दसैं, दाम र दशा

सारा नेपाल दसैंको रंगमा रंगिएको छ । जताततै दसैं बजारको चहलपहल निकै बढेको छ । बसपार्क, एयरपोर्ट तथा भारतबाट नेपाल छिर्ने नाकामा देशविदेशबाट दसैं मनाउन घर फर्किने नेपालीको ठुलो भीड छ । दसैंको आगमनले केही समयका लागि भए पनि मानिसका अनेक दुःखपीडा बिर्सादिएको छ । जताततै दसैंको खुसी नै खुसीको माहोल छ ।

दसैंमा बालबालिकाको रमाइलो त झनै चचहै हुने गर्छ । नयाँनयाँ लुगामा शृंगारिएर पिंगमा मच्चिरहेका र चंगा उडाइरहेका बालबालिका यति विघ्न खुसी अन्य बेलामा विरलै देखिन्छन् । केटाकेटीका लागि त दसैं कट्कटिया दाम जम्मा गर्ने अवसर पनि हो भने निम्न तथा मध्यम परिवारका घरमुलीलाई दसैं दामको जोगाडको पिरालो हो ।

दसैं हिन्दुको महान् चाड हो । विजय उत्सवको चाड हो । असुर शक्तिमाथि दैविक शक्तिको जितका रूपमा मनाइने चाड हो । मिठो खाने, राम्रो लगाउने तथा ठुलाबडाबाट सुख र समृद्धिको आशिर्वाद लिने चाड हो । यो चाड परिवारिक पुनर्मिलन र एकताको चाड पनि हो । त्यसैले त दसैंमा देशविदेशमा रहेका नेपाली घर फर्किएर धुमधामका साथ दसैं मनाउने गर्छन् । वास्तवमा नेपाली हिन्दुहरूको महान् चाड दसैंको आफ्नै समाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक महत्व छ ।

दसैंले देशविदेशमा बसोबास गर्ने लाखौं नेपालीलाई देश, परिवार र समाजलाई सम्झाउने गरेको छ

हिन्दुहरूले मात्र होइन, नेपालका गैरहिन्दु, जसले दसैंको पूजापाठ नगरे पनि तथा टीका नलगाए पनि दसैंमा रगिंएको देशसँग प्रत्यक्षपरोक्ष कुनै न कुनै रूपमा दसैं मनाउने गर्छन् । दसैंले देशविदेशमा बसोवास गर्ने लाखौं नेपालीलाई नेपाल, आफ्नो परिवार र समाजलाई सम्झाउने गरेको छ । दसैंजस्तो चाड हँुदैन्थ्यो भने नेपाली समाज अलि खल्लो हुने थियो । वास्तवमा दसैं नेपालीको आफ्नै चाड हो ।

केटाकेटी तथा युवायुवतीका लागि दसैंले जति रमाइलो लिएर आएको हुन्छ, निम्न तथा निम्नमध्यम परिवारका घरमुलीका लागि दसैंले दाम (पैसा) जोगाडको पिरोलो पनि लिएर आएको हुन्छ । कृषक गोपालबहादुर थापा अहिले यस्तै पिरलोमा छन् । केटाकेटीलाई नयाँ लुगाफाटा किन्न, मासु किन्न तथा दानदक्षिणाका लागि उनलाई १५÷२० हजार जोगाड नगरी भएको छैन । यस्तै पिरलो हरि कार्कीलाई पनि छ । यसपालि त उनलाई एउटा खसी नै मार नहानी भएको छैन ।

सुकमबासी मजदुर नन्दरामका लागि दसैं सधैं कागलाई बेल पाक्यो हर्ष न विषमात् जस्तो हुने गर्छ । तर, उनका भन्ट्याङभुंटुङ भने दसैं आयो, खाउला पिउला भन्दै रमाइरहेका छन् । सिमेन्ट बोक्ने मजदुर हिराबहादुरलाई त दसैं आफ्ना लागि दशाजस्तो लाग्ने बताउँछन् । मुस्किलले दिनको ५÷६ सय रुपैयाँ कमाउने हिराबहादुरलाई एक गास छाक टार्न नै गाह्रो छ ।

हरेक वर्ष दसैंको मुखमा बाढीपहिरोका कारण घरवारविहीन हजारौं मानिसा लागि पनि दसैं दशाजस्तै हुन्छ । कसैले केही सहयोग गर्छ कि भन्ने आशामा नै उनीहरूको दसैं बित्छ ।

१४ वर्षदेखि विदेशमा बसोबास गर्दै आएकी अनिता केसी आफू जहाँ भए पनि बडादसैं धुमधामका साथ मनाउने गर्छिन् । यसपालिको दसैं उनले बेलायतमा नै मनाउने छिन् । पण्डित बोलाएर पूजाआजा गर्ने, जमारा राख्ने र कालरात्रिका दिनमा पार्टीको आयोजना हुनेछ । सो दिन नेपाली जम्मा भएर नेपाली परिकार खाएर कालरात्रि मनाउने छिन् ।

टीकाका दिनमा उनले मान्यजनबाट टीका र आर्शिवाद लिने तथा बेलायतमा नै अध्ययन छोराछोरी तथा टीका थाप्न आउने आफन्त तथा श्रीमानका सहकर्मीलाई टीका तथा आर्शिवाद दिएर तथा मिठामिठा परिकार खाएर, खुवाएर बडादसैं मनाउने उनको योजना छ ।

हाल काठमाडौंमा कार्यरत सुन्दरी (मिस इन्टरनेसनल सेकेन्ड रनर अप) तुलसा गिरी भन्छिन्, ‘दसैं रमाइलोसँग मनाउन धेरै खर्च गर्नुपर्छ भन्ने छैन । आफ्नो हैसियतअनुसारको खर्च गरेर पनि रमाइलोसँग दसैं मनाउन सकिन्छ । यदि दसैंमा ऋण काढेर अनावश्यक खर्च गर्ने, जुवातास खेल्ने, पिङ खेल्दा तथा चंगा उडाउँदा लापर्बाही गर्ने तथा आवतजावत गर्दा जोखिमपूर्ण यात्रा गर्ने हो भने दसैं दशा बन्न सक्छ ।’

तुलसाले यसपालिको दसैं आफ्नो जन्मथलोमा मनाउनेछिन् । गाउँको शान्त वातावरणमा आफन्तसँग भेटघाट गरेर, आमाबुबाको हातबाट टीका लगाएर दसैंमा रमाउने छिन् । मामाघर नगएको पनि धेरै वर्ष भएकाले यसपालि मामाघर गएर मामामाइजू तथा बिरामी हजुरबुबाको हातबाट टीका तथा आर्शिवाद थाप्ने उनको योजना छ ।

दसैंमा मासुलगायतका बासी परिकार जथाभावी कोचीकोची खाँदा अपच भई बिरामी पर्ने सम्भावना हुन्छ

डा. निलु कार्कीलाई बडादसैं निकै मन पर्छ । उनका बाआमा उनीसँगै काठमाडौंमा नै भएकाले त्यहीं नै नेपाली परम्पराअनुसार दसैं मनाउने उनको योजना छ । निलुलाई सानो छँदा निधारभरि टीका लगाउन निकै मन पथ्र्याे । तर, ठुलो भएपछि निधारमा चट्ट सानो टीका लगाउन ठीक लाग्छ । त्यसैले टीका थाप्ने बेलामा उनले सानो टीका लगाइदिन अनुरोध गर्छिन् । तर, उनका मामामाइजूले झन् हाँस्दै निधारभरि नै टीका थोपरी दिन्छन् रे ? डा. निलुलाई दसैंमा दक्षिणा दिएको मन पर्दैन । त्यसैले उनी भन्छिन्, दसैंमा दक्षिणाका रूपमा दाम नदिएर टीका र आर्शिवाद दिने चलन चलाए राम्रो हुने थियो ।

हो, दसैं नेपालीको महान् चाड हो । यस चाडलाई समाजिक सद्भावका साथ रमाइलोसँग मनाउनु हरेक नागरिकको अधिकार पनि हो । तर, यसरी दसैं मनाइरहँदा आफ्नो आर्थिक अवस्था र स्वास्थ्यको पनि ख्याल गर्नु नितान्त जरुरी हुन्छ । नत्र, तुलसाले भनेझैं दसैं दसा बन्न सक्छ ।

दसैंमा देशविदेशमा रहेका नेपालीलाई आफ्नो घर फर्किने निकै धपडी हुन्छ । त्यसैले समयमा घर पुग्न मानिसले निकै जोखिमपूर्ण यात्रा गरेको देखिन्छ । यस्ता जोखिमपूर्ण यात्राले गर्दा नै दसैंका मुखमा थुप्रै सवारी दुर्घटना घट्दै आएका छन् । यसका साथै यस्ता चाडपर्वमा मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा पनि निकै दुर्घटना हुने गर्छन् । खास गरी मोटरसाइकल दुर्घटना निकै हुने गर्छन् ।

दसैंतिहार होस् वा कुनै पनि बेला ट्राफिक प्रहरीको आँखा छलेर बिनाहेल्मेट मोटरसाइकल हाँक्ने, मोटरसाइकलमा दुईभन्दा बढी मानिस हालेर हिँड्ने, बसको छतमा बसेर वा बसको ढोकामा तथा बसकोपछि झुन्डिएर यात्रा गर्ने तथा माद्यकपदार्थ सेवन गरेर सवारी चलाउनेजस्ता जोखिमपूर्ण क्रियाकलाप गर्नुहँुदैन ।

अर्को कुरा दसैंमा मानिसहरूले पोलेको, भुटेको, तारेको मासुलगायतका थरिथरिका परिकार प्रशस्त खाने गर्छन् । मासुलगायतका यस्ता परिकार प्रायः बासी हुन्छन् । टीकाको दिनमा त मानिस टिका थाप्दै २०औं ठाउँमा खोज्दै हिँड्ने गर्छन् । यसरी जथाभावी कोचीकोची खाँदा अपच भई बिरामी पर्ने सम्भावना हुन्छ । त्यसैले दसैंमा आफ्नो पाचनशक्ति अनुरूप खानपिन गर्नुपर्छ ।

मासु खाँदा हड्डीको ख्याल गरेर राम्रोसँग चपाएर निल्नुपर्छ । नत्र, हड्डी घाँटीमा अड्किन सक्छ । नाक, कान तथा घाँटी विशेष डा. रमेश पराजुलीका अनुसार दसैंतिहार जस्ता चाडवर्पहरूमा घाँटीमा हड्डी अट्किएर अस्पताल आउने बिरामीको संख्या निकै धेरै हुन्छ । मूल कुरो अर्काको देखासिकीमा होइन कि आफ्नो आर्थिक हैसियतअनुरूप खर्च गरेर दसैं मनाउनुपर्छ । ऋणमाथि ऋणको भारी बोकेर दसैंलाई दशा बनाउनु कदापि ठिक होइन ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोकमा राेचक प्रतिस्पर्धा