विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३ दशमलव ३ प्रतिशतले ऋणात्मक रह्यो । अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा प्रकाशित एक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षका तुलनामा सन् २०२१ मा विश्वको अर्थतन्त्र करिब ६ दशमलव १ प्रतिशतले बढ्ने र सन् २०२२ र सन् २०२३ मा समान रूपले ३ दशमलव ६ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको थियो । उक्त प्रक्षेपण पूर्णरूपले नमिले पनि विश्व अर्थतन्त्रमा केही सुधार भयो । तर, एसिया र युक्रेनबिच युद्धका कारणले विश्वमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । जसको फलस्वरूप विश्वमा धेरै वस्तुको मूल्य मात्र वृद्धि नभई आपूर्तिमा समेत गम्भीर असर परेको छ । यसबाट विश्व अर्थतन्त्रमै असर परेकाले बिमा क्षेत्र पनि प्रभावित छ ।
वस्तुतः आज विश्वमा बिमाको महत्व दिन प्रतिदिन बढिरहेको छ । विश्वको कुल गार्हस्थ्य उत्पादनमा यसको अनुपात ७ दशमलव ८ प्रतिशत छ । सन् २०२१ मा विश्वको एक प्रतिष्ठित कम्पनी स्विसरीद्वारा प्रकाशित सिग्मा प्रतिवेदनका अनुसार सन् २०२० मा विश्व बजारमा ६२ खर्ब ८७ अर्ब अमेरिकी डलर बराबरको बिमा शुल्क संकलन गरिएको थियो ।
सन् २०२० मा विश्व बिमा बजारमा पश्चिमी राष्ट्रको वर्चस्व कायम रह्यो । उक्त वर्ष संयुक्त राज्य अमेरिकाले विश्वका सबैभन्दा बढी बिमा शुल्क अर्थात् २५ खर्ब ३१ अर्ब डलर आर्जन गरेको थियो । जुन सम्पूर्ण बिमा शुल्कको ४० दशमलव २५ प्रतिशत हुन्छ । यसैगरी, चीनले छ खर्ब ५६ अर्ब अमेरिकी डलर अर्थात्् १० दशमलव ५३ प्रतिशत योगदान गरी दोस्रो स्थान ओगट्यो ।
सन् २०१९ को तुलनामा सन् २०२० मा बिमा शुल्क संकलन लगभग ३ दशमलव ३ प्रतिशत, सन् २०२१ मा ३ दशमलव ९ प्रतिशत र सन् २०२२ मा ३ दशमलव ९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको थियो । किन्तु, विश्व जीवन बिमा बजारतर्फ सन् २०१९ को तुलनामा सन् २०२० मा बिमा शुल्क आर्जन झन्डै ८ प्रतिशतले घट्न गई २७ खर्ब ९७ अर्ब अमेरिकी डलर बिमा शुल्क आर्जन भएको थियो । विश्वको निर्जीवन बिमा बजारतर्फ सन् २०१९ को तुलनामा सन् २०२० मा सकारात्मक वृद्धि भयो ।
विकसित देशमा जस्तै कुनै पनि देशमा बिमा व्यवसाय प्रवद्र्धनका लागि पुनर्बिमा कम्पनीले महत्वपूर्ण भूमिका खेल्न सक्छ
सन् २०२० मा निर्जीवन बिमा बजार १ दशमलव ५ प्रतिशतले वृद्धि भई जम्मा ३४ अर्ब ९० अर्ब अमेरिकी डलर बिमा शुल्क संकलन भएको देखिन्छ । पछिल्लो समय उक्त शुल्क केही बढेको अनुमान छ । नेपालमा शिक्षित व्यक्तिको कमी एवं सम्बन्धित व्यक्तिको ध्यान यसतर्फ आकृष्ट नहुनाले धेरै वर्षसम्म यहाँ बिमा व्यवसाय ओझेलमा प¥यो । तर, हाल यो व्यवसायको महत्व बढ्न थालेको छ ।
नेपाल बैंकको सक्रियतामा २००८ सालमा स्थापित माल चलानी तथा बिमा कम्पनी २०१६ सालमा नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनीको नाममा परिवर्तन गरियो । २०४६ सालमा निर्जीवन बिमाको काम गर्न नेपाल इन्स्योरेन्स कम्पनी स्थापना गरियो ।
२०२४ साल पुस १ गते राष्ट्रिय बिमा संस्थान स्थापना गरियो । २०२९ सालदेखि यहाँ जीवन बिमा व्यवसाय सुरु गरियो । २०४० सालपछि निजी क्षेत्रद्वारा सञ्चालित बिमा कम्पनीको स्थापना एवं विकास निरन्तररूपले भइरहेको छ ।
नेपालमा बिमा व्यवसायको वृद्धि, विकास, नियन्त्रण र अनुगमन गर्न नियमनकारी निकायको आवश्यकता महसुस गरी तत्कालीन सरकारबाट बिमा ऐन जारी गरियो । जसअनुसार बिमा प्राधिकरण स्थापना गरिएको छ । जसबाट भविष्यमा यहाँको बिमा व्यवसाय प्रवद्र्धनमा सघाउ पुग्ने छ ।
नेपालमा बिमा व्यवसाय सुरु भएको ७२ वर्षको अवधिमा ७ प्रतिशत जनतामा मात्र बिमाको पहुँच रहेकोमा केही वर्षयता बिमा प्राधिकरणमा गरिएको संस्थागत सुधारका कारण बिमाको पहुँच केही बढेको छ । २०८८ साल असारसम्म यहाँ बिमाको दायरामा आएको जनसंख्या २७ प्रतिशत रहेकोमा उक्त वर्षको फागुन महिनासम्म यो जनसंख्या २९ प्रतिशत पुग्यो । वैदेशिक रोजगारीमा जाने व्यक्तिको जीवन बिमासमेत गणना गर्दा २०७८ साल फागुनसम्म यहाँ बिमाको दायरामा आएको जनसंख्या ३५ दशमलव ४ प्रतिशत देखिन्छ ।
आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा बिमाको पहुँच यहाँको एकतिहाइ जनसंख्यामा पु¥याउने लक्ष्य लिइएकोमा निर्धारित अवधिभन्दा अगावै उक्त लक्ष्य हासिल भयो । यति मात्र नभई २०७८ साल चैत्र मसान्तसम्ममा यहाँ विद्यमान सम्पूर्ण जीवन बिमामार्फत कुल १ करोड ९ लाख ९१ हजार ६९७ बिमालेख बिक्री भएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव ४८ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
लघुबिमा कम्पनी, बिमा सूचना केन्द्र र बिमा कलेज स्थापना गर्ने नीतिले भविष्यमा बिमा क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ
वास्तवमा कुनै पनि देशमा बिमा व्यवसाय प्रवद्र्धनका लागि पुनर्बिमा कम्पनीले महत्वपूर्ण भूमिका खेल्छन् । जुन कुरा विकसित देशमा विद्यमान उक्त कम्पनीले खेलेको भूमिकाबाट प्रस्ट हुन्छ । भारत, चीन र अन्य छिमेकी राष्ट्रमा पनि उक्त कम्पनीको भूमिका कम छैन ।
नेपालमा पनि पुनर्बिमा कम्पनीको आवश्यकता महसुस गरी २०७१ सालमा नेपाल पुनर्बिमा कम्पनी लिमिटेड स्थापना गरियो । यो पुनर्बिमा व्यवसाय गर्ने बिमकको विधिवत् इजाजतपत्र प्राप्त गरी नेपाल सरकार र बिमा व्यवसाय गर्ने जीवन बिमा कम्पनी र संस्थागत लगानीकर्ताको संयुक्त लगानीमा स्थापित भई सर्वसाधारणको समेत लगानी रहेको पहिलो पुनर्बिमा कम्पनी हो ।
नेपालमा स्वचालित बिमा कम्पनीको विदेशी पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गराउँदा ठुलो धनराशि बिदेसिने हुँदा यहाँ रहेको जीवन तथा निर्जीवन बिमा कम्पनीले बिमा गरेको २० प्रतिशत उक्त पुनर्बिमा कम्पनीमा बिमा गर्नुपर्ने व्यवस्था भएअनुसार आर्थिक वर्ष २०७७–८ मा उक्त पुनर्बिमा कम्पनीले यहाँका जीवन तथा निर्जीवन बिमा कम्पनीहरूले आआफ्ना बिमा लेखका न्यूनतम २० प्रतिशत हिस्सा स्विकारेको छ ।
नेपाल सरकारको २०७९–८० को बजेट वक्तव्यमार्फत बिमा व्यवसायलाई सामाजिक संरक्षणको एक आधारस्तम्भका रूपमा विकास गर्न गरिब, विपन्न तथा कृषि क्षेत्रलाई समावेश गर्नेगरी उपयुक्त ठाउँमा लघुबिमा कम्पनी स्थापना गर्ने, बिमा सूचना केन्द्रहरू थापना गर्ने र बिमा कलेज स्थापना गर्न प्रोत्साहन गर्ने नीतिले भविष्यमा यहाँको बिमा क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ ।
उक्त नीतिलाई व्यवहारमा उतार्न सके आगामी दिनमा बिमासम्बन्धी थप संस्थाको बिमा गर्न आवश्यक छ । जसका सबलीकरण एवं स्थायित्वका लागि नेपाल पुनर्बिमा कम्पनीको कम महत्वपूर्ण छैन । तर, यस कम्पनीको अन्तर्राष्ट्रियस्तर निर्धारण कार्य पूरा गर्न आवश्यक छ ।
हालसालै यहाँ निजी क्षेत्रबाट पनि एक पुनर्बिमा कम्पनी स्थापना गरिएको छ । जसका क्रियाकलापबाट भविष्यमा यहाँको बिमा व्यवसाय प्रवद्र्धनमा केही योगदान पुग्ने आशा लिन सकिन्छ ।