ढिलो गरेर बाहिरिन थाल्यो मनसुन

काठमाडौं । विगत केही वर्षयता मनसुन ढिलो गरेर बाहिरिन थालेको छ । यस वर्षको मनसुन पनि ढिलो गरेर बाहिरिएको छ । मनसुनको यो प्रक्रिया सन् २००० यता ढिलो गरी बाहिरिन थालेको हो । मनसुन ढिलो गरी प्रवेश गर्ने र ढिलो बाहिरिने क्रमलाई मौसमविद्हरू जलवायु परिवर्तनको दीर्घकालीन असरको रूपमा बुझनुपर्ने बताउँछन् ।

यस वर्ष सरदरभन्दा कम वर्षा

मौसमविद् राजन अधिकारी मनसुन प्रक्रिया बिग्रनुलाई जलवायु परिवर्तनसँग जोडेर हेर्न सकिने बताउँछन् । ‘जलवायु परिवर्तनका कारण मौसम ढिला भित्रिने र ढिलै बाहिरिनेक्रम दोहोरिनेक्रम बढेको छ,’ अधिकारी भन्छन्, ‘वायुमण्डल र समुद्रको सर्कुलेसनको वाष्पीकरणले पानीको चक्रमा असर पारिरहेको छ ।’

सामान्यतया १३ जुनमा भित्रिएर २ अक्टोबरमा बाहिरिने आधारमा नेपालमा १ सय १२ दिनको मनसुन अवधि रहने बताइन्छ । तर, यसपटकको मनसुन एक दिन ढिला गरी १४ जुनमा भित्रिएर १५ अक्टोबरमा पूर्ण रूपमा बाहिरिएको मौम विभागले जनाएको छ । नेपालमा सन् १९७९ मा सबैभन्दा कम ७३ दिन र सन् २००८ मा सबैभन्दा लामो १ सय ३० दिन मनसुनको अभिलेख रहेको जल तथा मौसम विज्ञान विभागको विवरण छ ।

सन् १९९५ मा औसत अवधिअगावै २ सेप्टेम्बरमै मनसुन बाहिरिएको थियो । नेपालमा मनसुन मध्य जुनमा (जेठ अन्तिमतिर) प्रवेश गरेर अक्टोबरको पहिलो साता (मध्य असोज)तिर बाहिरिन्छ । यस अवधिमा सरदर १ हजार ४ सय ७२ मिलिमिटर वर्षा हुने गरेको तथ्यांकले देखाउँछ । त्यसभन्दा १० प्रतिशत बढी वा घटी वर्षा हुनुलाई औसत मानिन्छ । यस वर्ष मनसुन अवधिमा १ हजार ३ सय ३ मिलिमिटर वर्षा भएको छ । तोकिएभन्दा १० प्रतिशतभन्दा कम पानी प¥यो भने त्यसलाई ‘ड्राई’ अर्थात् ‘सुक्खा’ मनसुन भन्न सकिने मौसमविद्हरू बताउँछन् ।

मौसममा यस किसिमको परिवर्तन नेपालमा मात्र देखापरेको भने होइन । युरोपका विभिन्न मुलुकमा उष्णलहर, अमेरिका तथा क्यानडाका विभिन्न क्षेत्रमा डढेलो, चिसा ठाउँहरूमा चरम गर्मीको समस्या उत्पन्न भएको छ । तिनको विश्लेषण गरेका विज्ञहरूले यसलाई जलवायु परिवर्तनको प्रभाव मानेका छन् ।

मुलुकमा पानी पर्ने प्रणाली र प्रक्रियामा पनि परिवर्तन आएको छ । सुक्खा हुने वा अत्यन्त वर्षा हुनेक्रम बढ्दै गएको छ । धेरै वर्षा हुने ठाउँमा कम वर्षा हुने र कम वर्षा हुने ठाउँमा धेरै वर्षा भएका घटना छन् । चरम मौसमी अवस्थाहरू पनि देखिएका छन् ।

सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि जोमसोममा २ सय १० दशमलव ७ मिलिमिटर वर्षा भएको छ, जुन सरदरको १ सय ३३ दशमलव ५ प्रतिशत हो । त्यस्तै, काठमाडौंमा १ हजार २ सय ८३ मिलिमिटर वर्षा भएको छ । जुन सरदरको १ सय ९ प्रतिशत हो । काठमाडौंमा मनसुन अवधिमा सरदर १ हजार १ सय ७६ दशमलव ४ मिलिमिटर वर्षा हुन्छ । त्यसैगरी, ओखलढुंगामा १ हजार ४ सय ९२ दशमलव १ मिलिमिटर वर्षा भएको छ, जुन सरदरको १ सय ७ प्रतिशत हो । यसपटक जनकपुरमा सरदरको आधा हाराहारी वर्षा भएको छ । यस वर्ष ६ सय ३७ दशमलव १ लिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा १ हजार १ सय ९५ दशमलव ८ मिलिमिटर हो ।

यस वर्ष धनजनको क्षति कति ?
मनसुनका समयमा मुलुकभर विपद्जन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने १ सय ६८ घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काका अनुसार मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएको छ । खड्काका अनुसार मनसुनका समयमा पहिरोका ४ सय ५९, बाढीका १ सय ४२, भारी वर्षाका १ सय ६८ र चट्याङका १ सय २३ घटना भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रामेछापमा मतगणना स्थलमा हवाई फायरः ४ जना घाइते