तीनकुने शान्त, बल्खु दिनभर तनावग्रस्त

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालको ब्यानरमा दुर्गा प्रसाईंंले गरेको प्रदर्शन दिनभर तनावपूर्ण बन्न पुग्यो । प्रसाईंले आह्वान गर्ने प्रदर्शन शान्तिपूर्ण हुने भनिए पनि बिहीबार बिहानैदेखि प्रसाईंका कार्यकर्ता झडपमा उत्रिएका थिए । लाखौं मानिस सडकमा उतार्ने उद्घोष गरेका प्रसाईंले नेतृत्व गरेको प्रदर्शनमा करिब ७ हजार जनाको उपस्थिति रहेको सुरक्षाकर्मीले आँकलन गरेका छन् ।

एमालेको प्रदर्शनमा ६ हजार र प्रसाईंकोमा ७ हजार हाराहारी

अपराह्न १२ बजेपछि नेकपा एमाले समर्थित युवासंघको मोटरसाइकल -यालीमाथि प्रसाईं समर्थित कार्यकर्ताले ढुंगामुढा प्रहार गरेपछि स्थिति तनावपूर्ण बन्यो । तीनकुनेको प्रदर्शनमा हिँडेको युवासंघको टोली र प्रसाईंको कार्यकर्ताको भिडलाई प्रहरीले तितरबितर बनायो । साथै प्रहरीले माइकिङ गर्दै आआफ्नो प्रदर्शन हुने क्षेत्रमा जान भन्यो । त्यसपछि सो झडप केही समयमा रोकियो ।

झडप रोकिएपछि दुर्गा प्रसाईं प्रदर्शनलाई सम्बोधन गर्न पुगे । उनीसँगै राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि प्रदर्शनलाई सम्बोधन गर्न पुगेका थिए । प्रसाईंंको आन्दोलनलाई लिएर राप्रपामा दुई धार छ । राप्रपाको संस्थापन पक्षले प्रसाईंंप्रति अविश्वास गर्दैगर्दा संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत नेताहरूले समर्थन गर्नुपर्ने पक्षमा खुलेका थिए ।

पार्टीभित्र दुई धार भइरहेका बेलामा सांसद शाही कार्यक्रममै सहभागी भए । तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित अधिकांश नेताहरूले भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई ९ मंसिर झापामा लगेर कार्यक्रम गर्दै छन् ।

भिडलाई सम्बोधन गर्न पुगेका प्रसाईंले सुरुमा आक्रामक भाषण गरेपछि बल्खुको स्थिति तनावपूर्ण बन्न पुगेको थियो । उनले भिडलाई शान्त बनाउन भन्दा पनि उक्साउनमा जोड दिए । प्रदर्शनकारीलाई उत्तेजित बनाउँदै वर्तमान व्यवस्थाको तेजोबोध गर्ने प्रयास गरे । सुरुमै उनले मुलुकमा बस्ने वातावरण नभएको भन्दै दसैंको अष्टमीको दिन पनि नेपालीहरू विदेशमा श्रम गर्न जान बाध्य भएको यथार्थ प्रस्तुत गरे । उनले भने, ‘हामीले रुँदै झोला बोकेर दसैंको अष्टमीको दिन मुलुक छोड्नुपरेको छ, म यसको अन्त्य गर्न चाहन्छु, म त्यसै बोलेको होइन, मभित्र ठूलो पीडा छ ।’

उनले आफू दुर्गा मातालाई साक्षी राखेर यहाँ आएको भन्दै मर्न तयार रहेको तर नभाग्ने बताए । ‘दुर्गा मातालाई साक्षी राखेर म तपाईंहरूको अगाडि मर्न आएको छु, म मर्न तयार छु, म भाग्न तयार छैन,’ प्रदर्शनकारीलाई उकास्दै उनले भने, ‘म भाग्दिनँ, तपाईंहरूका छोराछोरीलाई स्वदेश फर्काएर यो मुलुकलाई फेरि पुरानो नेपाल बनाउनु छ ।’

उनले भाषणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरेन्डर गर्न आह्वानसमेत गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष पनि गरे । एमालेले युवासंघलाई प्रयोग गरेर आन्दोलनमा आएकाहरूलाई मध्यरातमा बलात्कारको प्रयास गरेको संगीन आरोपसमेत प्रसाईंले लगाए । उनले ‘यही काण्ड राधिका शाक्यलाई परेको भए के गर्नुहुन्थ्यो हजुरबुबा ?’ भन्दै कटाक्षसमेत गरे । उनले आजबाट जनविद्रोह सुरु भएकोे जिकिर गर्दै विद्रोहको बिरुवा रोपिएको बताए । उनले भोलिबाट नेताहरूलाई जहाँ भेटिन्छ, त्यही भकुर्नु भन्ने उत्तेजक भाषणसमेत गर्न भ्याए ।

साथै, उनले शुक्रबारबाट आन्दोलन जारी रहने उद्घोष गरे । उनले अब सिंहदरबार र संसद् भवन कब्जा गर्नुपर्छ भन्ने उत्तेजक भाषण गरेपछि प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर कालिमाटी जाने प्रयास गरे । यस अवस्थामा द्विपक्षीय झडप हुनपुग्यो । प्रहरीलाई प्रदर्शनकारीले ढुंगा प्रहार गरे भने प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेर अवस्थालाई नियन्त्रण लिने प्रयास गरिरह्यो । यो अवस्था पटकपटक निम्तिँदा बल्खु क्षेत्र तनावपूर्ण बन्नपुग्यो ।

प्रसाईंले नेतृत्व गरेको प्रदर्शनमा ७० प्रतिशतभन्दा बढी मानिसहरू लघुवित्तको ऋण तिर्न नसकेकाहरूको सहभागिता रहेको अनुमान गरिएको छ । न्यून मात्रामा राजावादी र प्रसाईं समर्थित कार्यकर्ता सहभागी सो प्रदर्शन व्यवस्था परिवर्तनभन्दा पनि ऋण मिनाहबाट कसरी मुक्त भइन्छ भन्नेकोे जमात रहेको आँकलन गरिएको छ ।

प्रसाईंले अहिलेको यस व्यवस्थाले गरिबलाई ऋणमा फसाएको भनेर उत्तेजित बनाए पनि सो आन्दोलनको अर्थ भने अब केही नहुने देखिएको छ । लाखौं मानिस सडकमा उतार्छु भन्ने प्रसाईंको भनाइ ७ हजार मानिसमा सीमित भएको छ । प्रसाईंको प्रदर्शनमा साथ दिनमा लघुवित्तको ऋण लागेका र केही राजावादीबाहेक अरू खासै देखिएनन् । व्यवस्था परिवर्तन गर्ने उद्घोष गर्दै शुक्रबारदेखि आन्दोलन झनै चर्काउने बताए पनि अघिल्लो दिनको उपस्थितिले उनको प्रदर्शनमा सहभागी हुनेको संख्या न्यून हुँदै जाने देखिएको छ ।

अर्कोतर्फ प्रसाईंको प्रदर्शन मियोबिनाको दाइँजस्तो भएको थियो । प्रसाईंले बोल्दा बीचबीचमा प्रदर्शनकारीले होहल्ला र नाराबाजी गरेपछि उनी आफ्नो भाषण छोट्याउन बाध्य भएका थिए । प्रसाईंले गरेको आन्दोलनको पहिलो दिन न्यून उपस्थितिबीच दोस्रो दिनबाट आन्दोलन चर्काउने भनिरहँदा प्रदर्शनमा सहभागी हुनेको संख्या दैनिक घट्दै जाने निश्चित छ । प्रदर्शनकारीलाई कमान्ड गर्ने र व्यवस्थित नगर्दा प्रहरीसँग पटक–पटक झडपको स्थिति सिर्जना हुनुले पनि उनले नेतृत्व गरेको प्रदर्शनले मूर्त रूप लिने देखिँदैन ।

यता, तीनकुनेमा भएको एमाले समर्थित युवासंघ नेपालको प्रदर्शन भने शान्तिपूर्ण बनेको थियो । प्रहरीले कुनै हस्तक्षेप गरेन । प्रदर्शनकारीहरू सुरुमा तीनकुनेमा जम्मा भए । त्यहाँबाट कोटेश्वरसम्मको फन्को लगाएर फेरि तीनकुनेमै फर्किए । त्यसपछि त्यहाँ कोणसभा गरियो, जसमा महेश बस्नेतसहित एमालेका विभिन्न जनवर्गीय संगठनका नेताहरूले भाषण गरे ।

करिब ६ हजारको संख्यामा उपस्थित युवासंघको कार्यक्रममा नेकपा एमालेका नेताहरूको उपस्थित रहेको थियो । प्रदर्शनमा एमालेका नेता महेश बस्नेत, भानुभक्त ढकाललगायतले सम्बोधन गरेका थिए । प्रदर्शनपछि एमालेका कार्यकर्ताले भुइँमा छरिएको फोहोर सफा गरेर आफ्नो गन्तव्यतर्फ लागे । यता, एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नसच्चिए सिंहदबारको कुर्सीबाट ल्याएर सडकमा पछार्ने अभिव्यक्ति दिए ।

उनले भने, ‘हामीले कानुन मान्यौं, निषेधित क्षेत्र तोडेनौं प्रचण्डजीलाई पनि चेतावनी दिन चाहन्छु तपाईं सच्चिनुभएन भने तपाईंको ३२ सिटे पार्टी र तपाईं जोगिन नेपाली जनताको भविष्य अन्धकारमय बनाउनुभयो भने सिंहदबारको कुर्सीबाट ल्याएर माइतीघरमा होकि तीनकुनेको सडकमा पछार्ने हो, त्यो तागत एमालेसँग छ ।’

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जन्तेढुङगा गाँउपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका राई निर्वाचित