सित्तैवादको नशा र नारा

डा. निरज पौड्याल

हामीलाई सित्तैमा पाइने कुरा मन पर्छ, स्वाभाविक हो । कुनै कुरा निःशुल्क देख्नासाथ हामीलाई बटुलौं बटुलौं लाग्नु पनि मानवीय गुण नै हो । धेरै कुरा सित्तैमा पाइँदैन तर हामी सकेसम्म सस्तोमा पाउने कोसिसमा भने जहिले पनि हुन्छौं । यो पनि हाम्रो स्वभाव नै हो । राजादेखि रंकसम्म र व्यापारीदेखि नेतासम्म के कसरी केके निःशुल्क गर्ने भन्ने कुरामा मग्न भेटिन्छन् हाम्रो समाजमा । आममानिस त सधंै राज्यले यो कुरा सित्तैमा, त्यो कुरा सस्तोमा दिनुपर्ने माग अलापी नै रहेका हुन्छन् । जसले जति कुरा सित्तैमा दिने कुरा गर्छ ऊ नै सर्वाधिक लोकप्रिय हुने गरेको छ । चुनाव ताका सित्तैवाद सबैभन्दा आकर्षक नारा हुने गर्छ ।

उपभोक्तालाई पनि सबै सित्तैमा र उत्पादकलाई पनि कुरा निःशुल्क नै मन पर्छ । सरकारलाई पनि दान र अनुदान सित्तैमा, वैदेशिक ऋणको ब्याज मिनाह चाहिएको छ । आमउपभोक्तालाई पानी सित्तैमा, बिजुली सित्तैमा, बाटो सित्तैमा, दुध सित्तैमा, शिक्षा सित्तैमा र स्वास्थ्य पनि सित्तैमा, कृषकलाई मल सित्तैमा, ऋण सित्तैमा, सिँचाइ सित्तैमा, बिमा सित्तैमा, वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क पासपोर्ट, टिकट र भिसा सित्तैमा, व्यापारीलाई सुरक्षा सित्तैमा, ब्याज तिर्न नपर्ने ऋण, सडकको प्रयोग सित्तैमा, कर मिनाह आदि इत्यादि । अरूलाई आफ्नो कुरा सित्तैमा दिने कुरा हामीलाई मन नपर्न सक्छ तर हामीलाई अरूको कुरा निःशुल्क पाउँदा कति आनन्द आउँछ, भन्नै परेन । निःशुल्क पार्किङ् र शौचालय कति लोकप्रिय छ काठमाडौंमा † निःशुल्क कसैले केही दिँदा कति लोकप्रिय हुन्छ ऊ शुल्क लिएर केही बेचविखन गर्ने त शोषक र माफिया नै भइहाले । पैसा लिएर स्वास्थ्य जाँच्ने र बालबालिका पढाउनेलाई त हामी दलाल र माफिया नै भन्छौं । निःशुल्क १० जनाको उपचार गर्नेको समाचार भाइरल नै हुन्छ । फलानो देशमा यस्तायस्ता सेवासुविधा निःशुल्क भएको कारणले युवा उता पलाएन भएको तर्क पनि सुनिने गरेकै छ । चाहने जति सबैलाई निःशुल्क भिसा र टिकट हुने हो भने हाम्रो देशमा कति मान्छे बाँकी होलान् ?

सित्तै वा निःशुल्क भन्ने कुरा धेरै लोकप्रिय भएको कुरामा कुनै दुविधा नै रहेन । तर, यो कस्तो दर्शन हो, यो किन लोकप्रिय छ, यो कति यथार्थमा आधारित छ र के यो वास्तवमा नै सम्भव कुरा हो त ? केके कुरा सित्तैमा पाइन सम्भव छ त ? कि केही कुरा पनि सित्तैमा दिन सम्भव छैन कि ? के सित्तै भन्ने कुरा केवल भ्रम हो त ? सित्तैमा कुरा दिन के कस्तो प्रत्यक्ष र अप्रत्यक्ष लागत हामीले बेहोर्नुपर्छ त ? यो दर्शनलाई सित्तैवाद भनेर भन्न सकिन्छ । कसैले कसैलाई मद्दत गर्नु के सित्तैवाद हो त ? के सहयोग सित्तैमा गर्न सकिन्छ ? के शिक्षा र स्वास्थ्य चाहिँ निःशुल्क हुनुपर्ने नै कुरा हो ? एउटा छान्नुपर्दा, शिक्षा छान्ने कि स्वास्थ्य ? यी यस्तै प्रश्नमा आजको लेख केन्द्रित हुनेछ ।

हाम्रो देशको एउटा जबर्जस्त लोकप्रिय अर्थ–राजनीतिक भाष्य हो, सित्तैवाद । सित्तैवाद नेपालमा मात्र लोकप्रिय भएको कुरा चाहिँ होइन । सित्तैवादका आ–आफ्नै खाले कालसापेक्ष परिभाषा, मान्यता, दर्शन र बुझाइ हुन सक्छ । अर्थशास्त्रको विद्यार्थी सबैलाई थाहा हुने कुरा के हो भने संसारमा कुनै पनि कुरा सित्तैमा पाइँदैन । देख्दा निःशुल्क देखिन सक्छ तर वास्तवमा निःशुल्क भन्ने कुनै कुरा अस्तित्वमा पाउनै सकिन्न । कुरा सशुल्क र निःशुल्कको होइन । कुरा शुल्क कसले र कुन रूपमा बेहोर्ने भन्ने मात्र हो । कसै न कसैले कुनै न कुनै रूपमा बेहोर्न त पर्छपर्छ । यो कुरा बुझ्न अब केही उदाहरणतिर लागौं ।

हामीलाई जीवनमा धेरै वस्तु तथा सेवाको आवश्यकता पर्छ । हामीलाई चाहिने कुरा हामी स्वयंले उत्पादन गर्दा हामीलाई सित्तैमा केही पाएको भान पर्न सक्छ किनकि हामीले कसैलाई केही तिरेनौं । तर, सो कुरा उत्पादन गर्दा हामीले आफ्नो श्रम, पुँजी, व्यवस्थापकीय दक्षता र जमिनको प्रयोग गरेका हुन्छौं । त्यसो नगरेर हामीले अरूका लागि यी साधन प्रयोग गर्ने हो भने हामीले अरूबाट आम्दानीका रूपमा केही कुरा पाउन सक्थ्यौं । यहाँ हामीले श्रमका रूपमा मूल्य चुकायौं आफ्नै बारीमा फलेको मकैको उपभोगका लागि । यसलाई ‘अपरच्युनिटी कष्ट’ भनिन्छ ।

पानीजस्तो अत्यावश्यक कुरा सित्तैमा कसलाई पो नचाहिने हुन्छ र ? गाउँघरमा पानी पँधेरोमा सित्तैमा पाइने देखिन सक्छ । तर, वास्तवमा त्यो पानी सित्तैमा पाइने कुरा होइन । पानी लिन हामीले खर्च गर्नुपर्ने समय अन्य काममा लगाएर गर्न सकिने आयका रूपमा हामीले पानीको मूल्य त चुकाएकै हुन्छौं । टाढा बस्नेले बढी र नजिकै घर हुनेले कम मूल्य चुकाउँछ नै । सहर बजारका पानी सित्तैमा सम्भव नभएको कुरा बुझेर नै पानी निःशुल्क हुन नसकेको हो । सम्भव हुन्थ्यो भने निःशुल्क पानीको कानुनले कति भोट बढाउँथ्यो हामी सबैलाई थाहा नै छ । खाने पानीको व्यवस्थापनमा काम गर्ने सबैले निःशुल्क काम गरे मात्र पानी निःशुल्क हुने कुरा सोच्न सकिन्छ । पानी सफा राख्न निःशुल्क सम्भव हुँदा मात्र यो सम्भव छ ।

बिजुली सित्तैमा उपलब्ध हुन केके हुनुपर्छ ? बिजुली उत्पादनको लागत शुन्य हुँदा मात्र निःशुल्क बिजुली बेच्न सम्भव हुन्छ । उत्पादन लागत शून्य हुन बिजुली उत्पादन गर्दा लाग्ने श्रमिकको ज्याला पनि शून्य हुनुपर्छ (जसलाई हामी दासप्रथा पनि भन्न सक्छौं), कच्चा पदार्थ पनि निःशुल्क नै पाइने हुनुप¥यो, पुँजी पनि निःशुल्क नै पाइने हुनुप¥यो । यी कुनै पनि कुरा सम्भव नभएर नै बिजुली सित्तैमा दिन सम्भव नभएको हो । तर, केही निश्चित मात्रामा बिजुली (वा पानी) निःशुल्क उपलब्ध गराइएको कुरा पनि साँचो हो । तर, हामीले भुल्न नहुने कुरा के हो भने कसैलाई निःशुल्क दिँदा, कसै न कसैबाट बढी शुल्क उठाइएको नै हुनुपर्छ । नहुनेलाई सित्तैमा दिँदा, हुनेबाट बढी शुल्क त उठाउनैपर्छ ।

शिक्षा सित्तैमा उपलब्ध हुन कि त शिक्षकले सित्तैमा पढाइदिनुपर्ने हुन्छ कि त करको माध्यमबाट हामीले शिक्षाको मूल्य चुकाउनु नै पर्नेहुन्छ । प्रत्यक्ष कर नलागे पनि, अप्रत्यक्ष करको माध्यमले मूल्य चुकाइनुपर्ने नै हुन्छ । अझ निजी विद्यालयमा बालबालिका पढाउनेहरूले एकातिर निजी विद्यालयको शुल्क र अर्कोतिर निःशुल्क शिक्षाका लागि राज्यलाई कर पनि तिर्नुपर्ने हुन्छ । कि नभए विदेशी करदाताले यसको मूल्य चुकाउनुपर्ने हुन्छ । स्वास्थ्य, सुरक्षा, सडक आदि कुरामा पनि यही कुरा लागू हुन्छ ।

कुनै कुरा ‘सित्तैमा’ दिँदा हुने नकारात्मक र सकारात्मक प्रभावको उचित मूल्यांकन गरेर मात्र नीतिगत निर्णय गर्नुपर्छ । पार्किङ वा पानी निःशुल्क हुँदा कस्तो प्रभाव पर्छ ? निःशुल्क कुराको सदुपयोगको साथै, धेरै दुरुपयोग पनि हुने गर्छ । निःशुल्क पानी मानिसले फजुल खर्च गर्छन्, निःशुल्क पार्किङमा सबै जना पार्किङ गर्न जान खोज्दा ट्राफिक जामको समस्या र पार्किङस्थलको व्यवस्थापन कठिन हुन जान्छ ।

उचित लाग्दा हामीले शिक्षा र स्वास्थ्यलाई करको माध्यमले लागत बेहोरेर राज्यले बालबालिकाका लागि सित्तैमा उपलब्ध गराउने गरेको हुन्छन् । सित्तैमा पाउनेले दुरुपयोग गर्ने समस्या भने शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि व्याप्त नै हुन्छ । त्यसका वाबजुद पनि निःशुल्क शिक्षा र स्वास्थ्यलाई उचित मान्ने देशहरूले यी कुरा नागरिकका लागि ‘सित्तैमा’ उपलब्ध गराएका पनि हुन्छन् ।

जे जति हामीलाई निःशुल्क भनेर दिइएको छ ती सबैको मूल्य हामीले कुनै न कुनै रूपमा चुकाएकै हुन्छौं । गरिबलाई सित्तैमा भनेर कुनै कुरा दिन धनीलाई कर लगाउन राज्यले कोसिस गर्न सक्छ । तर, त्यो करको अन्तिम भार उच्च वस्तुको मूल्यका रूपमा त्यही गरिबले पनि चुकाउनैपर्नेहुन्छ । कुनै कुरा सित्तैमा दिइने नारा भनेको करको दर बढ्ने संकेत मात्र हो । कान सिधै समात्ने कि घुमाएर भन्ने कुरामा मात्र यहाँ भिन्नता छ । त्यसैले सित्तै भन्ने कुरा केवल कल्पनामा मात्र सम्भव छ । यथार्थमा मूल्य हरेक कुराको कसै न कसैले कुनै न कुनै रूपमा चुकाउनुपर्नेहुन्छ । जसले वस्तु वा सेवाको प्रयोग गरेको छ, उसैले मूल्य चुकाउने कि त्यो प्रयोग नै नगर्ने कोही दाताले चुकाउने ? प्रश्न यति मात्र हो । सस्तो सित्तैवादको नारा केवल भ्रम हो ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन मतले हारेपछि एमालेले गर्याे पुन: मतगणनाकाे माग, मतगणना स्थगित