लमजुङ । लमजुङका वरिष्ठ समाजसेवी, ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका सल्लाहकार नरेन्द्रराज ढुंगानाको असामयिक निधन भएको छ । भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो । उनी ६८ वर्षका थिए ।
लमजुङको सुन्दरबजार नगरपालिका– ७ को तार्कुटार निवासी उनलाई पछिल्लो समयमा कलेजोमा समस्या सिर्जिएका कारण खान मन नलाग्ने र खाना नपच्ने समस्या भएको थियो । उनको पछिल्लो गत बुधबारदेखि अस्पतालमा भर्ना गरी आइसियु कक्षमा उपचार जारी थियो । तर उनलाई बचाउनका लागि गरिएका सबै प्रयास विफल भए ।
प्रहरी सहायक निरीक्षक पदबाट २०५० सालमा निवृत्त भएपछि समाजसेवाका साथै लोककला, संस्कृति तथा साहित्यको उत्थानमा सक्रियपूर्वक जुटेका थिए । हक्की स्वभावका उनी प्रष्टवक्ता एवम् स्वाभिमानी स्वभावका थिए । सदैव निर्धा, निमुखा एवम् निर्धनहरूको जीवनोत्थान र सुशासनका पक्षमा चिन्तनशील रहने उनी आफैले सामाजिक सेवाका साथै विकासका कार्यमा नेतृत्व गर्दै समय मात्र नभई निजी सम्पत्ती समेत खर्चन पछि नपर्नु उदाहरणी व्यक्तित्वका धनी थिए ।
सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले ढुंगानाको पार्थिव शरिरमा राष्ट्रिय झण्ड ओढाएर अन्तिम विदाई गरेका थिए ।
ठाडोभाका प्रतिष्ठानको सिङ्गो समिति अन्तिम विदाईका लागि घाटमा :
स्वर्गीय ढुंगानाको अन्तिम विदाई गर्न ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र उपाध्यक्ष सीता दुरा पोखराबाट श्रद्धाञ्जलीका लागि लमजुङ आएका थिए । ‘धम्पु’ र प्रतिष्ठान अध्यक्ष नवराज पहाडीले संयुक्त रुपमा प्रतिष्ठानको झण्डा ओढाएर ढुंगानाको अन्तिम विदाई गरेको थिए । त्यससमाय प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेसहित कार्यसमितिका अधिकांशको उपस्थिति थियो ।
प्रतिष्ठानका अध्यक्ष पहाडीले स्व. ढुंगानाको संक्षिप्त जीवनी’bout प्रकाश पार्दै लोक कलासंस्कृति तथा साहित्यको उत्थानका साथै समाजमा निमुखाको न्याय, सुशासनका साथै विकासका काममा दिलोज्यान दिएर लाग्ने व्यक्तित्व भएको बताए । स्व. ढुंगानाले राष्ट्रियस्तरमा ख्याति प्राप्त गरेका कलाकारलाई सम्मानका लागि विगतका पाँच वर्षदेखि ठाडोभाका– टीकाकुमारी पुरस्कार स्थापना गरि एक लाख पाँच सय पचपन्न रुपैयाँको अक्षयकोष समेत स्थापना गरिदिनु भएको, त्यसको व्याज रकमबाट चार जना सम्मानित भइसकेको जानकारी दिए ।
यसैगरी, नेपाल प्रहरीको पूर्वप्रहरी सहायक निरीक्षक समेत रहनु भएका ढुंगानको अन्तिम विदाईका लागि प्रहरी सहायक निरीक्षक विजय गुरुङ नेतृत्वको १३ सदस्यीय टोलीले अन्तिम सलामी दिएको थियो ।
त्यसअवसरमा पूर्वप्रहरी संगठनका जिल्ला प्रतिनिधि उपाध्यक्ष कमल अधिकारी, सो संगठनका केन्द्रीय सदस्य बीरसिं घले, पूर्वहवल्दार वासुदेव पाण्डेलगायतको सहभागिता थियो । यसैगरी, ढुंगाना समाजले पनि स्व. ढुंगानाप्रति छुट्टै श्रद्धाञ्जली अर्पण गरेको थियो ।
उनको जन्म हाल पालुङटार नगरपालिका– २ गोरखा स्थित मामा घरमा २०१२ साल कार्तिक ५ गते भएको हो ।