परिवर्तित पहिचान पछ्याउँदै राउटे

आफूलाई ‘वन राजा’ भनी चिनाउन चाहने राउटे जाति पहिलेको जस्तो कठोर राउटे मान्यतामा रहन छाडिसकेकाले यिनीहरूको पहिचान पनि क्रमशः बदलिँदो छ । वनमा बस्ने तर स्थायी बसोबास मन नपराउने राउटे अहिले सापेक्ष स्थायी बसोबासमा सरिसकेका छन् । काठका बाकस, मधुस, पिर्का, कोसी, सन्दुक बनाउने यो जाति अहिले वनमा यस्ता प्रजातिका रूख मासिइसकेकाले मनग्यै खाद्यान्नको जोहो गर्न नसक्ने अवस्थामा छन् । महिला घरबाट बाहिर ननिस्कने, परपुरुषको मुख नहेर्ने, राउटेबाहेकका मानिससँग कुरा नगर्ने, मुखियाले मात्र बाह्य आगन्तुकसँग कुरा गर्ने आदि चलन हटिसकेको छ । राउटे हुनुको विशिष्ट पहिचान नै हराउँदै गएपछि यिनीहरूको मनोविज्ञान पनि परिवर्तित हुँदै गइरहेको छ । अहिले हाटबजार, बजार र गाउँ तथा सहरका नजिकका स्थान राउटेको आफ्नो बसाइँका लागि उपयुक्त ठाउँ हुन थालेका छन् । सरकार तथा संघसंस्थाले उपलब्ध गराउने राहत, सेवा र सुविधामा रमाउन थालेका छन् । पछिल्लो समयमा स्थानीय जनता र राउटेबिचमा सम्बन्ध पनि नजिकको हुन थालेको छ । राउटे युवा र युवतीमा नयाँ संस्कृतिको गहिरो प्रभाव पर्दै जान थालेको छ ।

वृद्ध अवस्थाका राउटे पनि खुलेर कुरा गर्न थालिसकेका छन् । पहिले एक जना मूली मात्र बोल्ने र कुरा गर्ने राउने अब त हरेक व्यक्तिव्यक्तिमा पनि आगन्तुकसँग कुराकानी गर्न थालिसकेका छन् । उनीहरूले हालसम्म नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएका छैनन् । तथापि, उनीहरूले सरकारले उपलब्ध गराएको सेवा र सुविधा नागरिकसरह लिइरहेका छन् । आफ्ना माग राख्न काठमाडौं जाने, काम परेको अवस्थामा स्थानीय सरकारका पनि प्रमुखलाई खोज्ने र समस्या राख्ने गर्न थालेका छन् । राज्य र सरकार तथा संघ तथा संस्था’bout धेरै कुरा नजाने पनि आफ्ना स्वार्थ सम्बोधनका लागि के गर्नुपर्छ सो कुराको हेक्का राख्ने गरेको देखिन्छ । तिनीहरूको जीवन पद्धतिमा आउँदै गरेको परिवर्तनमा वर्तमान नेपाली समाजमा जेजस्ता राम्रा नराम्रा कुरा छन्, तिनको प्रत्यक्ष प्रभाव परेको देखिन्छ । राउटे रूपान्तरण हुँदै छन्, त्यो सकारात्मक कुरा हो । तर, उनीहरूमा रक्सी, चुरोट, खैनीजस्ता अम्मलले पनि घर गर्दै गइरहेका छन् । पहिले पैसा छोए मात्र पनि पाप लाग्छ भनी पैसा लिन त परै जाओस् छुनसम्म पनि नमान्ने राउटे अहिले जोसँग पनि पैसा मागेर हैरान गर्दै हिँड्छन् ।

राउटे अबका केही समयपछि स्थायी बसोबास गर्न पनि मन्जुर हुने देखिन्छ । राउटेहरूले सुर्खेतको वन कार्यालयमा जागिर खाएको आधारमा यो सहज अनुमान गर्न सकिन्छ । समयले पनि प्रभाव पार्दै गयो, नयाँनयाँ प्रविधि र सामाजिक सञ्जालले पनि उनीहरूको चित्त परिवर्तन गर्दै गयो । सेवासुविधा र अवश्यकताले पनि उनीहरूलाई पुराना मान्यता र कुरा बाधा व्यवधान मात्र भएकोजस्तो हुन गयो । फलतः राउटे अनकनाउँदै र दुविधामा अल्झँदै रूपान्तरणको बाटोमा अनायास अघि बढिरहेका छन् । यस्तो बेलामा उनीहरूका लागि उचित र फाइदा हुने कुरा सिकाउनु बढी श्रेयस्कर हुने देखिन्छ । नत्र पथभ्रष्ट भएर सिद्धिन पनि बेर हुँदैन । किनकि, उनीहरू बाँचेको सामूहिकताको समाज छैन हामीकहाँ । व्यक्तिवादी समाजमा आइपुग्दा उनीहरूलाई निराशा र अत्यासले सताउन सक्छ । परिवर्तित पहिचान पछ्याउँदै गरेको राउटेका लागि राज्यले अभिभावकत्व लिन जरुरी देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने