बारा । बारामा मेला लगाउने विषयमा भएको झडप नियन्त्रण गर्ने प्रहरीद्वारा ८ राउन्ड हवाई फायर गरिएको छ । पचरौता नगरपालिकाको वडा नम्बर ७ बेनौलीमा मेला लगाउने विषयमा भएको झडप नियन्त्रण गर्न ८ राउन्ड हवाई फायर गरिएको हो ।
भगवान हनुमानजीको मेला लगाउन सोमवार राती १० बजे बसेको बैठकमा मेलाको नेतृत्व गर्ने विषयमा ढुङ्गा मुढा भई झडप हुदा स्थिति नियन्त्रण गर्न २ राउण्ड हवाई फायर गरिएको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
भिडलाई सामन्य गरि मेला लगाउन वतावरण मिलाइएको थियो । पुनः मेला लगाउन पुर्व गाउको ब्रहमबाबालाई पुज्ने परम्परा चल्दै आएको छ । ब्रहमबाबाको पुजा चल्दै अवस्थामा वडा नम्बर ७ बेनौलीका वडाध्यक्ष बनारसी मुखिया बिन र अर्को प्रभु पटेलबिचको समूहले विवाद गरी उग्र रूप लिएपछि प्रहरीले करिब ११ बजे पुनः दुई राउन्ड हवाई फायर गरि भिडलाई तितरवितर गरेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

दुवै समुह आफ्नै अडानमा रहेकोले स्थिति झन तनावग्रस्त देख्दा पुनः ११ बजेर ४५ मिनेटमा गाउमा कुनै पनि अप्रिय घटना नघटोस भनेर ५ राउन्ड हवाई फायर गरिएको थियो । पुनः ११ बजेर ५५ मिनेटमा अर्को गल्लीबाट आएको भिडलाई तितरवितर गर्न एक राउन्ड गरि स्थितिलाई सामान्य गरिएको न्यौपानेले बताए ।
रातीको समयमा दुई गुट बिच भएको झडपलाई नियन्त्रण गर्न प्रहरीले कुल ८ राउन्ड हवाई फायर गरेको प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी गराएका छन् । वडाध्यक्ष र पटेलको समुहले छुटा छुटै मेला लगाउन आफ्नै अडान लिएको देखेपछि शान्ति सुरक्षामा खलल नपुगोस भनेर बेनौलीमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको उनले बताए ।
झडपमा परि बेनौलीका ४० वर्षीय लक्ष्मी पटेलको टाउको फुटेको र ४२ वर्षीय चण्डीका पटेलको खुट्टा भाँच्चिएको प्रहरी उपरीक्षकले बताएका छन् । घाइते दुवै जनाको एस.एल.न्युरो अस्पताल परानीपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक काफ्लले जानकारी गराएका छन् ।
दुबै पक्षलाई साम्य गरि प्रहरीले विधिवत रुपमा बेनौलीमा मंगलवार मेला धुमधामको साथ लगाएको नगर प्रमुख जलन्धर सिहले जानकारी गराएका छन् ।