काठमाडौं । नेपाली वृत्तचित्र सिनेमा ‘को–हजबेन्ड’ (सहायक श्रीमान)को पोल्टामा अर्को अन्तर्राष्ट्रिय अवार्ड थपिएको छ । सो वृत्तचित्रले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ ।
क्यानडाको ३६ वर्ष पुरानो प्रतिष्ठित ‘सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एन्ड मिडिया फेस्टिबल’मा को–हजबेन्डले ३ सय अमेरिकी डलरसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो ।
क्यानडाको टोरोन्टोमा असम्पन्न सो फेस्टिबलमा को–हजबेन्डका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एसोसियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एसोसियट प्रोफेसर क्रिश्चियन ह्यामन्सले अवार्ड प्रदान गरे । अवार्ड समारोहमा प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष विश्वम्भर घिमिरेले पनि सहभागिता जनाएका थिए ।
निर्देशक पाण्डेको को–हजबेन्डले यसअघि पनि विश्वका प्रतिष्ठित चलचित्र महोत्सवमा अवार्डहरू जितिसकेको छ । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ ।
‘अमेरिकन एन्थ्रोपोलिजिकल एसोसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ वर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ । यो फेस्टिबलमा अमेरिका र क्यानडासहित विश्वका विभिन्न देशबाट ५ हजार जना मानवशास्त्रीको सहभागितामा यस बर्ष टोरोन्टो सम्मेलन केन्द्रमा सम्मेलनका साथै फिल्म र मिडिया महोत्सव आयोजना भएको हो,’ आयोजक जेनिफर कुलले बताए ।
उक्त महोत्सवमा संसारभरिबाट मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित हजारौं चलचित्र तथा वृत्तचित्रको प्रतिस्पर्धामा उत्कृष्ट ठहर गरी नेपालको विशिष्ट परिवेशमा बनेको जीवन्त वृत्तचित्र को–हजबेन्डलाई उत्कृष्ट अवार्ड घोषणा गरिएको थियो ।
‘विश्वका प्रतिष्ठित प्राध्यापक र मानवशास्त्रीको माझमा पुरस्कार थाप्न पाउँदा निकै खुसी र गर्व लागेको छ । नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफंैमा गर्वको कुरा हो । अझ त्यसमा पनि अमेरिका र क्यानडाका क्याम्पस र विश्वविद्यालयमा को–हजबेन्डलाई सन्दर्भ सामग्रीका रूपमा पठनपाठनमा सहभागी गराइदिने भएको कुरा थाहा पाउँदा निकै खुसी लागेको छ,’ निर्देशक पाण्डेले भने, ‘मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयलाई एउटा सन्दर्भ सामग्रीका रूपमा सुवर्ण अवसर समेत प्रदान गर्ने उत्कृष्ट सन्दर्भ सामग्रीका रूपमा राख्ने संस्थाका तर्फबाट घोषणा गरेकोमा आफंैमा गौरवान्वित लागेको छ ।’
साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशक पाण्डेले नै गरेका हुन् । जसको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुन् । यसैगरी, चन्द्रमान डंगोल, अविनाश लामाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन् । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् ।