क्लोपलाई रोक्ने लिभरपुलको लक्ष्य

लन्डन । जर्मन प्रशिक्षक योर्गेन क्लोपले इंग्लिस क्लब लिभरपुलमा उत्कृष्ट समय व्यतीत गरिरहेका छन् । उनकै प्रशिक्षणमा लिभरपुलले अघिल्लो सिजनको युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो । २०१५ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट लिभरपुल आएयता ५२ वर्षीय क्लोपले लिभरपुलको प्रदर्शनमा व्यापक परिवर्तन गरिदिएका छन् ।

सुरुवाती समयमा औसतको प्रदर्शन गरे पनि लिभरपुले पछिल्लो दुई वर्षमा उत्कृष्ट प्रदर्शन गरेका छन् । अघिल्लो वर्ष इंग्लिस प्रिमियर लिगको उपाधिनजिक पुगेर पनि लिभरपुल अन्तिम समयमा चुकेको थियो । तर, यो सिजन लिभरपुल प्रिमियर लिगको ९ खेल बाँकी छँदै उपाधिनजिक उभिएको छ । लिभरपुललाई अब प्रिमियर लिग च्याम्पियन बन्न मात्रै दुई जितको खाँचो छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्वको खेलकुद गतिविधि ठप्प छ । प्रिमियर लिग ३० अप्रिलसम्मलाई स्थगित छ । त्यसपछि पनि सुरु हुने–नहुने अन्योल छ ।

क्लोपले यसअघि बोरुसिया डर्टमन्डमा पनि उत्कृष्ट समय व्यतीत गरेका थिए । उनले जर्मन बुन्डेस लिगामा बायर्नको वर्चस्व तोड्दै उपाधि जित्न सफल भएको थियो । यिनै प्रशिक्षक क्लोपलाई जोगाउन लिभरपुलले गम्भीर चासो लिएको छ । क्लबसँगको सम्झौता २०२४ सम्म रहे पनि क्लोपलाई अन्य क्लब र देशले पनि मुख्य प्रशिक्षक बनाउने प्रयास गरिरहेका छन् । जर्मन क्लब बायर्न म्युनिख, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले पनि प्रयास गरेको थियो । तर, उनी एनफिल्डमै रहे । क्लोपलाई जर्मनीको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्न प्रस्ताव पनि आएको छ ।

मिररका अनुसार जर्मनी फुटबल एसोसिएसनले सफल प्रशिक्षकका रूपमा दरिएको जोचिम लोको उत्तराधिकारीका रूपमा क्लोपलाई अनुबन्ध गर्ने प्रयास थाल्ने उल्लेख गरेको छ । लिभरपुललाई ठूलो सफलता दिलाएका क्लोपलाई लिभरपुल लामो समय क्लबमै राख्ने योजनामा छ । तर, यो क्लोपको निर्णयमा पनि भर पर्नेछ । क्लोपले भने आफू लिभरपुलमै खुसी रहेको र जर्मनी जाने विषयमा केही पनि नसोचेको बताएका छन् ।

जर्मनी राष्ट्रिय टोलीमा जोचिम लोको सम्झौता २०२२ सम्म रहेको छ । क्लोपको लिभरपुलमा सम्झौता २०२२ सम्म रहे पनि उनले यसै वर्ष थप दुई वर्षको सम्झौता नवीकरण गरेको थियो । क्लोपले एनफिल्डमा ५ वर्ष बिताइसकेका छन् । उनी म्यानचेस्टर युनाइटेडका सर एलेक्स फर्गुसन र आर्सनलका आर्सेनी विंगर जस्तै एनफिल्डमा विरासत बनाउने प्रयासमा हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी