१९ वर्षदेखि गरिबको जमिन सेनाको कब्जामा

दैलेख । १० वर्षीय सशस्त्र द्वन्द्वका बेला १७ हजार मानिसले ज्यान गुमाए । काख रित्तियो सिउँदोको सिन्दुर पुछियो । केही व्यक्ति अंगभंग भए । द्वन्द्वपश्चात् बृहत् शान्ति सम्झौता भयो । व्यवस्था बदलियो । मुलुक लोकतन्त्र हुँदै गणतन्त्रसम्म पुग्यो । तर, तत्कालीन द्वन्द्वका बेला पाएका नागरिकका पीडा उस्तै छन्, कम हुन सकेका छैनन् । त्यसैको एक प्रतिनिधि घटना हो, दैलेखको दुल्लुको ।

दुल्लुमा द्वन्द्वको दाग

२३ कात्तिक २०६१ मा साबिकको दुल्लु गाविस–१ हाल दुल्लु नगरपालिका–८ का राजु बज्राचार्यलाई तत्कालीन माओवादी कार्यकर्ताले जबर्जस्ती वडा जनसरकार प्रमुख बनाएर कम्ब्याटसमेत पहिराइदिए । भोलिपल्ट सदरमुकामबाट सेना दुल्लु पुग्यो । मिलिसियाको पोसाक लगाएका राजु भाग्न खोजे । चिया पसलबाट ओरालो दौडिरहेका बेला सेनाको गोलीबाट राजु ढले ।

राजुको शव सेनाले खाल्डो खनेर गाड्यो । ‘नखोतल्नु लाससँगै बम छ’ भनेर त्रास देखाइयो । घटनापछि सर्वत्र त्रास फैलियो । तैपनि, गाउँले आफैले लास उधिनेर घाटमा लैजाँदै गर्दा माओवादीले रोक्न खोजे । माओवादीबाट आक्रोशित भएका स्थानीयहरू तत्कालीन माओवादीका कार्यकर्तासँग जाइलागे र उनीहरूलाई लखेटे । त्यहाँबाटै माओवादीको दुल्लु विद्रोह सुरु भयो । दुल्लुबाट जनताले नै माओवादीको प्रतिकारमा लागेपछि तत्कालीन माओवादीका लागि यो घटना मुलुकमै पहिलो बन्यो । तत्कालीन समयका माओवादी नेता कार्यकर्ताहरूलाई कुटपिट गरेका स्थानीयमा माओवादीहरूले आफूहरूमाथि नै आक्रमण गर्ने हुन् कि भनेर त्रास पैदा भयो । त्यहीबेला दुल्लुका स्थानीयले माओवादी ज्यादतीविरुद्ध संगठित भएर प्रतिकार गर्ने निधो गरे । उनीहरूको योजना, माओवादीलाई गाउँ छिर्नै नदिने, त्यसका लागि रातदिन गस्ती गर्नथाले । २८ कात्तिकदेखि दुल्लुमा दिनदिनै जुलुस निकाल्न सुरु भयो । दुल्लुबाट सुरु भएको माओवादीविरुद्धको प्रतिकार गर्ने अभियान साबिकका १३ वटै गाविसमा फैलियो । २८ कात्तिकदेखि ७ मंसिरसम्म माओवादी ज्यादतीका विरुद्ध दुल्लुवासीहरू स्वतःस्फुर्त रूपमा प्रतिकारमा उत्रिए । नागरिकले १० वर्षे जनयुद्धका बेला तत्कालीन माओवादीविरुद्ध गरेको प्रतिकारको घटना यो नै पहिलो बन्यो ।

माओवादी ज्यादतीविरुद्ध प्रतिकार गर्ने अभियान अर्थात ‘दुल्लु विद्रोह’को खबर देशव्यापी फैलियो । तत्कालीन माओवादीविरुद्ध जनता जागेपछि राज्यको ध्यान दुल्लुमा केन्द्रित भयो । दुल्लु विद्रोहकै क्रममा नागरिक समाजको कार्यक्रमअन्तर्गत स्थानीय महिला र बालबालिकाको अगुवाइमा ७ मंसिरमा दुल्लुस्थित पटांगिनीमा विशाल सभा भयो । सभामा तत्कालीन गृहमन्त्री हाल उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरूको टोली सहभागी भयो । सभाबाट दुल्लु क्षेत्रमा ३ करोडको ‘विशेष विकास कार्यक्रम’ घोषणा गरियो । सोही सभाबाट गृहमन्त्री खड्काले दुल्लुका नागरिकको सुरक्षाका लागि सेनाको फौज राख्ने घोषणा गरे । स्थानीयको मागनुसार मन्त्रीसहितको टोलीको सुरक्षाका लागि दुल्लु पुगेको सेनाको टोली त्यहीँ बस्यो ।

दुल्लु विद्रोहपछि दुल्लुमा ४२ घरलाई विस्थापति गरी दुल्लुको गढीमा सेना राखियो । यसरी २५ घरधुरी दलित र १८ गैरदलितको ५४ रोपनी जमिन सेनाले कब्जामा लिएर बेस क्याम्प बनायो । माओवादीको ज्यादतीविरुद्ध विद्रोह गरेपछि सुरक्षाका लागि भन्दै कसैले जमिन दिए भने कसैलाई स्थानीय नेता कार्यकर्ताले जबर्जस्ती जग्गा दिन लगाएको स्थानीयवासी बताउँछन् ।

स्थानीय जया दमार्इंको नाममा हाल पनि १ हजार २ सय ९० वर्गमिटर जग्गा छ । उनी हालसम्म पनि तिरो तिरिरहेका छन् । तर, उनले आफूले जमिन प्रयोग गर्न पाएका छैनन् । जयाले भने, ‘हालसम्म पनि तिरो तिरीरहेको छु, न त भोगचलन गर्न पाइयो, न त मआब्जा नै पाएको छु ।’

नेपाली सेनाले जग्गा कब्जा गरेर बसेको १९ वर्ष पुग्यो । तर, जमिन हडपेर विस्थापित परिवारलाई राज्यले कुनै सेवा सुविधा दिएको छैन । न त क्षतिपूर्ति न त मुआब्जा नै । जग्गाविहीन परिवार जीवनयापनका लागि मुग्लान लागेका छन् । विस्थापित भएका परिवार आफन्त र छरछिमेकीको घरमा बस्दै आएका छन् । नागरिकको हातमा जमिनको पुर्जाबाहेक अरू जमिन छैन । आफ्नो जमिन नेपाली सेनाले कब्जा गरेर बसेको छ ।

यस्तै गुनासो दिसरा दमाईको पनि छ । जमिन नहुँदा विस्थापित परिवारलाई के खाने चिन्ता लाग्न थालेको डिलसराले बताइन् । गाउँमा रोजगारी छैन । दसैंलगायतका चाडपर्व आएका बेला छोराछोरीले मिठो मसिनो खान खोज्छन्, गाउँमा कुनै विकास खुल्दैन । ‘साहु महाजनबाट उधारो चामल नुन, तेल ल्याएर गुजारा गरिरहेका छौं,’ उनले पीडा सुनाइन् ।

डिलसराको जस्तै ७० वर्षीया मैसरा दमाईंको पनि उस्तै पीडा छ । उनी नातिनीसँग घरमै बसेकी छन् । बुहारी र छोरा उनका मुग्लान गएका छन् । जमिन नेपाली सेनाले कब्जामा लिएपछि १० घरधुरी जहान परिवार पाल्नका लागि भारतमा मजदुर गर्न गएका छन् । कमाई खाने जग्गा सेनाले लिएपछि परिवारसहित भारत जानेहरूबाहेक यहाँ बस्नेहरूको घरमा पुरुषजति भारतमै छन् । घरमा वृद्धवृद्धा, महिला र बालबालिका मात्रै रहेको हेमबहादुर भण्डारीले बताए ।

२७ भदौ २०७५ मा रक्षा मन्त्रालयले दैलेख निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद राजबहादुर बुढाको नाममा मुआब्जा’bout पत्र पठायो । उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई बोधार्थ पठाइएको पत्रमा आव २०७५-०७६ बाटै जग्गा खरिद प्रक्रिया अगाडि बढाउने योजना रहेको व्यहोरा उल्लेख छ । २०६८ सालमा दुल्लु सुरक्षा बेसलाई मर्ज गर्ने व्यवस्था मिलाइएको भए पनि स्थानीयकै मागबमोजिम फौज तैनाथलाई निरन्तरता दिइएको दुल्लु नगरपालिकाले जनाएको छ ।

दैलेखको दुल्लुमा नेपाली सेना जमिन कब्जामा लिएका नागरिकको हातमा जग्गाधनी प्रमाणपुर्जा भए पनि जमिन उपभोग गर्न पाइरहेका छैनन् । तिरो तिरिरहने तर उपभोग गर्न नपाउँदा सरकारले नै सुकुम्बासी बनाउन लागिरहेको भान हुने गरेको स्थानीयको भनाइ छ । तत्कालीन गृहमन्त्री रहेका पूर्णबहादुुर खड्का हाल उपप्रधानमन्त्री एवं रक्षाममन्त्री भएकाले आफूहरूले मुआब्जा पाउनेमा आशावादी रहेको पीडित परिवार बताउँछन् ।

सरकारले सुकुम्बासी र भूमिविहीनलाई जग्गा जमिन दिलाउन लागिरहेका बेला जमिन भएका नागरिक सुकुम्बासी हुनुले पीडित परिवारले सरकारमाथि प्रश्न गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी