बैतडी । नेकपा माओवादी पार्टी प्रदेश कमिटी इन्चार्ज एवं प्रदेश संसदीय दलका नेता खगराज भट्टले प्रदेश सरकार अपाङ्गजस्तै भएको बताएका छन् । उनले प्रदेश सरकारले कानुनहरुको अभावमा काम गर्नु परिरहेको बताए । उनले भने, “अहिले पनि कर्मचारीहरु संघ सरकार मातहतकै छन्, प्रहरी परिचालन देखी अधिकांश संरचना संघीय सरकार मातहत भएकाले प्रदेश सरकारले अभावै अभावमा काम गरिरहेको छ ।”
नेता भट्टले प्रदेश राजधानीको बिषयमा वहस भएपनि अहिलेलाई गोदावरीनै राजधानी भएको बताए । उनले कांगे्रस सभापती सेर बहादुर देउवा र आफु डडेल्धुरा वासी भएका कारण डडेल्धुराको कुरा उठ्नु स्वभावीक भएपनि अहिले नै उक्त कुरा विश्वसनीय नभएको बताए । यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले डडेल्धुरामा प्रदेश राजधानीको सम्भावना रहेको बताएका थिए ।
जनउत्साह घटेको छैन् :सचीव आचार्य
नेकपा (माओवादी केन्द्र)का सचीव डिलाराम आचार्यले माओवादी पार्टीप्रति जनतामा उत्साह कायम रहेको बताएकाछन् । पार्टी रुपान्तरण अभियान अन्तरगत “जनतासंग माओवादी” कार्यक्रमका लागि बैतडी पुगेका आचार्यले प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा जनता नै माओवादीको गुरु भएको बताए ।
उनले भने, “हामीलाई राजनिति सिकाउने हाम्रो गुरु नै जनता हो, अहिले पनि माओवादीप्रति जनतामा उत्साह देखिन्छ, माओवादी नेताहरु सच्चिनुपर्ने जनअपेक्षा छ तर केहि मध्यमवर्गका नेताहरुमा पार्टीप्रति धेरथोर निराशा देखिए पनि नेतृत्व रुपान्तरण भएर पार्टी निर्माणमा अघि बढेको छ । माओवादीलाई माओवादी जस्तो भएन भन्ने चिन्ता जनतामा छ । त्यो चिन्ता र समस्या हामी समाधान गरेर पार्टी रुपान्तरण गछौँ ।”
पार्टी रुपान्तरण अभियानले माओवादी पार्टी योजना, कार्यक्रम र निति विहिन भएको भन्ने कुरालाई समाधान गर्ने उनले बताए । फरक प्रसंगमा नेता आचार्यले माओवादी नेतृत्वको सरकारले देशका ठुला भ्रष्टाचार काण्डका दोशीहरुलाई कारवाही गरेरै छाड्ने बताए । उनले राजतन्त्र पुर्नस्थापनाका लागि चलेका अभियानहरुको अर्थ नहुने बताए ।