धनी त हुने, तर कसरी ?

डा. निरज पौड्याल

उँटलाई सियोको प्वालबाट छिर्नभन्दा धनी मानिसलाई ईश्वरको साम्राज्यमा छिर्न कठिन हुन्छ भन्ने बाइबलको मेथ्यु १९ः२४ र माक्र्सको शोषण नगरी धनी हुन सकिन्न भन्ने भाष्यबिच नङ र मासुको जस्तै सम्बन्ध देखिन्छ । धन, पुँजी र नाफाप्रतिको आजको नव–वामपन्थी ‘घृणा’ यी दुवै विचारधारासँग गजबले मिल्छ । यसलाई संयोग नै मान्ने होला ! धनको सृष्टिको सम्बन्धमा यो विचार पुरै गलत भन्न पनि मिल्दैन । धन आर्जन गर्नु जति नै अनैतिक र नराम्रो भनिए पनि सबै धनकै पछि लागेको कुरामा कुनै दुविधा छैन । विभिन्न मुलुक विभिन्न कारणको सम्मिश्रणले धनी भएका हुन्छन् । कोही धनी हुने बाटोमा सन् १८५० तिरै हिंड्न सुरु गरे, कोहीले आप्mनो यात्रा सन् १९०० तिरबाट सुरु गरे भने कोहीले सन् १९६० तिर सुरु गरे । कोहीले १९९० को दशकबाट बल्ल सुरु गरे धनी हुने आफ्नो यात्रा । हाल रहेको धनी र गरिब देशको दूरी को छिटोछिटो धनी भयो भन्ने कुराले भन्दा पनि कसले धनी हुन पहिला कोसिस सुरु ग¥यो भन्ने कुराले निर्धारण गरेको देखिन्छ । को छिटो दौडियो भन्दा पनि कसले छिटो यात्रा सुरु ग-यो भन्ने कुराले निर्धारण गरेको छ यो धनी हुने खेलको नतिजा । नेपाल र भारत (हो भारत पनि निकै गरिब मुलुक नै हो) आदि देशले धनी हुने बाटोमा निकै पछि मात्र आफूलाई लगाउने अवसर पाए वा भनौं लगाए । यस लेखमा म धनआर्जन जम्माजम्मी पाँच किसिमले गर्न सकिन्छ भन्ने कुराको व्याख्या गर्नेछु । यी उपाय देश, व्यक्ति वा संस्था सबैका लागि लागू हुन्छ । सबैले धेरै र थोरै सबै नै तरिकाको प्रयोग गरिरहेका हुन्छन् ।

पहिलो तरिका हो, अरूको धन र श्रम जबरजस्ती वा झुक्काएर हात पार्ने । धन कमाउने यो तरिका सजिलो नै त छैन, तर मान्छेहरू र देशहरू यसरी धनी भएका उदाहरण प्रसस्तै छन् । उपनिवेशीकरण चोरेर धनी हुने सरल तरिका भएरै होला ब्रिटिस, फ्रेन्च र स्पेनिसले यो तरिका अपनाएर भारत, अफ्रिका र अमेरिकाबाट स्रोत, साधन र जनशक्ति (दासदासीका रूपमा) चोरेर लगे र आफूलाई संसारकै प्रथम धनी देशमा सामेल पनि गराए । नववामपन्थीले भने जस्तो चोरेर मात्र यी देश धनी भएका चाहिं होइनन् । व्यक्तिले पनि श्रम र जमिन चोरेका इतिहास छँदै छ । कम्युनिस्टले भने जस्तो सबै धनीहरू चोरेर वा शोषण गरेर मात्र धनी भएका भने होइनन् । भ्रष्टाचार पनि चोरी नै हो । भ्रष्टाचार गरेर धनी हुन सकिन्छ भन्ने नलागेको भए मृत्युदण्डसम्म सजाय भएका देशमा बडेबडे भ्रष्टाचार किन हुन्थे र ? चोरेर नाफा हुने र बच्ने पनि सम्भावना भएर नै मान्छे चोर्न तयार हुने हो । यसलाई अनैतिक वा गैरकानुनी तरिका त भन्न सकिएला, तर तरिका नै होइन भन्न मिल्दैन । के हामी नेपालीलाई यो तरिकाले धनी हुने अवसर छ ? के हामी यस्तो गर्न तयार छौं ? के जसरी भए पनि हामीलाई धनी हुनै परेको हो ? देशको रूपमा यो अवसर हामीलाई इतिहासले दिएको छैन । दिएको भए के हुन्थ्यो भन्न सकिन्न । व्यक्तिका रूपमा मानिसले यो उपाय अस्तित्व रहेसम्म छोड्ने छैन, धेरै र थोरैको कुरा मात्र हो ।

दोस्रो तरिका हो अपुताली परेर । साउदी अरब २०औं शताब्दीको सुरु ताका एक तन्नम मुलुक थियो । सन् १९३८ मा तेलको खानी फेला परेपछि यो देशले आप्mनो जीवनस्तरमा कायापलट नै ग-यो । तेलले मात्र त धनी हुन सकिन्न नै । तर, तेलबिनाको धनी साउदी हाललाई कल्पना पनि गर्न सकिन्न । साउदी अरबमा न नागरिक स्वतन्त्रता छ, न वाक् स्वतन्त्रता छ, न महिला समानतामा कुरा गर्न पाइन्छ, न त चुनाव नै हुन्छ ! तर मानिसहरू निकै धनी छन् । देश संसारकै धनी र निकै शक्तिशाली पनि छ ।

अन्य यस्ता कैयौं उदाहरण भेटिन्छन् । व्यक्तिलाई चिठ्ठा परेर होस् वा रुसको जस्तो प्राकृतिक साधनको भएर होस् अथवा जन्मिँदै पैतृक सम्पत्ति पाएर होस् वा आफूसँग भएको सामान्य वस्तुको मूल्य अचानक आकासिएर होस्, यी सबै अपुतालीकै प्रकार हुन् । अपुताली परेर धनी हुन नेपालले कुनै अवसर पाएन । त्यस्तो अवसर संसारमा सबैले खोजी गरिरहेका हुन्छन् । व्यक्तिलाई यदाकदा चिठ्ठा परेका उदाहरण पनि भेटिने गरेको छ । यसरी धनी हुनु कतिको दिगो हुन्छ भन्ने प्रश्न भने बेग्लै हो ।

पूर्वसोभियत संघ, चीन र मध्यपूर्वका तानाशाही व्यवस्थालाई पनि धनी हुने तेस्रो तरिकाको रूपमा हेर्न सकिन्छ । स्रोत र साधनको केन्द्रिकृत र एकाधिकारपूर्ण नियन्त्रण र प्रयोग गरेर धनी भएका देशहरू वा मानिस पनि भेट्न सकिन्छ । स्रोतमाथि एकाधिकार कायम गरेर कति धनी हुन सकिन्छ, त्यो अर्कै प्रश्न हो । तर, धनी बन्न भने पक्कै सकिन्छ । त्यस्तो धन कति चीरस्थायी हुन्छ, त्यो फेरि अर्को प्रश्न हो । तर, त्यसरी धनी हुने देशले चुकाउने मूल्य चाहिं छर्लंगै छ । राज्यले स्रोत र साधनमा एकाधिकार कायम गर्न राजनीतिमा एकाधिकार कायम नगरी सम्भव हुँदैन । आर्थिक स्वतन्त्रताबिना राजनैतिक स्वतन्त्रता सम्भव हुँदैन । राजनैतिक स्वतन्त्रताबिनाको आर्थिक स्वतन्त्रताको भविष्य कस्तो हुन्छ त्यो पनि स्पष्ट छैन । के हामी पनि धनी हुन हाम्रा सबै स्रोतमाथि कसैलाई (विज्ञ समूह वा राजनैतिक पार्टी वा नेता) एकाधिकार कायम गर्न दिन तयार छौं ? देश धनी हुन्छ भने हाम्रो आय वा सम्पत्ति सबै राज्यलाई बुझाउन हामी तयार हुने हो ? हो हामी धेरै नेपालीलाई जसरी पनि छिटो धनी हुनु छ, तर के उक्त आर्थिक एकाधिकार कायम गर्न आवश्यक राजनैतिक र नागरिक अधिकारको कटौती हामीलाई मन्जुर छ ? मन्जुर हुनेहरूको बहुमत भएको दिन हामीले अकल्पनीय राजनैतिक दुर्घटना भोग्नुपर्ने छ ।

चौथो तरिका भनेको गरिबले धनीसँग रणनैतिक साझेदारी गरेर धनी हुने हो । यो तरिकामा एउटा गरिब र सानो देशले अन्य शक्तिशाली देशसँग रणनैतिक साझेदारी गर्छन् र लगानी र स्रोतको सरल आयात गर्ने गर्छन् । यसरी निकै छिटो धनी भएका देशमा दक्षिण कोरिया, साउदी अरब, जापान, युरोपका केही देश र भुटान आदि पर्छन् । यसमा दक्षिण कोरिया जस्तो देशै टुक्रिने, भुटान जस्तो आफ्नै नागरिकलाई देशबाट खेद्ने, जापान जस्तो २०औं हजार विदेशी सेनासहितको अखडा देशभित्र खोल्न दिने, जीबुटी र भुटान जस्तो देशको सर्वभौमसत्तामा सम्झौता गर्ने र देशको स्रोत र साधनमा कुनै एक शक्तिराष्ट्रको एकाधिकार कायम गर्न दिने आदि कुरा पर्दछन् । यी देशहरू छिटो विकास हुनुको एक मात्र कारण रणनैतिक साझेदारी भने होइन । आममानिसले पनि यो तरिका प्रयोग गरेर धनी हुन सक्छ । के हामी यसरी नै भए पनि छिटो धनी हुने हो ? छिटो धनी हुने यो बाटो अपनाउन माथि उल्लेखित मूल्य चुकाउन हामी तयार हो ? हाम्रो राष्ट्रवादमा यो कुरा पर्छ कि पर्दैन ? पर्दैन भने, दक्षिण कोरिया र भुटानको उदाहरण किन दिनू !

पाचौं तरिकाबाट धनी हुन केवल दुईवटा मूल्य चुकाउनुपर्छ । त्यो हो समय र परिश्रम । अन्य उपायमा पनि श्रम, मेहेनत, विज्ञता र विवेक सबै आवश्यक पर्दछ । तर, यो तरिकाबाट छिटो धनी हुन चाहिं सकिँदैन । चोरेर, अपुताली हात पारेर, एकाधिकार स्थापित गरेर वा धनीसँग रणनैतिक सम्झौता गरेर छिटो धनी हुन सकिन्छ । पाचौं तरिकाअन्तर्गत यस्तो कुराको उत्पादन गर्नुपर्छ, जुन कुरा अरूले हामीसँग किन्न मन पराउँछन् । हाम्रो देश पर्यटकलाई मन पर्ने र स्वेच्छाले उनीहरू यहाँ खर्च गर्न तयार भएर नै नेपालमा पर्यटन व्यवसाय फस्टाएको हो र हामीले केही धनको स्वाद चाख्न पाएका हौं । प्रायः लोकतान्त्रिक देशहरू यसैगरी धनी भएका छन् । हुन त हरेक देशले वा मानिसले पाँचै तरिका कुनै न कुनै अंशमा प्रयोग गरेकै हुन्छन् । तर, धेरै हदसम्म पाँचौं विधिमा भर पर्नेहरूको धन दिगो, लोकतान्त्रिक र धार्मिक हुन्छ । यसमा बल प्रयोग गर्ने आवश्यकता निकै कम हुन्छ वा हुँदैहुँदैन । स्वेच्छाले उत्पादन गर्ने र स्वेच्छाले खरिद बिक्री गर्ने हो । यसको बोध भएपछि मान्छे होस् वा देश, युद्ध र द्वन्द्वधन्दा व्यवसाय र व्यापारमा लागेको देखिन्छ । प्रसस्त पारस्परिक व्यापारमा लागेका दुई लोकतान्त्रिक देशहरू युद्धमा गएको कुनै उदाहरण नै भेटिन गाह्रो छ । जो आफू गरिब हुनुको जायज नाजायज पुराना कारणहरू बिर्सेर यो बाटोमा आघि बढ्छ उसले ढिलै भए पनि, धार्मिक तरिकाबाट, नागरिक अधिकारको हनन् नगरिकन र लोकतान्त्रिक तरिकाबाटै धनी हुने बाटो समात्छ ।

हामीलाई धनी हुने सबै बाटाहरू खुला छन् । तिनका लागतको सही मूल्यांकन गरेर जतातिर पनि हामीले पाइलाहरू चाल्न सक्छौं, व्यक्तिका रूपमा होस् वा देशका रूपमा । स्वामी सत्यानन्द सरस्वतीद्वारा रचित ईशावाश्योपनिषद्को १८औं श्लोकमा भने जस्तै धनी हुन मानिसका लागि धेरै तरिका र दाउ उपलब्ध छन्, तर धनी हुने धार्मिक बाटो पहिल्याउनु उचित हो ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका ५ पत्रकार चुनाव लड्दै, महासंघका निवर्तमान अध्यक्ष वडा सदस्यमा