संक्रमित मासुबाट सावधान

मासु एक पौष्टिक आहार हो, जसमा १५ देखि २० प्रतिशत प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिन ‘बी’, पोटासियमजस्ता तत्व पनि प्रशस्त मात्रामा पाइन्छन् । यी तत्व हाम्रो शरीरलाई अत्यावश्यक तत्वहरू हुन् । तर, यसका बाबजुद मासुले धेरै किसिमका रोग पनि निम्त्याउँछ । हार्वर्ड विश्वविद्यालयमा भएको एक अध्ययनअनुसार दैनिक रातो मासुको सेवनले मुटु रोग र क्यान्सरको सम्भावना बढाउँछ । मासुमा भएको पोषक तत्वले हाम्रो शरीरमा आवश्यक पोषक तत्वको अभाव पूरा गर्छ । तर, मासु खाँदा ठिक्क र मज्जाले पाकेको मात्र खानुपर्छ, अन्यथा बिरामीसमेत पर्न सकिन्छ ।

जवान मान्छेले एक दिनमा २ सय ५० ग्रामसम्म मासु खानु राम्रो मानिने चिकित्सकले बताएका छन् । बढी मासु खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन र धेरै दिनसम्म फ्रिजमा राखेको, भुटेको वा सुकुटी बनाएर राखेको मासु पनि धेरै खानुहुँदैन ।

यसरी राखिएको मासुमा संक्रमित हुने जोखिम धेरै हुन्छ । मासुको सेवनमा जथाभावी गर्ने र होसियारी नअपनाउने हो भने अस्वस्थ मासुकै कारण हामो शरीरमा डेढ सयभन्दा बढी प्रकारका रोगको संक्रमणको खतरा हुनसक्ने चिकित्सकको भनाइ छ ।

यसका साथसाथै धेरै मासु खानाले हड्डी कमजोर हुने, आथ्राइटिस जोर्नीसम्बन्धी रोग हुने, कोलेस्ट्रोल बढ्ने तथा स्तन क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ । नेपालमा भने मासुबाट जुका पर्ने र ब्याक्टेरिया संक्रमण हुने बढी पाइएको छ । कहिलेकाहीँ ‘बर्ड फ्लु’जस्ता भाइरल रोगहरू पनि आउँछन् । मासु खाएलगत्तै फुड पोइजनिङ खानाका कारण हुने विषाक्तता भई अस्पताल धाउनेहरूको संख्या हाम्रो मुलुकमा धेरै छ । मासुबाट विभिन्न किसिमका रोग सर्न सक्छन् । ती रोगमध्ये ‘इकोलाई’, ‘सालमोनेला’, ‘परजीवी (फित्ते जुका)’, ‘टोक्सोप्लाज्मोसिस’, ‘जियार्डियासिस’, ‘नोरोभाइरस’जस्ता रोग सर्ने जोखिम हुन्छ ।

इकोलाई
इकोलाई ब्याक्टेरिया (जीवाणु) नेपालमा देखिने संक्रमणमध्ये प्रमुख हो । सामान्यतः यो ब्याक्टेरिया व्यक्ति र जनावरको पेटमा हुन्छ । इकोलाइका सबै प्रजातिले व्यक्तिको स्वास्थ्यमा हानि नपु¥याउने भए पनि कतिपय अवस्थामा भने हानि पु¥याउँछ । यसको संक्रमणका कारण पखाला लाग्ने, पिसाबको संक्रमण हुने र मिर्गौलालाई हानि गर्नेजस्तो जोखिम हुन्छ । अध्ययनअनुसार नेपालमा पिसाबको संक्रमण गराउने प्रमुख कारणमध्ये इकोलाई हुने गरेको छ । व्यक्तिमा पखाला गराउने विभिन्न संक्रमणमध्येमा इकोलाई पर्छ । इकोलाई ब्याक्टेरिया संक्रमित मासु राम्रोसँग नपकाई खाँदा स्वस्थ व्यक्तिमा ब्याक्टेरिया सरी संक्रमण हुन्छ, जसले व्यक्तिको स्वास्थ्यमा नकारात्मक असर पुगी ज्यानै जाने जोखिम हुन्छ ।

सालमोनेला
राम्रोसँग नपाकेको मासुलगायतका खाद्यपदार्थ खानाले व्यक्तिमा ‘सालमोनेला’ ब्याक्टेरिया सरी संक्रमणको जोखिम हुन्छ । संक्रमित मासु खाँदा यस्तो जोखिम हुन्छ । ज्वरो आउने, रगत मिसिएको पखाला लाग्ने, पेट दुख्ने, बान्ता हुनेजस्ता यसका लक्षण देखिन्छन् । यस्तो संक्रमण भएको अवस्थामा सालमोनेला ‘टाइफी’ र ‘पाराटाइफी’ले म्यादी ज्वरो आउने तथा टाइफाइड गराउँछ । हाम्रो मुलुकमा टाइफाइडको समस्या लिएर बर्सेनि सयौं बिरामी अस्पताल पुग्ने गरेका छन् । टाइफाइडका कारण मानिसको ज्यानै जान सक्छ ।

परजीवी (फित्ते जुका)
हाम्रो मुलुकमा परजीवीका ’boutमा धेरै चर्चा हुने गरे तापनि समस्या भने कम छैन । विशेषगरी सुँगुरको मासुबाट सर्ने ‘टिनिया’ नामको फित्ते जुकाले व्यक्तिको टाउकामा असर गरेको पाइन्छ । संक्रमित मासुका कारण टाउकामा हुने यस्तो समस्यालाई ‘न्युरोसिस्तिसर्कोसिस’को नामले चिनिन्छ । अध्ययनअनुसार नेपालमा छारे रोगजस्तो लक्षण लिएर अस्पतालमा भर्ना भएकामध्ये १६ प्रतिशत व्यक्तिमा न्युरोसिस्तिसर्कोसिसको निदान हुने गरेको छ । यस्तो समस्याबाट बच्नका लागि सुँगुर–बंगुरको मासु राम्रोसँग पकाएर खानुपर्छ ।

लामो समयसम्म फ्रिजमा राखेको, भुटेको वा सुकुटी बनाएर राखेको मासु धेरै खानुहुँदैन

टोक्सोप्लाज्मोसिस
राम्रोसँग नपाकेको मासु खाँदा सर्ने प्रमुख ब्याक्टेरिया (परजीवी) रोगमध्ये एक हो, ‘टोक्सोप्लाज्मोसिस’ । ‘टोक्सोप्लाज्मा गोन्जी’ नामक परजीवीका कारणले यस्तो रोगको संक्रमण हुन्छ । विशेषगरी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा यस रोगले छिटो आक्रमण गर्ने जोखिम हुन्छ । गर्भवती महिलामा यस रोगको संक्रमण भएको अवस्थामा गर्भपतनको जोखिम हुन्छ । त्यति मात्रै होइन संक्रमित आमाबाट जन्मिएको बच्चा शारीरिक अपांगता हुने सम्भावना त्यत्तिकै हुन्छ । त्यसैले, गर्भवती महिला विशेष सचेत हुनुपर्छ ।
ज्वरो आउने, थकित महसुस हुने, टाउको तथा शरीर दुख्ने टोक्सोप्लाज्मोसिस रोगका सुरुवाती लक्षण हुन् । संक्रमणले बढी च्याप्दै जाँदा यस्ता लक्षण कडा भई व्यक्ति बेहोस हुनेसमेत जोखिम हुन्छ । सुँगुर, खसीलगायतका मासुमा टोक्सोप्लाज्मोसिस रोगको संक्रमण बढी हुनसक्ने भएकाले मासु सफा गरी राम्रोसँग पकाएर खानुपर्छ । मासु राम्रोसँग पकाएर खानाले यस्तो संक्रमणबाट बच्न सकिन्छ ।

जियार्डियासिस
‘जियार्डियासिस’ व्यक्तिमा पखाला गराउने सूक्ष्म परजीवी हो । हाम्रो मुलुकमा यो ब्याक्टेरिया संक्रमण देखिँदै आएको छ । जियार्डियासिस ब्याक्टेरिया दिसामा हुने भए पनि राम्ररी नपाकेको मासु खाँदा पनि सर्ने जोखिम हुन्छ । यस ब्याक्टेरियाको संक्रमणको प्रमुख लक्षण झाडापखाला हो । संक्रमण भएको एकदेखि तीन सातामा यसको लक्षण देखिन्छ । व्यक्तिगत सरसफाइ तथा मासु राम्रोसँग पकाएर खाएको अवस्थामा यस रोगको संक्रमणबाट बच्न सकिन्छ ।

नोरोभाइरस
विकसित मुलुकहरूमा बढी रिपोर्ट हुने खानपानबाट सर्ने एउटा प्रमुख भाइरस हो, ‘नोरोभाइरस’ । हाम्रो मुलुकमा भने यस भाइरसको खासै खोज तथा अनुसन्धान गरेको पाइँदैन । एक अनुसन्धानअनुसार बालबालिकामा पखाला गराउने कारणमध्ये झन्डै १२ दशमलव ५ प्रतिशत नोरोभाइरस कारक भएको देखिएको छ । अध्ययनअनुसार सुँगुरको मासुमा यो भाइरस भएको पत्ता लागेको छ । पखाला लाग्ने, पेट दुख्ने, बान्ता हुने, हल्का ज्वरो आउने नोरोभाइरसका प्रमुख लक्षण हुन् । यस भाइरसको संक्रमण भएको १२ देखि ४८ घण्टामा लक्षण देखिन सुरु हुन्छ । सफा गरी राम्रोसँग मासु पकाएर खाएमा यस्तो समस्याबाट बच्न सकिन्छ ।

बर्ड फ्लुको संक्रमण
संक्रमित पंक्षीको मासुबाट बर्ड फ्लु सर्नसक्ने भएकाले कुखुराको मासु राम्ररी पकाएर मात्रै खानुपर्छ । बर्ड फ्लु संक्रमित खुखुराले हाछ्युँ गर्दा तथा खोक्दा त्यसको छिटा मानिसको मुखमा परेको अवस्थामा समेत व्यक्तिमा बर्ड फ्लु सर्नसक्छ । त्यति मात्रै होइन, विभिन्न किसिमका फ्लुको जोखिम हुन्छ । कुखुराको संक्रमित मासुबाट व्यक्तिमा ‘एच फाइभ एन वान (एच ५ एन १)’ फ्लुको संक्रमणको जोखिम हुन्छ ।

गत वर्षको अन्त्यमा इन्फ्लुएन्जा ‘ए’अन्तर्गतको ‘एच फाइभ एन वान’संक्रमणका कारण हाम्रो मुलुकमा समेत एक जना व्यक्तिको ज्यान गइसकेको छ । ‘एच सेभेन एन नाइन’ भन्ने बर्ड फ्लुसमेतको सम्भावना हुन्छ । बर्ड फ्लु संक्रमित व्यक्तिमध्ये करिब ६० प्रतिशत व्यक्तिको मृत्यु हुनसक्छ । त्यसैले, कुखुराको मासु खाँदा स्वस्थ मासु छ वा छैन भन्ने कुराको विशेष ख्याल गर्नुपर्छ । त्यति मात्रै होइन, स्वाइन फ्लु तथा हङ्कङ फ्लुको पनि जोखिम त्यत्तिकै हुन्छ । यसमा सचेत हुनु आवश्यक छ ।

मासुबाट रोग कसरी सर्छ भन्ने’bout सचेत हुनुपर्छ । अस्वस्थ तथा बिरामी पशुपंक्षीको मासु खाएमा, मासु काट्ने तथा तयार गर्ने ठाउँ फोहोर भएमा र राम्ररी फ्रिजमा भण्डारण नगरेमा, मासु काट्ने र तयार गर्ने व्यक्ति तथा हतियार स्वस्थ र सफा नभएमा, बासी तथा सडेगलेको मासु खाएमा, काँचो, पोलेको तथा नपाकेको मासु खाएमा रोग सर्छ ।

स्वस्थ मासु कसरी चिन्ने ?
यसका लागि मासु किन्ने पसल सफा गरेर राखेको छ कि छैन हेर्ने, मासु काट्दा र समाउँदा मासु तन्केको जस्तो हुन नहुने, मासु फ्रिजमा भण्डारण गरेको हुनुपर्ने, मासु हल्का गुलावी तथा हरियो प्याजी रङको हुन नहुने र असाधारण गन्ध नआएको हुनुपर्ने हुन्छ ।

कस्तो मासु खाने, कस्तो नखाने ?
यसका लागि राम्ररी पखालेको र राम्ररी पाकेको, काँचो मासु (कचिला) र पोलेको मासु (छोयला)को प्रयोग सकेसम्म नगर्ने, खुला राखेको र बासी मासु नखाने र फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु पनि सकेसम्म नखाने गर्नुपर्छ ।

मासुलाई सफा गरी राम्रोसँग पकाएर खाएमा मासुजन्य रोगको संक्रमणबाट बच्न सकिन्छ

मासु कसरी भण्डारण गर्ने ?
यस’bout निम्न कुरा थाहा पाउनुपर्छ । ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने र कहिले पनि माथिल्लो भागमा नराख्ने । माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणुहरू मासुमै हुने तरल पदार्थमार्फत् तल झर्नसक्ने हुँदा तल राखिएका अन्य खाना, सागसब्जी, फलफूल तथा तरकारीहरूमा पर्नसक्ने खतरा हुन्छ । साथै, मासुलाई अन्य पाकेका खानासँगै फ्रिजमा नराख्ने गर्दा उत्तम हुन्छ ।

मासु खाँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ?
यस’bout जानकारी हुनु जरुरी छ । हामीले सकेसम्म पोलेको मासु खानुहुँदैन । साधारण तरिकाले पकाएको वा उमालेको मासु स्वास्थ्यकर मानिन्छ । मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, कोलेस्ट्रोललगायतका समस्या भएका व्यक्तिले बोसो नभएका मासु र उसिनेर मासु खानु राम्रो मानिन्छ । उसिनेको मासुमा थोरै जिराको धुलो र कागती राखेर खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । मासु खाएपछि एकै ठाउँमा बस्नुहुँदैन, मासु खाएपछि हल्का व्यायाम गर्नुपर्छ । लगभग आधा घण्टा हिँड्दा निकै लाभ हुन्छ । रातो मासुभन्दा स्वास्थ्यका लागि सेतो मासु फाइदाजनक मानिन्छ । बोसो कम सेवन गर्न चाहनेले कुखुराको भन्दा खसीको मासुबाट बोसो छुट्ट्याएर प्रयोग गर्दा राम्रो हुन्छ । मासु खाइसकेपछि केही असहज महसुस भयो भने कागती पानी र ज्वानो पानी खान सकिन्छ ।

कस्तो र कति मासु खाने त ?
यसका लागि यी कुरामा सचेत हुनुपर्छ । हामीले जहिले पनि ताजा र सफा मासु मात्र खानुपर्छ । सातामा एकपटक मात्र मासु खानु निकै लाभदायी मानिन्छ । मासु खाँदा छाला नखानु स्वास्थ्यका लागि राम्रो हुन्छ । मासु पकाउँदा तेलको मात्रा ठिक्क मात्र लगाउनुपर्छ । सकेसम्म मासु पोलेर खानुहुँदैन ।

मासु खादा निम्न कुरामा ध्यान दिनुपर्छ । दिनहुँ मासु प्रयोग नगर्ने, हरियो सागपात, फलफूल र अन्य तरकारीहरू पनि बारम्बार खाइरहने, माथि उल्लेख भएनुसार स्वस्थ मासु पकाएर खाने र सकेसम्म मासुको प्रयोग कम गर्ने कुरामा ध्यान दिनुपर्छ । विश्वसनीय पसलबाट मात्र मासु किन्ने र आफूले तयार गर्दा सरसफाइमा ध्यान दिने गर्नुपर्छ ।

यी साधारण कुरा हुन् जसको ध्यान हामीले राख्यौं भने रोगबाट सजिलै बच्न सकिन्छ । मासुबाट सर्ने विभिन्न किसिमका रोगको संक्रमणबाट बच्नका लागि स्वस्थ मासु नै खानुपर्छ । मासुलाई सफा गरेर राम्रोसँग पकाएर खाएमा पनि मासुजन्य रोगको संक्रमणबाट बच्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन महत्वपूर्ण चरणमा