बैतडी । शनिबारदेखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । बैतडीमा जिल्लास्थित महिला अधिकारकर्मी र विभिन्न कार्यालयमा कार्यरत महिला कर्मचारीहरु गोठलापानी बजारमा व्यानर सहित उपस्थित भए । १० बजे उपस्थित भएका उनीहरु केही समयमै लैंगिक हिंसाविरुद्धका नारा लगाउदैँ ¥यालीसहित गढीतर्फ अघि बढे ।
गढीमा पुग्ने वितिक्कै जिल्ला प्रशासन कार्यालय अगाडी केही समय व्यानर समाउदैँ नारा लगाए । त्यसपछि पहिलो दिनको कार्यक्रमलाई समापन गर्ने कार्यक्रम तय भयो । र सम्बोधनका लागि अधिकारकर्मी सरस्वती नेपालीको हातमा माइक थमाइयो ।
आफ्नो सम्बोधनका क्रममा नेपालीले “जमिनमा नाम छैन हाम्रो, जमिनमा नाम छैन्, समानता बिना महिला पुरुषको केहि पनि काम छैन्………” भनी गीत गाउन सुरु गरिन् भने, उपस्थित महिलाहरु नाच्न थाले ।
केही समय उनको गीतमा मस्त भएका महिला अधिकारकर्मीहरुलाई लगत्तै अधिकारकर्मी पार्वती भट्टले डेउडामा जोडिन् । “महिला हिंसाविरुद्ध सबै एकतावद्ध हौँ………” भन्दै लगाएको उनको डेउडालाई अधिकारकर्मी नेपालीले दोहोरीमा साथ दिइन् ।
करिव १घण्टा डेउडा खेल्दै बनेको रोमाञ्चक माहोलमा केही समय नारा जुलस पनि लगाइयो । अन्तिममाा पहिलो दिनको साँझ सहिद दशरथचन्दको सालिकमा माल्यार्पण सहित दीप प्रज्वलन गरिने भन्दै कार्यक्रमलाई जिल्ला समन्वय समिति सदस्य यसोदा चन्दले समापन गरिन् ।