डिप्रेसनको चपेटामा कलिला मस्तिष्क

विराटनगरका एक जना व्यक्तिले आफ्नो १० वर्षको छोरो, सृजन (नाम परिवर्तन)लाई काठमाडौंको एक चर्चित बोर्डिङ स्कुलमा भर्नाका लागि ठुलो तयारी गरेका थिए । घरमै ट्युटर राखेका थिए । तर, सृजन प्रवेश परीक्षामा अनुत्तीर्ण भए । तर उनीसँगै गइकी सृजनकी छिमेकी साथी अमृता (नाम परिवर्तन), जसले ४ कक्षामा सृजनले भन्दा थोरै नम्बर ल्याएकी दिइन्, भने उत्तीर्ण भइन्, जसले गर्दा सृजनका बाबुआमा सृजनदेखि आगो भए, सृजन पनि निकै खिन्न थियो । सृजन अनुत्तीर्ण भएपछि उनका बाबुले यसरी गाली गर्न थाले, यो गधाका लागि मैले के के गरिनँ, घरमै ट्युटर राखें । जे भन्छ, त्यही ल्याइदिएँ । तर, यो गधाले हाम्रो नाक नै कटायो । अमृताले नाम निकाल्न सक्ने, तर यो गधाले नसक्ने ? यसलाई बढी पुलपुलाएर नै यस्तो भएको हो । अब मैले यसलाई कसरी ठीक पार्नु पर्छ भन्ने सोचिसकेको छु ।

सधैं हसमुख रहने सृजन बिस्तारै मुर्झाएको फूल जस्तो देखिन थाल्यो । बाहिर खेल्न पनि जान छोड्यो । किताब समाएर बसे पनि केही बुझ्न छोड्यो । ऊ एकान्तमा टोलाएर बस्थ्यो । स्कुल जाने बेलामा उसको टाउको दुख्न थाल्थ्यो । कहिलेकाहीं वान्ता नै हुने गर्दथ्यो । डाक्टरलाई देखाउँदा सबै रिर्पोटहरू सामान्य देखियो ।

तर, सृजनका बाबु सृजनदेखि ज्यादै क्रुद्ध थिए र भन्ने गर्थे, यसलाई केही भएको छैन । पढ्नुपर्छ भनेर यसले स्वाङ पारेको हो, वाहना बनाएको हो । तर, पनि सृजनकी आमाको मन मानेन, अनि एक आफन्तको सुझावमा सृजनलाई मनोचिकित्सक कहाँ लिएर गइन् । सृजनसँग केही छिन कुरा गर्ने बित्तिकै मनोचिकित्सकले सृजनको समस्या बुझे । सृजन डिप्रेसनको चपेटा परेको डाइग्नोसिस भयो । अनि उपचार अगाडि बढाए । बिना औषधि मनोपरामर्श (साइकोथेरापी)द्वारा नै सृजन केही दिनमै बिलकुल ठीक भए ।

युवा तथा वृद्धवृद्धा मात्र होइन कि हिजोआज सृजनझैं थुपै्र कलिला बालबालिकासमेत डिप्रेसनको चपेटामा परेका छन् । तीन÷चार वर्षका कलिला बालबालिका समेत डिप्रेस्ड हुने गरेका छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्दछ । तर, यो यथार्थ हो, वास्तवमा नेपालका बोर्डिङ स्कुलको शिक्षाले बालसंसारलाई ज्यादै कठिन र यातनापूर्ण बनाइदिएको छ ।

दर्जन किताब, कापीको भकारी, गृहकार्यको बोझ, कडा प्रतिस्पर्धा र अब्बल नम्बरको होडले कलिला मस्तिष्क डिप्रेसनले थलिएका छन्

एक दर्जन किताब, त्यत्ति नै बाक्ला कापीको भकारी भारी तथा गृहकार्यको भयंकर बोझ, कडा प्रतिस्पर्धा र अब्बल नम्बर ल्याउने होडले कलिला मस्तिष्क डिप्रेसनले नराम्रोसँग थलिएका छन्, कलिला बालबालिका हिंड्न नपाउँदै बेस्सरी थिचिएका छन् । त्यसैले त कतिपय बालबालिकाको सिक्ने क्षमता नै घट्दै गएको छ । मेमोरी नै कमजोर हँुदै गएको छ । आत्महत्या गर्ने बालबालिको संख्या पनि निकै बढ्दै गएको छ ।

हो, बालबालिकाको मस्तिष्क विकासका आधारमा उनीहरूको सिक्ने र सम्झने क्षमता कम बढी हुन सक्दछ । तर, सामान्य बालबालिकाले आफ्नो कक्षागत विषयहरू पढ्न, लेख्न तथा सिकेको याद राख्न सक्छन् । यदि पहिला पढाइलेखाइमा सामान्य देखिएका बालबालिका पछि पढाइलेखाइमा कमजोर भएका छन् भने त्यसको कारण तनाव र डिप्रेसन हुन सक्दछ । त्यो ’cause डिप्रेसनले मानिसको सिक्ने र सम्झने क्षमतामा प्रभाव पार्दछ । त्यसैले स्नायुविज्ञानको भाषामा डिप्रेसनलाई नक्कली भुल्ने रोग (सिउडो डिमेंसिया) पनि भनिन्छ ।

वास्तवमा यो भुल्ने रोग (एमेंसिया) वा डिमेन्शिया त होइन, तर त्यस्तै–त्यस्तै नक्कल देखाउने मानसिक समस्या हो । यस मानसिक समस्याले मानिसको प्रक्रियागत मेमोरीमा त कुनै असर गर्दैन, तर फ्याक्ट मेमोरीलाई भने प्रभावित गर्दछ । उदारहणका लागि डिप्रेसनबाट पीडित व्यक्तिले जुत्ता लगाउन वा साइकल चलाउन बिर्सिंदैनन्, तर फलानो वा ढिकानोको नाम बिर्सन सक्छन्, हातमै घडी बाँधेर घडी खोजिरहेका हुन सक्छन् । मोजा हातमै समाएर हिजो राखेको मोजा कहाँ छ भनेर कराइरहेका हुन सक्छन् ? यही कारण डिप्रेसनको प्रकोपमा परेका बालबालिका पढेको राम्रोसँग बुझ्न सक्दैनन्, जे जति बुझेका हुन्छन्, त्यो पनि छिट्टै बिर्सिन्छन् ।

वास्तवमा डिप्रेसन यस्तो मानसिक समस्या हो, जसले नक्कली भुल्ने समस्या मात्र पैदा गर्दैन कि मानिसलाई नै एउटा जिउँदो लाश बनाइदिन्छ । डिप्रेसनलाई सानोतिनो समस्या सम्झनुहँुदैन, यो मनोदैहिक रोग हो, यसले मन र मस्तिष्कलाई त असर गर्छगर्छ, शरीरका सम्पूर्ण भागमा नै कुप्रभाव पार्दछ, मुटुको रोग पैदा गर्ने एउटा कारण डिप्रेसन पनि हो । त्यसैले त चर्चित राजनीतिज्ञ तथा साहित्यकार विस्टन चर्चिल, जो आफैं कुनै बेला डिप्रेसनको चपेटामा परेका थिए, ले डिप्रेसनलाई ब्लैक डग भनेका छन् ।

डिप्रेसनको मूल लक्षण भनेको उदासिनता तथा खिन्नता हो । डिप्रेसनबाट पीडित व्यक्तिको मन सधैं उदासी र निराशाले घेरिएको हुन्छ । कुनै पनि आन्नददायक घटनाले उसलाई खुसी पार्दैन । डिप्रेसनको मनस्थिति आमरूपमा हुने उदासी र निराशाभन्दा फरक हुन्छ । हरेक मानिसको दैनिक जीवनमा उतारचढाव आउँछन्, केही समय रहन्छन्, तर सुखद घटनासँगै मन पुनः खुसी हुन्छ । तर, डिप्रेसनमा चाहिं यस्तो हँुदैन । कडा खालको डिप्रेसनका रोगी कहिल्यै खुसी देखिँदैनन् ।

अतः उदासीसँगै अरूचि पैदा हुनु, आत्मविश्वासमा कमी आउनु, इच्छाहरू मरेर जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, सम्झना शक्तिमा कमी आउनु, चिडचिडापना बढ्नु जस्ता मानसिक लक्षणहरू तथा निद्रामा गडबढी, शरीरको तौल घट्नु वा बढ्नु, थकान तथा कमजोरी महसुस हुनु, कब्जा रहनु, टाउको भारी हुनु, दुख्नु, खानामा रूचि कम हँुदै जानु वा धेरै खानु, यौन इच्छामा कमी आउनु, धड्कन बढ्नु, चक्कर लाग्नु आदि शारीरिक लक्षणहरूमध्ये तीन–चार लक्षणहरू देखिएमा डिप्रेसनको शंका गर्नुपर्ने हुन्छ । यसका साथै आत्महत्याको विचार मनमा आउनु तथा आत्महत्याको कोसिस गर्नु आदिले यस समस्याको गम्भीर स्थितिलाई दर्साउँछ ।

नेपालको शैक्षिक क्षेत्र शैक्षिक माफियाका हातमा रहेकाले अभिभावकको ढाड भाँचिएका र बालबालिका किताबको भारीले थिचिएका छन्

डिप्रेसनका १५–२५ प्रतिशत रोगीहरूले आत्महत्या गरेको पाइन्छ । त्यसैले दुई सातादेखि डिप्रेसनका उपर्युक्त लक्षण देखिएमा चिकित्सकसँग सम्पर्क गरी जति सक्दो छिटो यसको उपचारतिर लाग्नु उत्तम हुन्छ । उचित औषधोपचारबाट डिप्रेसन बिलकुल ठीक हुन्छ ।

डिप्रेसन विभिन्न कारणले पैदा हुन्छ । जस्तो कि डिप्रेसन अनुवांशिक कारण, मस्तिष्क रसायनको असन्तुलन, मनोगत तथा समाजिक कारणले पैदा हुने भए तापनि अधिकांश डिप्रेसनको जड भनेको जीवनमा घटेको तनावपूर्ण तथा हृदयविदारक घटना नै हो । सृजनको केसमा सृजन पढाइलेखाइको अध्याधिक दबाब र हिनताबोधका कारण डिप्रेसनको प्रकोपमा परेको देखिन्छ । सृजन जस्तै नेपालका थुप्रै बालबालिका पढाइलेखाइको अध्याधिक दबाब, धेरै अंक ल्याउने अनावश्यक प्रतिस्पर्धा तथा कुपोषणका कारण डिप्रेसनको सिकार भएका छन् ।

कतिपय दीर्घकालीन, जीर्ण तथा खतरनाक रोगहरू, जस्तै अल्जाइमर, पक्षघात, मुटुको रोग, एचआईभी एड्स आदिका कारणले पनि डिप्रेसन देखापर्छ । हाइपोथायराडिज्म जस्ता रोगले पनि डिप्रेसनको लक्षण देखाउँछ । त्यसैले डिप्रेसनको सही पहिचान गर्नु आवश्यक छ । बेक डिप्रेसन इन्भेन्टरी(बीडीआई) सबैभन्दा सरल र प्रभावकारी डिप्रेसन टेस्ट हो । यो टेस्टबाट डिप्रेसन हो वा होइन, हो भने डिप्रेसन हल्का, मध्यम वा कडा, कस्तो खालको हो थाहा हुन्छ । यो टेस्टका लागि केवल ५–१० मिनेट समय लाग्छ ।

डिप्रेसनबाट पीडित बालबालिकालाई उचित औषधोपचार आवश्यक हुन्छ । तनाव र डिप्रेसनबाट पीडित बालबालिकालाई औषधिभन्दा पनि मनोपरामर्शद्वारा उपचार उत्तम हुन्छ । मनोपरामर्शका साथै बालबालिकाको पढ्नेलेख्ने वातावरण उचित बनाउनुपर्छ । बालबालिकाको मस्तिष्क क्षमताअनुसारको शैक्षिक, समाजिक तथा पारिवारिक वातावरण बनाउनु भनेको नै बालबालिकालाई मानसिक समस्याहरूबाट जोगाउनु हो । तर, विडम्बना के भने नेपालको शैक्षिक क्षेत्र शैक्षिक माफियाको हातमा छ । शैक्षिक माफियाकै कारण अभिभावकको ढाड भाँचिएको छ भने कलिला बालबालिका किताबको भारीले थिचिनुपरेको छ ।

यस्तो शैक्षिक वातावरणका कारण बालबालिकामा डिप्रेसन, चिन्ता तथा तनाव बढ्नु कुनै अनौठो कुरा होइन । यस कुराप्रति सरकार, समाज, शैक्षिक संस्था तथा परिवारको ध्यान आकृष्ट हुन आवश्यक छ । होइन भने नेपालमा मानसिक समस्या पीडितको संख्या दिनप्रति दिन नै बढ्दै जाने छ । यदि नेपालमा मानसिक समस्या यसरी नै बढ्दै गयो भने खै नेपालले कसरी प्रगति गर्न सक्दछ ?

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा तीन वटा वडाको मत परिणाम सार्वजनिक, कांग्रेस दुई तमलोपा एक स्थानमा विजयी