जनशक्ति किन पलायन हुन्छ ?

चाडपर्वहरू सकिएका छैनन् । दसैं भर्खर सकियो । तिहार र छठपर्व नजिकिँदै छ । यो चाडपर्वहरूको मौसम हो । तर, नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेर्ने हो भने सबैका आँखा रसाउँछन् । नेपालीहरूको महान् चाडपर्वहरू चलिरहँदा पलायन हुनेहरूको घुइँचो र लामो लस्कर देख्न सकिन्छ । भारत छिर्ने नाकाहरूमा पनि नेपालको जनशक्ति बाहिरिनेहरूको दिनहुँ लामो लस्कार देख्न सकिन्छ । तन्नेरी पुस्ताहरू किन चाडपर्वको प्रवाह नगरी मुलुक छोडिरहेका छन् ? जनशक्ति किन पलायन भइरहेको छ ? प्रशासनको ध्यान यतातिर पनि गइरहेको छ ?

हिजोआज स्वदेश वृद्धाश्रमको मुलुक कि बेरोजगार उत्पादन गर्ने कारखाना हो भन्ने सवालमा सबैको ध्यानाकर्षण हुन थालेको छ । हामीले हाम्रा सन्ततीलाई २० वर्ष पढाइमा रहेको लगानीको उपयोग विदेशले गरिरहेको छ । हाम्रा सन्ततीको ज्ञान, सीप, क्षमता र दक्षता हामीले विदेशको पाउमा सुम्पेका छौं । नयाँ पुस्ताको दक्षतालाई प्रयोगात्मक उपयोगसहित पुस्तान्तरण होइन व्यापारीकरणको संस्कृति विकास गरिरहेका छौं । कच्चा पदार्थको दर्जामा अन्तर्राष्ट्रिय बजारमा हाम्रो दक्षता बेचिरहेका छौं । त्यहाँ श्रम र दक्षतामा बिकाउको नियतबाहेक अर्को कुनै सिर्जनात्मक लक्ष्य हुँदैन । मानौं हामी आफैले हाम्रो भावी पुस्ताको रगत र पसिनाको मूल्य तोकिरहेका छौं । तर, सत्य यही हो, श्रमको मूल्य हुँदैन र माक्र्सले भनेझै मजदुरको कुनै मुलुक हुँदैन ।

प्रत्येक वर्ष ४÷५ लाख विद्यार्थी एसईई पास गर्छन् । तीमध्ये करिब ६० प्रतिशत विद्यार्थीलाई नेपालमा रोजगारको अवसर छैन । रोजगार पाउन पनि नेताको पछि लाग्नुपर्छ । पहुँच र पावर हुनुपर्छ । सरकारी कार्यालयमा करारको जागिर पाउनसमेत सबैभन्दा ठूलो भनसुन वा नेताको झोला नबोकी हुँदैन । लोक सेवाको गिन्ती मागमा अनगिन्ती आवेदन पर्ने गर्छन् । तसर्थ, २० वर्ष लगानी गरेर पढाएका हाम्रा जोशिला तन्नेरी पुस्ता रोजगारीका निम्ति स्वदेशमा नै उपेक्षित भएपछि पलायन हुन बाध्य हुन्छन् ।

हामीले हाम्रा सन्ततीको भरणपोषण र २० वर्षसम्म पढाइमा गरेको लगानीको उपयोग विदेशले गरिरहेको छ

अर्को कुरा युरोप, अमेरिका आदि राष्ट्रमा रोजगारीका निम्ति गएकाहरू त्यहाँको नियमानुसार काम गरेपछि घण्टाको श्रमनुसार ज्याला पाउँछन् । बेरोजगार भएमा रोजगार भत्ता पाउँछन् । आफ्नो श्रमको निश्चित हिस्सा कर तिर्छन् । श्रमनुसारको कर तिर्न पाउँदा गर्वसमेत गर्छन् । कमाइनुसार किस्तामा घर, गाडी किनेर सुख, सुविधा पाउँछन् । बिरामी भए राज्यले जिम्मा लिन्छ । वृद्ध अवस्थामा राज्यबाट संरक्षण पाउँछन् । यसरी राज्य नागरिकको अभिभावक भइदिएकाले त्यहाँको नागरिक हुन पाउँदा जो कोही गर्व गर्छन् । तसर्थ, दक्ष श्रमको सदुपयोग र जनअधिकारको व्यवस्थापनबाट विकसित मुलुकहरू झन् विकासको खुड्किलो उक्लिरहेका छन् ।

आज मुलुकका शासकहरू नाक ठाडो पारेर समृद्ध नेपालको कुरा गरिरहेका छन् । तर, समृद्ध नामको शब्द र यसको प्राविधिक विकासमा आकास जमिनको फरक छ । भनाइ र गराइमा सबैभन्दा भिन्नता छ । नेपालमा समृद्ध नामको शब्द सबैभन्दा सस्तो र नेताको निम्ति भोट माग्ने सबैभन्दा सजिलो अस्त्र भएको छ । अझ नेपालीहरू संसारका जुनसुकै कुनामा भए पनि श्रम गरेर रेमिट्यान्स पठाएकामा वैदेशिक रोजगारीप्रति समेत शाहकहरू गौरव गरिरहेका छन् । सत्य शासकको बुझाइमा होइन बरू नेपाली श्रमिकको इमान्दारिता वा कठोर श्रमको प्रशंसा विश्वभर हुने गरेको छ । सत्य यही हो । दैनिक हजारौं जनशक्तिको लस्कर पलायन भएको कारुणिक दृश्यले तिनको दिल छँुदैन । आँखा रसाउँदैन । शासक हुनुको हीनताबोधबाट मुटु फुलेर आउँदैन । यी सबै चरित्रबाट शासकलाई मुलुक र नागरिकप्रति कति पनि माया र उत्तरदायित्वप्रति जिम्मेवार छैन भन्ने प्रस्ट हुन्छ । तिनै शासकहरू राष्ट्र र राष्ट्रप्रेमका कुरा आज पनि गर्छन् । चुनावी एजेन्डाका सबैभन्दा खुराक बनाएका छन् ।

पहिला यो मुलुक निर्यातित राष्ट्र थियो । खाद्यवस्तुहरू छिमेकी मुलुकमा निर्यात हुन्थ्यो । गाउँ सहरमा बलिया पाखुरा थिए । तन्नेरीहरू प्रशस्त थिए । खेतबारीमा बाह्रै महिना केही न केही फलिरहन्थ्यो । फूलिरहन्थ्यो । कृषिबालीको मगमगाउँदो हावा पहाडहरूमा चलिरहन्थ्यो । आज नेपालीहरूले खाद्यलगायत अधिकांश कुरा आयात गरेर आफ्नो दैनिक व्यवहार चलाउनुपरेको छ । कुचो र गुन्द्रुकसम्मका सामग्री आयात गरेर व्यवहार चलाउनुपर्ने स्थितिमा नेपालीहरू गुज्रिरहेका छन् । अत्यावश्यक वस्तु मात्र नभई मनोरञ्जन र कृत्रिम परिकारमा समेत नेपालीहरूको सौख बढेसँगै विदेशमा रगत पसिनाबाट कमाएको धन विदेशतिर नै गइरहेको छ ।

परिवर्तनका नाममा जनशक्ति पलायनको सबैभन्दा दुःखद स्थितिमा मुलुक गुज्रिरहेको छ । यो विडम्बना हो किनकि हाम्रो श्रमले स्वदेशमा नै सिर्जनात्मक संस्कृतिको लय पक्रन सकेको छैन । सिर्जनाको श्रम बजार उत्खनन, पहिचान र बजारीकरण हुन सकेको छैन । श्रमलाई उपयोग गरेर समृद्धिको जग बसाल्न प्रशासनिक संयन्त्रहरू प्राविधिक रूपमा चुस्त छैनन् । त्यही भएर अधिकांश तन्नेरी पुस्ता आफ्नो भविष्य नेपालमा असुरक्षित भएकामा जिकिर गर्छन् र पलायन हुन बाध्य हुन्छन् । सरकारले श्रमको महŒव बुझ्दैन । नागरिकको सक्षमता चिन्दैन । योग्यता उपयोगको मामिलामा सरकार सबैभन्दा असफल छ । त्यसैले, नेपाली जनशक्ति दिनानुदिन डरलाग्दो मात्रामा विदेश पलायन भइरहेको छ ।

पछिल्लो समय नेपाली श्रमिकको आकर्षक गन्तव्यका रूपमा युरोपेली मुलुकहरू प्राथमिकतामा परेसँगै पलायन हुनेमध्ये नफर्कने जनशक्ति बढ्दै गइरहेको छ । मुलुकबाट बलिया पाखुराहरू पलायन भएर होस् या दैनिक जीवनका आधारभूत वस्तुहरू आयातको डरलाग्दो मात्रा होस्, हरेक कारणबाट मुलुक खोक्रो हुँदासमेत शासकहरू रमाइरहेका छन् । समृद्ध नेपालको नारा घन्काइरहेका छन् । कतै यहाँ निमुखा जनताभन्दा बढी नेता र तिनका झोले दलाल त छैनन् । उनीहरूकै रजगज र राजनीति नामको बहानामा लुटतन्त्रको आडमा भ्रष्टाचार मौलाइरहेको छ ।

तन्नेरी पुस्तामा स्वदेशको माया भए पनि दुईचार पैसा कमाएर जीवन गुजारा गर्न आँसु चुहाउँदै पलायन भइरहेका छन्

जनशक्ति किन पलायन भइरहेको छ ? बाँकी जनतामा राजनीति र नेताप्रति किन यति धेरै वितृष्णा बढीरहेको छ ? यी कुरा सबैभन्दा धेरै सरकारले बुझेको छ तर पनि बुझ पचाइरहेको छ । सरकारसँग जवाफदेहिताको कुनै पनि ल्याकत छैन । नेपालको गरिबी र समृद्धिको असन्तुलित गतिको निरन्तरताका कारण भ्रष्टाचार हो भन्ने कुरा सबैलाई घामजस्तै छर्लङ्ग छ ।

समग्रमा तन्नेरी पुस्तामा स्वदेशको माया भएर पनि आँशु चुहाउँदै पलायन भइरहेका छन् । वैदेशिक श्रमबाट दुईचार पैसा कमाएर जसोतसो जिन्दगी चलाइरहेका छन् । मरुभूमिको तातो घाम र भोको पेटको संघर्षमय दुःखलाई बाध्यताले सुख मानिरहेका छन् । पलायन भएका जनशक्तिको आँखामा सुन्दर, शान्त र विशाल नेपालको तस्बिर अनि हृदयमा निश्चल राष्ट्रप्रेमबाहेक बाँकी केही छैन । मानौं श्रमिकबाहेक सच्चा नागरिक संसारमा अरू कोही हुँदैनन् । हाम्रा जनप्रतिनिधि छान्ने अधिकारमा वैदेशिक श्रममा रहेका नागरिकलाई उपेक्षित गर्छौं, तर संसारमा छरिएका श्रमिकले रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्रमा दिएको योगदानको हिस्सा मूल्यांकनको प्राथमिकतामा किन पर्दैन ? योग्य र दक्ष जनशक्तिलार्ई श्रम बेच्न पठाउने अनि नागरिकको अधिकारबाट श्रमिकलाई वैधानिक रूपमै बञ्चित गराउने व्यवस्था र प्रणाली श्रमिकमैत्री किमार्थ छैन ।

राज्यप्रणाली मुलुकको भौगोलिक, सामाजिक, सांस्कृतिक संरचनामा सन्तुलित हुनुपर्छ । अन्यथा परिवर्तनको नाममा जबर्जस्त शासकमैत्री संरचना स्वीकार गराउन बाध्य पारिएता पनि त्यस्तो संरचनाको आयु कम अवधिको हुन्छ । सामान्ती, दलाल, पुँजीपति वर्गलाई लाभ हुनेगरी गरिब जनताको छातीमा जबर्जस्ती उभ्याइएको परिवर्तन नामको संरचनाको जरा नयाँ पुस्ताले वा लोकहितविरुद्धको शासनको चपेटाबाट विस्फोट हुनबाट गुज्रेको समयको ज्वालामुखीले जसरी पनि उखेलेर फाल्छ । अहिले हाम्रो संघीयतामाथि उठेका प्रश्न, शंका र शंसयले मुलुकको प्रशासनिक प्रणाली सामाजिक संरचनामैत्री नभएको हो कि भन्ने आशंका उत्पन्न हुन्छ । तसर्थ, हाम्रा प्रशासनिक प्रणालीहरू पनि जनशक्ति पलायनलाई रोकेर श्रमको व्यवस्थापन गर्नसक्ने खालको प्राविधिक रूपमा चुस्त दुरुस्त हुनुप¥यो, जसले नयाँ पुस्तालाई पलायन हुनबाट रोक्न सकोस् ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाका आठ स्थानीय तहका प्रमुख र उपप्रमुखमा ६५ जनाको उम्मेदवारी