बैतडी । बैतडीमा आइतबार साझँ अचानक परेको असिना पानीले धान र तरकारीबालि नष्ट गरेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पुर्चौडी नगरपालिकाका अधिकांश किसानको बालिनाली नष्ट भएको किसानहरुले बताएकाछन् ।
खेतमा चुट्न ठिक्क पारेको धान र भट्मास सबै सखाप भएको डिलाशैनी–७का मदन धामीले बताए । ढिलो छरेको धान र भट्मास नष्ट हुँदा किसनाहरु चिन्तीत बनेको उनले बताए । यस क्षेत्रमा साँझ ५ बजेदेखी असिनापानी परेको प्रजापती जोशीले बताए ।
असिनापानीले मुख्य खाद्यबालिको रुपमा धान र भट्मास नै सखाप गरिदिएपछि भोकमरीको चिन्ता बढेको उनको भनाई छ । धान र भट्मासका साथै किसानहरुले आफ्नो खेतमा लगाएको सबै तरकारी बालि समेत असिनापानीले नष्ट गरेको किसानले बताएकाछन् ।
बैतडीमा दिनभरी मौसम सफा रहेपनि साझँपख बर्षा भएको छ । बर्षाका कारण किसानहरुले आ–आफ्नो खरफागलाहरुमा काटेर सुकाएको खर घाँस समेत बगाएको छ । हिउँदको महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर बगाउदाँ किसानहरु चिन्तीत बनेका छन् । हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागालाको घाँस काटेर सुकाउने गरिन्छ ।