गाजापट्टी । हमास नेता इस्माइल हानियेहले इजरायलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मंगलबार बताएका छन् । यसले ७ अक्टोबरको हमलामा बन्धक बनाइएका दर्जनौं व्यक्तिलाई हमासको लडाकु समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ ।
‘हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौं,’ एएफपीलाई आफ्नो कार्यालयले पठाएको एक विज्ञप्तिमा हानियेहले भने ।
गाजामा युद्ध सुरु भएको धेरै सातादेखि वार्ताकारहरूले प्यालेस्टिनी लडाकुहरूले राखेका करिब २ सय ४० बन्धकमध्ये केहीलाई मुक्त गर्नका लागि एउटा सम्झौतामा पुग्ने प्रयास गरेका छन् ।
गत महिना हमासको कठोर हमलाका क्रममा बन्धक बनाइएका अधिकांश इजरायली छन् । तिनीहरूमा पनि केही बालबालिका र वृद्धवृद्धा छन् । बन्धक बनाइएकामध्ये केहीलाई मात्र रिहा गरिएको छ । केहीलाई इजरायली स्थल सैनिकले मुक्त गरेका छन् भने केहीको शव बरामद गरिएको छ ।
बाँकीको ठेगाना थाहा छैन । यद्यपि, हमासले गरेको सबैभन्दा घातक हमलाको जवाफमा इजरायलले लगातार बमबारी र स्थल कारबाही सुरु गरेकाले गाजामा बन्धकहरू रहेको मानिएको छ ।
हमासले ७ अक्टोबरमा आफ्नो डरलाग्दो हमलाका क्रममा करिब १ हजार २ सय मानिसलाई मारेको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए । हमासका अनुसार इजरायली हमलामा गाजामा १३ हजार ३ सयभन्दा बढी मानिस मारिएका छन् भने तिनीहरूमा हजारौं बालबालिका रहेका छन् ।
नाम नबताउने सर्तमा एएफपीसँग कुरा गर्दै हमास र इस्लामिक जिहादको स्रोतले उनीहरूको आन्दोलन युद्धविराम सम्झौताको सर्तमा सहमत भएको बताएको छ । इस्लामिक जिहाद अर्को छुट्टै प्यालेस्टिनी लडाकु समूह हो, जसले ७ अक्टोबरको हमलामा पनि भाग लिएको थियो ।
अस्थायी सम्झौतामा पाँचदिने युद्धविराम समावेश छ । यसमा जमिनमा युद्धविराम र दक्षिणी गाजामा इजरायली हवाई सञ्चालनको सीमा समावेश छ । बदलामा प्यालिस्टिनी लडाकु समूहले पक्रिएका ५० देखि सय मानिसलाई रिहा गरिनेछ । तीमध्ये इजरायली र अन्य मुलुकका मानिसलाई रिहा गरिने भए पनि कुनै पनि सैन्यकर्मीलाई भने रिहा गरिनेछैन ।
प्रस्तावित सम्झौताअन्तर्गत महिला र बालबालिकासहित करिब ३ सय प्यालेस्टिनीलाई पनि इजरायली जेलहरूबाट रिहा गरिनेछ ।
सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूलाई रिहा गर्ने सम्झौता नजिक पुगेको आफूलाई लागेको बताएका थिए । उनका अनुसार कतारको मध्यस्थतामा वार्ताको आशा बढेको छ । कतारमा हमासको एउटा राजनीतिक कार्यालय छ भने इजरायलको पनि कतारसँग पर्दापछाडि कूटनीतिक सम्बन्ध छ ।
त्यस्तै, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सोमबार आफ्ना अध्यक्षले इजरायल र गाजामा सशस्त्र संघर्षसँग सम्बन्धित मानवीय मुद्दाहरूलाई अगाडि बढाउनका लागि हमासका नेता हानियेहसँग भेट्न कतारको भ्रमण गरेको बताएको छ ।