युवा खेलाडीहरुको सहभागिता रहने छ । गोल्डकपका लागि ३५ लाख लागत लाग्ने अनुमान गरिएको अध्यक्ष माझीले बताए । खेलले माझी समुदायमा उत्साह, जाँगर र समन्वय हुने र माझी समुदायहरु मुल प्रवाहाम सहजै जोडिने विश्वास गरिएको माझीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
प्रतियोगितामा विजेता हुने टिमलाई २ लाख ६५ हजार ५५५ रुपैंया नगद सहित शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । त्यस्तै उपविजेता टिमलाई १ लाख ३२ हजार २२२ रुपैंया नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने गरि निर्धारण गरिएको उनले जानकारी दिए । यस्तै सान्त्वना स्वरुप तेस्रो पुरस्कारको समेत व्यवस्था गरिएको माझीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन । उनका अनुसार तेस्रो हुनेलाई नगद ६६ हजार ६६६ रुपैंया, शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
प्रतियोगिता एकसातासम्म चल्ने आयोजकको अनुमान छ । खेलाडीहरुले असोज २५ गतेसम्ममा टिम दर्ता गर्नुपर्ने छ । खेलाडीहरुलाई आवासीय व्यवस्था गरिने पनि उनले बताएका छन । प्रतियोगितामा ५ सय खेलाडीलाई आवासको व्यवस्था गरिएको छ ।
जिल्लाका ९ वटा पालिका, बागमति प्रदेश खेलकुद परिषद, विभिन्न उद्योगहरु तथा सेवा प्रदायक कम्पनीहरु लगाएतबाट प्रतियोगिताका लागि आर्थिक संकलन गरि प्रतियोगिताको आयोजना गरिने भएको संघका अध्यक्ष माझीले बताए ।
आर्थिक व्यवस्थापनका लागि आन्तरिक श्रोतसँगै जिल्लाका ४ वटा पालिकाले सम्झौता गरिसकेको र अन्य पालिका तथा निकायहरुमा सम्झौताको क्रममा रहेको उनले जानकारी दिएका छन ।