अगामी निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्छ–माओवादी उपाध्यक्ष सापकोटा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापाकोटाले अगामी निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने उदघोष गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आफूहरूलाई जनताले तिखो नजरले हेर्न थालेको बताए ।

‘केही समयअगाडि उदासिनता जस्तो, आश कम भएको जस्तो हुन्थ्यो । अहिले आशा पनि बढेको छ, र तीखा नजरले हेर्न थालेका छन्’ सापकोटाले भने, ‘त्यसकारण म पूरै विश्वासका साथ के भन्न सक्छु भने, पहिले समानुपातिकमा हाम्रो बाह्र लाख भोट थियो । त्यो कम भएको हामीलाई गहिरो गरी महसुस भएको छ । दोब्बरभन्दा बढी बनाउन सकिन्छ भन्ने विश्वास जागेको छ । दृढताका साथ भन्न चाहन्छु, अब आउने निर्वाचनमा हामी एक्लै प्रतिस्पर्धा गर्नेछौँ ।’

उनले जनताले आफूहरूलाई माओवादीको पहिचान के हो, माओवादीको भिन्न भन्ने कुरा के हो ? भन्ने प्रश्न गरिरहेको भन्दै उनले अब पार्टीको विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण, नीति, योजना, कार्यक्रम छुट्टै प्रस्तुत गर्दै अगाडि जाने बताए । त्यसका लागि विधान सम्मेलन गरेर विधि प्रक्रियाको मापदण्ड, त्यसको पद्धति र प्रक्रियाको सुनिश्चितता गर्ने उनले बताए ।

विधान सम्मेलन अगाडि बढेपछि स्वाभाविक रुपमा विचारको पनि बहस हुने उनले बताए । तर विधान सम्मेलन भएको हुनाले विधानमै बढी केन्द्रित हुने बताए । ‘त्यो विधान सम्मेलन सम्पन्न गरिसकेपछि फेरि विशेष महाधिवेशन गर्छौं । त्यसपछि बहसलाई महान बहसमा अगाडि बढाउँछौँ’ सापकोटाले भने ।

सापकोटाले जनतासँग माओवादी अभियानको समापन गर्दै गर्दा विधान सम्मेलन गरिने बताए । विधान सम्मेलन सम्पन्न गरिसकेपछि निश्चित अवधिपछि विशेष महाधिवेशन गरिने उनको भनाइ छ । त्यसले पार्टीको सुस्पष्ट विचार, राजनीतिक, कार्यदिशा, दृष्टिकोण, विधि, प्रक्रिया स्पष्ट गर्ने उनको भनाइ छ । ‘जसरी हाम्रै अजेन्डामा देश घुमिरहेको छ । अगाडि बढिरहेको छ । तर त्यो संगठनमा अभिव्यक्त भएको छैन । त्यो संगठनमा अभिव्यक्त हुने र पहिलो पार्टी हुने एउटा संकल्पका साथ हामी अगाडि बढिरहेका छौँ’, उनले भने ।

यसैगरी प्रवक्ता सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको दावी गरेका छन् । ‘सहकार्य, सम्बन्ध र अन्य विषयमा नयाँ ढोकाहरू खुलेका छन् । हाम्रो असंलग्न परराष्ट्र नीतिका विषयमा स्पष्ट पार्ने र विश्वास दिलाउने काम भएको छ । उहाँहरूले पनि नयाँ ढोकाहरू खोल्नुभएको छ । यसअर्थमा नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको छ’ उनले भने ।

कोभिड र अन्य विविध कारणले दुई देशबीच उच्चस्तरीय भ्रमण नभइरहेको स्थितिमा अहिलेको भ्रमणले उच्चस्तरीय भ्रमणको शृंखलालाई जोडेको उनले बताए । यसले विश्वासको वातावरण पनि बनेको उनको दाबी गर्दै उनले भने, ‘हामीलाई थाहा छ, पछिल्लो समयमा संशय बढ्दै गएको थियो । प्रश्नहरू उठ्दै गएका थिए । ती सबै प्रश्न आज निवारण भएको छ । नेपाल–चीनबीचको सम्बन्धमा विश्वासको वातावरण बनेको छ ।’

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीकै हैसियतमा तीन पटक र पार्टी अध्यक्षको हैसियतले दुई पटक चीनका राष्ट्रपति सी चिनफिङलाई भेटेको बताउँदै सापकोटाले दुई नेताबीच भावनात्मक सम्बन्धले पनि महत्वपूर्ण भूमिका खेलेको बताए ।

‘सी चिनफिङ र प्रधानमन्त्रीका बीचमा वानटुवान कुराकानी पनि भयो । समूहमा पनि कुरा भयो’ उनले भने, ‘त्यसबाट संशय र प्रश्नहरू निवारण भएको छ । नयाँ स्तरमा सम्बन्ध सुदृढ हुने दिशातिर गइरहेको छ । सबैभन्दा ठूलो उपलब्धि भनेको यही हो ।’

उनले यसपटकको भ्रमण आर्थिक विकास तथा दुई देशको विकासका लागि आधारमा तयार भएको बताए । यसपटक कामकाजी खालका सहमति भएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनका उम्मेदवार जीत नजिक