जसपा सप्तरीको आन्तरिक विवाद उत्कर्षमा

राजविराज । जसपा अध्यक्ष उपेन्द्र यादवको पुरानो निर्वाचन क्षेत्र सप्तरीमा पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

जसपाका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले सूचना नै जारी गरेर भेला रोक्न दिएको निर्देशनविपरीत बुधबार असन्तुष्ट पक्षले जिल्ला कार्य समितिकै ब्यानर राखेर ब्यापक सहभागितामा जिल्लास्तरीय कार्यकर्ता भेलाको आयोजना गरेपछि विवाद उत्कर्षमा पुगेको हो । यति मात्र होइन जिल्ला समितिका उपाध्यक्ष उमेशप्रसाद यादवको अध्यक्षतामा बुधबार नै समानान्तर ५७ सदस्यीय जिल्ला कार्य समिति गठन गरेपछि विवाद सतहमा पुगेको छ ।

जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित भेलामा जिल्ला, प्रदेश र केन्द्रसम्मका नेता सहभागी भए । असन्तुष्ट पक्षको भेलामा गत स्थानीय तहको निर्वाचनमा जसपाका तर्फबाट नगरप्रमुख तथा गाउँपालिका अध्यक्षका उमेदवार बनेका १८ मध्ये १३ पालिका उम्मेदवार पनि सहभागी भए ।

जसपाको अगुवा कार्यकर्ताको उल्लेख्य उपस्थितिले सभाकक्ष खचाखच भरिएपछि सभाकक्ष बाहिर पनि कुर्सी र पन्डालको व्यवस्था गरिएको थियो । अघिल्लो दिन जिल्ला अध्यक्ष केदार यादवले असन्तुष्ट पक्षलाई भेला नगर्न तथा सो भेला अवैधानिक र केही व्यक्तिको स्वार्थपूर्तिका लागि हुन लागेको भन्दै स्थानीय नेता तथा कार्यकर्तालाई सहभागी नहुन सूचना नै जारी गरेका थिए । तर, सो सूचनाको बेवास्ता गर्दै ठूलो संख्यामा जसपाका नेता तथा कार्यकर्ता सहभागी भएको कार्यक्रमकी प्रमुख अतिथि जसपाकी राजनीतिक कार्यसमिति सदस्य एवं पूर्वमन्त्री रेणु यादवले बताइन् । निकै नै उत्साहित देखिएकी यादवले पार्टीभित्र आन्तरिक प्रजातन्त्र कायम गर्न तथा पार्टीको गिर्दाे साखलाई जोगाउन आफूहरू विद्रोहमा उत्रिएको बताइन् । आफूहरूको विद्रोह नेतृत्वमा देखिएको तानाशाही प्रवृत्ति तथा पार्टीलाई जीवन्तता प्रदान गर्नका लागि भएको उनको भनाइ छ ।

उनले जिल्लादेखि केन्द्रसम्म नेतृत्व गर्नेहरूले लोकतान्त्रिक विधि त्यागेर मनोमानी र एकलौटी ढंगले हिँड्दा पार्टीको जनाधार कमजोर बन्दै गएको तथा कार्यकर्ता र समर्थकमा नैराश्यता बढ्दै गएको बताइन् । पार्टीमा आमूल परिवर्तनको आवश्यकता औल्याउँदै उनले यसका लागि अब नयाँ ढंगले अघि बढ्ने उद्घोष गरिन् ।

जसपाका मधेस प्रदेश कमिटीका उपाध्यक्ष शम्भू झाले संगठन कसरी बलियो बनाउने भन्दा पनि नेतृत्वले आसेपासेलाई बलियो बनाउनेतिर बढी ध्यान केन्द्रित गरेको र इमानदार कार्यकर्तालाई पाखा लगाउँदै गरेको आरोप लगाए । उनले निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म पार्टी अध्यक्ष उपेन्द्र यादवले आफू कहाँबाट चुनाव लड्ने भनी निर्णय लिन नसकेका कारण उनी आफ्नै कमजोरीले सप्तरी २ बाट गत संसदीय निर्वाचनमा पराजित बन्नुपरेको जिकिर गरे ।

जनता र कार्यकर्ताको भावनाविपरीत नेतृत्व एकलौटी ढंगले निर्णय गर्ने अनि जबर्जस्ती लाद्न खोजेकाले पार्टीको अवस्था खस्किँदै गएकाले नेतृत्वलाई सही दिशामा ल्याउन आफूहरू अघि बढेको बताए । पार्टी संगठनका लागि दिनरात खट्ने कार्यकर्ताहरूको भेलाद्वारा गठन गरिएको समिति नै आधिकारिक र वैधानिक भएको उनले दाबी गरे । उनले आफ्नो गुट वा आसेपासेलाई च्यापेर पार्टीको नेता बन्ने दुस्साहस नर्गनसमेत नेतृत्व वर्गलाई सचेत गराए ।

उमेशप्रसाद यादवको अध्यक्षतमा आयोजित भेलामा जसपा राजनीति समिति एवं मधेस प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साह, पूर्वसांसद डा. सूर्यनारायण यादव, जसपाका केन्द्रीय सदस्य दीपक यादव, जगदेव यादव, समाजवादी युवा संघका जिल्ला अध्यक्ष शिवम यादव, युवा नेता निरज मुक्ति, सत्यनारायण यादव, मो. शबिर, निलेश झा, दयानन्द गोइत, भीमराज यादवलगायतले पनि नेतृत्वमा रहेको कमजोरीका कारण पार्टी धरासायी हुनथालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका ५ पत्रकार चुनाव लड्दै, महासंघका निवर्तमान अध्यक्ष वडा सदस्यमा