लन्डन । ब्राजिल तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार प्ले मेकर फिलिपे कौटिन्हो अनुबन्ध गर्न इंग्लिस प्रिमियर लिगका चार क्लबले चासो देखाएका छन् ।
स्पेनिस क्लब बार्सिलोनाबाट लोनमा बायर्नबाट खेलिरहेका ब्राजिली प्ले मेकर अनुबन्ध गर्न प्रिमियर लिगका म्यानचेस्टर युनाइटेड, चेल्सी र टोटेनहमसँगै लेस्टर सिटीले चासो देखाएको हो । प्रिमियर लिग लिभरपुलका पूर्वस्टार कौटिन्होलाई बार्सिलोनाले २०१८ मा अनुबन्ध गरेको थियो । तर, कौटिन्होले बार्सिलोनामा अवसर नै पाउन सकेन ।
त्यसपछि बार्सिलोनाले कौटिन्होलाई यसै सिजन लोनमा जर्मन क्लब बायर्न म्युनिखमा पठाएको थियो । उनलाई बार्सिलोना र बायर्नले नराख्ने बताइरहँदा प्रिमियर लिगका चार क्लबले उनीमाथि चासो देखाएको हो । कौटिन्होले यो सिजन बायर्नबाट ३२ खेल खेल्दै ९ गोल गर्दा ६ असिस्ट दिएका छन् । यौ दौडमा सबैभन्दा अघि म्यानचेस्टर युनाइटेड देखिएको छ ।
बेलायती पत्रिका स्पोर्ट्सका अनुसार युनाइटेडले यसै जनवरीमा अनुबन्ध गरेका ब्रुनो फर्नान्डेजलाई सहजताका लागि कौटिन्हो अनुबन्धमा उभिएको बताएका छ । तर, युनाइटेडले २७ वर्षीय कौटिन्हो अनुबन्ध गर्नका लागि चेल्सी, टोटेनहम र लेस्टर सिटीलाई पन्छाउनुपर्ने हुन्छ । कौटिन्होले पूर्वक्लब लिभरपुल फर्कने विषयमा भने अर्कै यात्रामा रहेको बताउँदै यो तत्कालका लागि नरहेको बताएका छन् । लिभरपुलका पूर्वप्रशिक्षक ब्रेन्डन रोजर्सले नै कौटिन्होलाई लिभरपुलमा अनुबन्ध गरेका थिए ।
तर, पछिल्लो अवस्थाले बार्सिलोनाले कौटिन्होलाई स्थयी रूपमा राख्न सक्नेछ । विश्वव्यापी महारमारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व खेलकुद गतिविधि ठप्प रहँदा क्लबलाई पनि आर्थिक संकट हुन सक्ने सम्भावना छ । बार्सिलोनाले सोमबार राति मात्रै क्लबका खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गरेको थियो । जसमा खेलाडीले सहमति जनाएका थिए ।