सिद्धान्त, संहिता र होरा गरी त्रिस्कन्धात्मक ज्योतिषशास्त्रमध्ये होराशास्त्रअन्तर्गत जन्मांगको अध्ययन गरिन्छ । जन्मांगमा विद्यमान द्वादशभाव र तिनमा विचरण गर्ने सूर्यादि ग्रहहरूको विश्लेषण गर्दा ध्यान दिनुपर्ने सैद्धान्तिक र अनिवार्य ज्ञातव्य विषयहरू स्वल्प मात्र यहाँ प्रस्तुत गरिएको छ ।
उदित, उच्च, स्वगृहस्थ, मित्रगृहस्थ, मित्रदृष्ट वा युत, शुभदृष्ट वा युत ग्रह बलवान् हुन्छ ।
बलवान् लग्नेश लग्नमा होस् वा उसले लग्नलाई देखोस्, बली शुभग्रह लग्नमा होस् वा लग्नलाई देखोस् र लग्नमा पापग्रहको दृष्टि, युति नहोस् यस्तो लग्न बलवान् हुन्छ ।
मूलतः बलका चार प्रकार छन्– स्थानबल, दृग्बल, चेष्टाबल र कालबल ।
तिनमा नैसर्गिकबल र दृग्बल थपेर षड्बल मानिन्छ भने द्रेष्काणबल पनि समावेश गरेर कल्याण वर्माले सात प्रकारका बलको विवेचन गरेका छन् ।
षड्बल
(१) सर्वाधिक प्रचलित षड्बलमध्ये स्थानबल सिद्ध गर्नका लागि उच्चबल, सप्तवर्गीबल, युग्मायुग्मबल, द्रेष्काणबल र केन्द्रादिबल गरी यी पाँचबल आवश्यक पर्छन् ।
(२) वmुण्डलीको पूर्वमा बुध र बृहस्पति, पश्चिममा शनि, उत्तरमा चन्द्र र शुक्र, दक्षिणमा सूर्य र मंगल हुँदा ती ग्रह दिग्बली हुन्छन् । यसको विपरीत दिशामा ती ग्रह भएमा शून्य दिग्बली हुन्छन् । त्यसबाहेक अन्य भावमा ग्रह भएमा अनुपातले दिग्बल प्राप्त हुन्छ । यसमा पूर्वमा लग्न, पश्चिममा सप्तम, उत्तरमा चतुर्थ र दक्षिणमा दशमभाव पर्छ ।
(३) कालबलअन्तर्गत नतोन्नतबल, पक्षबल, दिनविभागबल, रात्रिविभागबल र वर्षादिबल गरी यी चार प्रकारका बल पर्छन् ।
(क) तीमध्ये नतोन्नतबलमा चन्द्र, मंगल, शनि रात्रिमा बली र अर्धरात्रिमा पूर्ण बली मानिन्छन् भने सूर्य, गुरु, शुक्र दिनमा बली तथा मध्याह्नमा पूर्ण बली एवं बुध सदा बली हुन्छन् । यसको विपरीत हुँदा नतोन्नतबल शून्य हुन्छ ।
(ख) पक्षबलमा सूर्य, मंगल, शनि वृmष्णपक्षमा बली हुन्छन् भने चन्द्र, बुध, बृहस्पति, शुक्र शुक्लपक्षमा बली हुन्छन् ।
(ग) दिनरात्रि विभागबलमा दिनलाई तीन भाग र रात्रिलाई पनि तीन भागमा बाँडेर दिनको पहिलो भागमा बुध, दोस्रो भागमा सूर्य र तेस्रो भागमा शनि बलवान् हुन्छन् भने रात्रिको पहिलो भागमा चन्द्रमा, दोस्रोमा शुक्र र तेस्रो भागमा मंगल बलवान् हुन्छन् । बृहस्पति सदा बली हुन्छन् ।
(घ) वर्षादिबलमा होरास्वामीको महिना, होरास्वामीको वर्ष आदिमा वर्षादिबल प्राप्त हुन्छ ।
(४) चेष्टाबलमा सूर्य उत्तरायण (१०, ११, १२, १, २, ३ महिना) हुँदा सूर्य र चन्द्र चेष्टाबल प्राप्त गर्छन् भने भौमादि ग्रहहरू चन्द्रमासमा गर्ग र वक्री हुँदा पनि चेष्टाबल प्राप्त गर्छन् ।
(५) नैसर्गिकबलमा सूर्य, चन्द्र, शुक्र, बृहस्पति, बुध, मंगल र शनि ग्रह क्रमैले उत्तरोत्तर निर्बली हुन्छन् भने पूर्व– पूर्वबलवान् हुन्छन् । यसरी सूर्यलाई सर्वाधिक बली र शनिलाई सबैभन्दा न्यून बली मानिन्छ ।
(६) दृग्बलमा शुभग्रहको दृष्टि पाएको ग्रहले दृग्बल प्राप्त गर्छ भने अशुभ ग्रहको दृष्टि पाएको वा कुनै ग्रहले नदेखेको ग्रहले दृग्बल पाउँदैन ।
यहाँ केन्द्रत्रिकोणको सम्बन्धलाई विशेष प्राथमिकता दिइएको छ । भावगत कारकग्रह र पित्र्यादि कारकग्रह पनि विचारणीय हुन्छन् । ग्रह नभएको राशिभन्दा ग्रहयुत राशि बलवान् हुन्छ ।
राहु र कैतुले आफू रहेको भाव र भावेशका आधारमा फल दिन्छन् । त्यसैगरी, द्वितीयेश र द्वादशेशले पनि साहचर्यका आधारमा फल दिन्छन् । तिनले दिने फल पनि सोहीबमोजि निर्धारित हुन्छ । यी सबै प्रकारका बलसाधन गरेर तिनको बलाबलका आधारमा फलाफल विचार गर्नुपर्छ । सबल ग्रहले मात्र पूर्ण फल दिनसक्छ ।
यस साताको आकाश
सूर्य, भौम र शनिबीच परस्पर सम्बन्ध, राहुसँग सूर्य, भौमको त्रिकोण सम्बन्ध, गुरुमाथि शनिको दृष्टि, गुरुसँग सूर्य, भौमको षडष्टक सम्बन्ध र सूर्य, भौम यी दुवै बुध, शुक्रको आवरणमा यो साता केन्द्रित रहेको छ । यसमा राजनीतिक बाघचालका चतुर खेलाडीहरू आआप्mना खेल भजाउन जिउज्यानले लाग्नेछन् । त्यसमा धार्मिक, सामाजिक र नागरिक पक्षधरको समेत क्रियाशीलता देखिनेछ । यसमा जुन पक्ष सुझबुझका साथ लामो समयसम्म धैर्यपूर्वक आप्mना गतिविधिमा अडिग रहनसक्छ, ऊ अर्को पक्षलाई झुकाउन सफल हुने देखिन्छ । यस घडीमा सरकारको हातमा राम्रो अवसर छ । यस अवसरलाई सुझबुझ र हिम्मतका साथमा निर्णय र कार्यान्वयन गर्नसकेमा अर्थपूर्ण परिणाम प्राप्त हुनेछ । यहाँ व्यक्ति र व्यक्तिगत स्वार्थभन्दा अनन्त माथि उठेर समग्रतामा उच्चतम् राष्ट्रिय स्वार्थको केन्द्रीयतामा सरकार, तत्सम्बद्ध पक्ष र दलहरू एकठाउँमा आउने यो अत्यन्त ठूलो अवसर छ । इतिहासमा यस्तो अवसर कमै प्राप्त हुन्छ । यसमा ३० प्रतिशत मात्र समस्याकारक पक्ष छ, अरू ७० प्रतिशत सबै अनुकूल छन् । अत्यधिक बहुसंख्यक नेपाली नागरिकको अपेक्षा पूरा गर्नेगरी निर्णय गर्ने हिम्मत गर सरकार ! हिम्मत गर !
प्रतिक्रियाका लागि : [email protected]