बेनीका किसानकाे दुःख, भैसी दुहुँदै भैसीलाई दुध खुवाउदै

बेनी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसँगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएका कारण खपत हुन छाडेसँगै उत्पादन भएको दूध गाइभैँसीलाई नै खुवाउनुपर्ने बाध्यता आएको कृषकहरुको गुनासो छ ।

अठार वर्षदेखि व्यावसायिकरूपमा भैँसीपालन गर्दै आएका बेनी नगरपालिका–६ बाँसबोटका कृषक दुर्गाप्रसाद पौडेलले दैनिक १०० लिटर बढी दूध खेर गएको दुःखेसो पोखे । सत्र वटा भैँसी पालेका वरदान पशुपक्षी फार्मका सञ्चालक पौडेलले २५० लिटर बढी दूध उत्पादन हुने गरेकामा खपत घटेपछि दूधलाई व्यवस्थापन गर्न समस्या आएको बताए। बिहान उत्पादन भएको दूधमध्ये दैनिक ८० लिटर बजारमा ल्याएर बिक्री गर्ने गरे पनि बाँकी १०० लिटर बढी दूध दैनिकरूपमा खेर जाने गरेको उनकाे भनाइ थियाे । “केही दुधलाई कुराउनी, पनिर बनाएर सदुपयोग गर्ने कोसिस गरेको छु, तर त्यो पनि विक्री गर्न कठिनाइ छ, विक्री नहुने दूधलाई पाडापाडी र भैँसीलाई नै खुवाउने गरेको छु”, पौडेलले भने ।

कृषकहरुले आफूले उत्पादन गरेको दूधलाई बजारमा डेरीमा प्रतिलिटर १०० र फुटकर १२० रुपैयाँमा बिक्री गर्दै आएका छन् । व्यावसायिकरूपमा गाईभैँसी पालन गर्दै आएका अर्थुङ्गेका युवा कृषक कमल पौडेलले उत्पादन भएको आधाभन्दा बढी दूधलाई खेर फाल्नुपर्दा ठुलो नोक्सानी व्यहोर्नुपरेको बताए । “मेरो फार्ममा एउटा गाई र नौ भैँसी छन्, दैनिक ८० लिटरसम्म दूध उत्पादन गर्छु, आधा पनि खपत हुन्न, बाँकी दूध भैँसीलाई नै खुवाउने र खेर फाल्नुपर्ने बिडम्बना आएको छ”, उनले भने । बेनी बजार आसपासका कृषकहरुले दैनिक उत्पादन गर्ने दूधको ६० प्रतिशत उत्पादन खेर गएको बेनी नगरस्तरीय एकता दुग्ध उत्पादक तथा गाईभँैसी स्रोत केन्द्र विकास समितिका अध्यक्ष जीवनप्रसाद पौडेलले बताए “बजार बन्द जस्तै छ, दूध लैजान समस्या त छैन, तर खपतै नहुने भएपछि कहाँ लगेर बिक्री गर्नु ?”, उनले भने । बजारमा केही डेरी पसलहरु सञ्चालनमा आए पनि माग न्यून भएकाले उत्पादन भएको सबै दूध बिक्री गर्न नसकिएको पौडेलको भनाइ छ ।

छ वटा भैँसी पाल्दै आएका कृषक पौडेलले दैनिक ६० लिटरभन्दा बढी दूध उत्पादन हुने भए पनि त्यसको आधा पनि बजारीकरण गर्न नसकेको बताए । बेनी नगरक्षेत्रमा मात्रै दुई दर्जनभन्दा बढी कृषकले व्यावसायिकरूपमा दूध उत्पादन गर्ने गरी गाईभैँसी पालन गर्दै आएका छन् । समितिका अनुसार सामान्य अवस्थामा बेनी बजारमा मात्रै दैनिक १५ सय लिटरको हाराहारीमा दूध खपत हुने भए पनि अहिले त्यसको ४० प्रतिशत मात्रै खपत हुने गरेको छ । बेनी नगरपालिकासँगै जिल्लाको रघुगङ्गा, मङ्गला र मालिका गाउँपालिकामा समेत व्यावसायिकरूपमा गाईभैँसी पालन हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अफताव आलमको छोरा राजपुर मेयरमा निर्वाचित