राजविराज । लागु औषध अनुसन्धाका सिलसिलामा प्रहरी हिरासतमा रहेका आफ्ना कर्मचारीको बचाउ गर्दै सप्तरीको बोदेबरसाइन नगरपालिकाले घटनाको सुक्ष्म अनुसन्धान हुनुपर्ने माग गरेको छ ।
नगरपालिकाकी कार्यवाहक नगरप्रमुख रेणुकुमारी साहले बिहीबार एक प्रेस विज्ञप्ति मार्फत यस्तो माग गरेकी हुन् ।
प्रहरी सात दिन अघि १२ असोजमा सो नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक राजनारायण ठाकुर चढेको लु.५५प.५४३९ नम्बरको मोटरसाइकलबाट प्रतिबन्धित लागु औषध नाइट्राभेट ट्याब्लेट २७ वटा र स्पासमो ट्याब्लेट १५ वटा बरामद गरेको थियो ।
नगरपालिकाले सो घटना ’bout आफ्नो स्तरबाट पनि छानबिन सुरु गरेको थियो । प्रहरीले निजलाई सप्तरी जिल्ला अदालतबाट लागु औषध मुद्दामा पाँच दिनको म्याद थपि अनुसन्धान गरिरहेका बेला नगरपालिकाको यस्तो बिज्ञप्ति आएको हो ।
स्वास्थ्य शाखाकै प्रमुख नै लागु औषधसहित पक्राउ परेपछि नगरपालिकाले आफ्नो स्तरबाट पनि छानबिन सुरु गरेको थियो । विज्ञप्तिमा स्वास्थ्य शाखा संयोजक ठाकुरको सवारीसाधनमा लागु औषध फेला परेको विषयलाई गम्भिरतापूर्वक छानबिन गर्दा उनको कुनै संलग्नता नरहेको निष्कर्षमा पुगेको उल्लेख छ ।
त्यस्तै निज ठाकुरलाई कसैले फसाउन खोज्ने उद्देश्यले त्यस्तो षडयन्त्र रचेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य शाखा संयोजक ठाकुर कुशल ब्यवहार तथा असल बानी ब्यहोराका कर्मचारी रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनलाई फसाउन कसैले नियतबस त्यस्तो काम गरेको दाबी समेत गरिएको छ ।
पुरानो रिसिबी तथा उनको चरित्र हत्या गर्ने मनसायले उनका विपक्षिको संलग्नतामा लागु औषध राखेर फसाइएको हो, विज्ञप्तिमा भनिएको छ–यसको सुरक्षा तथा अन्य सरोकारवाला निकायबाट सुक्ष्म अनुसन्धान गरि दोषिलाई कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछौं ।