दोहा । सोमबार अबेर इजरायलस्थित नेपाली दूतावासले इजरायलबाट फर्किन ३ सय ५० बढीको आवेदन, १ सय २७ लाई सुरक्षित स्थानमा सारियो भनी एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गरायो ।
दूतावासका अनुसार इजरायलमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ । इजरायलको उत्तरी सिमाना आसपास रहेका उनीहरूलाई थप सुरक्षित स्थानमा सारिएको दूतावासले जनाएको हो ।
यसअघि गाजाको सीमावर्ती क्षेत्रमा कृषि फार्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीलाई सुरक्षा संयन्त्रको सहयोगमा उद्धार गरी थप सुरक्षित ठाउँमा सारिएको थियो ।
नेपाल फर्किन चाहने इच्छुक नेपाली नागरिकहरूको स्वदेश फिर्तीका लागि दूतावासबाट सुरु गरिएको अनलाइन रजिस्ट्रेसनमा ३ सय ५० भन्दा बढीको विवरण प्राप्त भएको पनि दूतावासले जनाएको छ ।
तर, दूतावासले भनेअनुसार काम नभएको त्यहाँ रहेका धेरै नेपालीले गुनासो गरेका छन् । दूतावासले गलत सूचना सम्प्रेषण गरेर पीडितहरूको आँखामा छारो हाल्ने काम गरेको उनीहरू बताउँछन् । मंगलबार भिडियोमार्फत उनीहरूले आफूहरू नेपाल फर्कन चाहेको भन्दै तत्काल उद्धार गर्न माग गरेका छन् ।
उनीहरूले भनेका छन्, ‘हामी यहाँ खाना पाएका छौं, बस्न पाएका छौं तर कतिबेला माथिबाट आक्रमण गर्छ भन्ने पत्तो छैन, नेपाल सरकारले रेस्क्यु गरे हामीलाई राम्रो हुन्थ्यो, सरकारले मिटिङभन्दा पनि उद्धारको कार्य तत्काल अगाडि बढाओस्, यहाँ अरू मुलुकले आक्रमण गर्दै छ भन्ने हामीले सुनेका छौं, यसले हामीलाई थप त्रसित बनाइरहेको छ ।’
उनीहरूले उद्धारका लागि नेपाली दूतावासमा फोन गर्दा पैसा कसले तिर्छ भन्ने जवाफ आएको गुनासो गरे । उनीहरूले उद्धार गर्न आवश्यक रकम सरकारले जुटाउन नसक्ने भए आफूहरूले जुटाउने समेत बताएका छन् ।
‘दूतावासमा फोन गर्दा पैसाको जिम्मा कसले लिने भन्ने जवाफ आयो, हामी पैसा तिर्न तयार छौं, सरकारले पैसाको जिम्मा लिन सक्दिनँ भनोस्, हामी घरपरिवारलार्ई पैसाको जोहो गर्न भन्छौं,’ विद्यार्थीहरूको गुनासो छ, ‘हामी अब ? निःशब्द, निमुखा, निर्मम कहिलेसम्म ? उत्तर एउटै – हामी गर्दै छौं, हुँदै छ, भइरहेछ ? हामी नागरिक पनि हो कि होइन ? नेपालले हामी मरेकै चाहने हो कि ? सरकार छ ? साँच्ची छ ? हामीले गरेछ्म भनेर देखाउन लागि मात्र छ कि ? मिडिया बाजीका लागि छ ? हाम्रो डर ? बुझ्छ कसैले ? छातीमा हात राखेर भन्देऊ, बुझ्छौं ? सरकार भनिदे न हात जोड्छौं, हामी नेपाल पनि फर्किन्छम् कि, आसमा यतै बिलिन हुन्छौं ?’ उनीहरूले दूतावास गलत सूचना दिँदै प्रेस विज्ञप्तीमै रमाउँदै गरेको भन्दै आक्रोश पोखेका छन् ।
प्रेस विज्ञप्तीमा भनिएको छ, ‘यो सुरक्षित भनिएको ठाउँ नै सबैभन्दा असुरक्षित महसुस हुन्छ हामीलाई, जुन ठाउँमा कंक्रिटको छानो छैन, जस्ताको छानोमुनि बास छ, लुक्नलाई एउटा बंकर छैन, जुन ठाउँ सीमाभन्दा ५ सय मिटरभन्दा नजिक छ, त्यो ठाउँ कुन दृष्टिले सुरक्षित हुन्छ ? भ्रामक कुराले मुलुकमा बस्नेको आँखा टाल्न सक्ला, हामी पीडित विद्यार्थीहरूको मन टाल्दैन, कुरा धेरै संवेदनशील छ, सरकार र दूतावासले बुझीबुझी कहिलेसम्म बुझ पचाउने ?’
उता, हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका चार जनाको स्वास्थ्यवस्थामा सुधार हुँदै गएको जनाइएको छ । हराइरहेका विपीन जोशीको भने खोजी कार्यका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तीव्र पारिएको जनाएको छ । त्यहाँबाट सयौं नेपाली स्वदेश फर्कन खोजिरहेको भए पनि सरकार र दूतावासले भने समन्वय भइरहेको छ भन्ने बाहेक केही गर्न सकेको छैन ।