अनि, अनसन तोडियो

पोखरा । पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापनाको माग गर्दै तीन दिनदेखि आमरण अनसन बसेकी दृष्टिविहीन शिक्षिका शोभा पौडेलले मंगलबार साँझ अनसन तोडेकी छन् ।

बगरस्थित शिक्षा विकास निर्देशनालय गण्डकी र शिक्षा विकास समन्वय इकाइ कास्कीको परिसरमा उनी गत आइतबारदेखि ‘पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापना र हाजिर गराई स्थायी रोजगारको सुनिश्चित गरी पाउँ’ भन्ने एकसूत्रीय माग गर्दै अनसन बसेकी थिइन् ।

सो सम्बन्धमा शिक्षा विकास समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यको अध्यक्षतामा विभिन्न शिक्षक संगठनहरु र पोखरा महानगरपालिका शिक्षा महाशाखासमेत लगायतको बैठकले विभिन्न निर्णयबमोजिम शोभाले अनसन तोड्न राजी भएकी हुन् । सहमतिबमोजिम उनलाई हाल कास्कीको मादी गाउँपालिकास्थित ध्रुव माविमा निमावि नेपाली विषयको दरबन्दीमा सरुवा भई आउन सहमति प्रदान गर्ने, साथै उनी खटिएको विद्यालयमा हाजिर भई सहमति लिएर आएपछि शिक्षा तथा मानवस्रोत विकास केन्द्र भक्तपुरबाट नियमानुसार जिल्लान्तर सरुवाका लागि अनुमति लिई शिक्षा विकास तथा समन्वय इकाइ कास्कीबाट सरुवा गर्ने सहमति भएको छ । तर यसलाई नजीरको रुपमा लिइने छैन ।

साथै, शिक्षक सेवा आयोगको २०७९÷८० को निमावि तहको पदस्थापना गर्नु अगावै शिक्षा विकास निर्देशनालयसँग समन्वय गरी शिक्षा विकास तथा समन्वय इकाइ कास्की र पोखरा महानगर शिक्षा महाशाखाले पोखरा महानगरभित्रकै विद्यालयमा सरुवा गरी ल्याउने निर्णयसँगै शोभाले मंगलबार साँझ ६ बजे अनसन तोडेको बताइन् ।

शिक्षक सेवा आयोगको परीक्षामा यसअघि निमावि नेपालीमा नाम निकालेकी उनलाई लमजुङको दुर्गम दोर्दी गाउँपालिकाको बालकल्याण माविमा खटाइएको थियो । सुरुबाटै उनले उक्त विद्यालयदेखि त्यहाँको गाउँपालिका र विभिन्न निकायमा सरुवा माग गरे पनि सुनुवाइ नभएपछि अनसन बस्नुपरेको बताएकी थिइन् ।

१५ वर्षदेखि शिक्षण पेसामा आबद्ध उनी हाल राष्ट्रिय मावि, पोखरामा नेपाली पढाउँछिन् । उनका पति श्रीकान्त सापकोटाले शिक्षक सेवा आयोगमा नाम निकालेपछि उनले पनि आयोग दिएकी थिइन् । मुलुकको अस्थिर राजनीति र अपांगताको चक्रब्युँहमा जीवन सुनिश्चितका लागि सही विकल्प सरकारी जागिर थियो । त्यो पनि, अपांगता भएका व्यक्तिको लागि शिक्षण उत्तम विकल्प । पतिको प्रेरणासँगै रातदिनको मेहनतले कडा प्रतिस्पर्धाबीच अन्ततः शोभाले गएको वर्ष शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल भइन् । परिवारमा खुसी छायो । तर, स्थायी जागिर सुरुआतका लागि पायकको विद्यालय नभएपछि दृष्टिविहीन अपांगता भएकी उनलाई समस्या भयो ।

पहिले अपांगता भएकालाई विद्यालय रोज्ने नीति भए पनि नतिजा आउनुभन्दा अघि मापदण्ड परिवर्तन गरेर अपांगता भएका व्यक्तिलाई पाखा लगाएको उनको आक्रोश थियो । नेत्रहीन संघ कास्की अध्यक्ष श्रीकान्त सापकोटा अपांगता भएका व्यक्तिको संरक्षण गर्ने दायित्व राज्यको भएको बताउँदै माग सम्बोधनका लागि अनसनै बस्नुपर्ने विडम्बना अन्त्य हुनुपर्नेमा जोड दिन्छन् ।

शोभाको आमरण अनसन विषयलाई लिएर चौतर्फी दबाबपछि शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख आचार्यको अध्यक्षतामा बैठक बसेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार