राजविराज । विष्णुपुर गाउँपालिकाका शिक्षकहरुको अगुवाईमा बिहीबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । लामो समयदेखी तलब नपाएका उक्त पालिकाका शिक्षक र विद्यालय कर्मचारीहरुद्वारा गठित संघर्ष समितिको अगुवाईमा कार्यालयमा तालाबन्दी गरिएको हो ।
पालिका भित्रका सबै विद्यालयमा पठनपाठन ठप्प
संघर्ष समितिले पालिकामा तालाबन्दी सँगै बिहीबार नै गाउँपालिका भित्र रहेका सबै १८ वटै विद्यालयको पठनपाठन समेत ठप्प पारेका छन् ।
आफूहरुको माग पुरा नभएसम्म पठनपाठन अवरुद्ध राख्ने संघर्ष समितिले जनाएको छ । संघर्ष समितिका संयोजक इन्द्रदेव यादवका अनुसार पालिकाभित्र रहेका ५ मावि र १३ आधारभूत विद्यालयका करिब १ सय ७५ जना शिक्षक र विद्यालयका कर्मचारीले विगत पाँच महिनादेखी तलब पाउन सकेका छैनन् ।
लामो समयदेखी तलब नपाएको भन्दै शिक्षक र विद्यालय कर्मचारी पठनपाठन ठप्प पारि आन्दोलनमा उत्रेको शिक्षक महिनारायण यादवले बताए । विगत ५ महिनादेखी आश्वासन मात्र पाइने गरेकाले बाध्य भई पालिका कार्यालयमा तालाबन्दी नै गर्नु परेको अर्का शिक्षक रामदेव साहको भनाई छ । उनले गत साउनदेखी यहाँका शिक्षक र विद्यालय कर्मचारीहरुले तलब पाउन नसकेको सुनाए ।
चाडपर्वका बेला पनि आफूहरुले तलब पाउन नसक्दा गरगहना बन्धकी राखेर काम चलाएको र अहिले त्यसको ब्याज तिर्न पनि समस्या भएको शिक्षकहरुको गुनासो छ ।
प्रमुख प्रशासकीय अधिकृत उज्वल आनन्दले केही समयअघि सम्पन्न गाउँसभामा देखिएको केही कानुनी जटिलताका कारण समयमै शिक्षक र विद्यालय कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताए । गाउँसभा सम्पन्न भएपनि केही किचलो र कानुनी जटिलताका कारण समयमै भुक्तानी दिन समस्या भएपनि आफूहरु तलब खुवाउन लागि परेको उनले बताए । उनले समस्या समाधानका लागि बिहीबार नै प्रमुख जिल्ला अधिकारी किरण थापा, कार्यवाहक अध्यक्ष रेणु कुमारी यादव तथा पालिकाका अन्य जनप्रतिनिधिहरुको बैठक बसी समाधान खोज्ने प्रयास थालिएको जानकारी दिए । उनले भविष्यमा कुनै कानुनी झन्झट आउन नदिन आवश्यक कानुनी प्रक्रिया पुरा गरि छिट्टै तलब निकासाका लागि पहल थालिएको जानकारी समेत दिए ।
विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेकनारायण यादव हाल निलम्बित अवस्थामा छन् । एक घुस प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका हुन् । गाउँपालिका अहिले कार्यवाहक अध्यक्ष भएर उपाध्यक्ष रेणुकुमारी यादवले चलाउँदै आएकी छिन् ।
अध्यक्ष उमेश प्रसाद यादवको कार्यकालमा भएको गाउँसभा सम्बन्धमा केही कानुनी जटिलता देखिएकाले विनियोजित बजेट पनि खर्च गर्न समस्या भइरहेको र यसले गाउँपालिकाको हरेक गतिबिधीमा प्रभाव पारेको कर्मचारीहरु बताउछन् ।