एमाले मुलुकको रक्षा गर्ने पार्टी : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मुलुकको रक्षा गर्ने पार्टी एमाले भएको’ दाबी गरेका छन् । नेपाल संवत् ११४४ को अवसरमा एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिबार वसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

मुलुकको सीमा, जनताको अधिकार सुनिश्चितताका लागि हरतरहले नेतृत्व गर्न एमाले सक्षम रहेको बताउँदै उनले यस्तो दाबी गरेका हुन् । ओलीले मुलुकविरुद्ध अहिले विभिन्नखालका षड्यन्त्र भइरहेको पनि बताए ।

नेपाललाई अस्थिर बनाएर फाइदा लिन खोज्ने तत्वहरूले पुनः नेपालमा षड्यन्त्र सुरु गरिरहेका भन्दै उनले त्यसलाई परास्त गर्न सबै नेपाली जनता एकठाउँमा उभिनुपर्ने बताए । अध्यक्ष ओलीले भने, ‘हाम्रो मुलुकका विरुद्ध षड्यन्त्र भइरहेको छ, मुलुकलाई अस्थिरतामा फसाउने षड्यन्त्र भइरहेको छ, हाम्रा जनतालाई पहिचानका नाममा, जातका नाममा, धर्मका नाममा, अनेक नाममा विभाजित गर्ने प्रयास भइरहेको छ, झगडा लगाउने प्रयास भइरहेको छ, द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ ।’

केही समय अगाडि हिन्दू र मुसलमानका बीचमा लडाइँ र झगडा गराउने कोसिस भएको बताउँदै उनले भने, ‘त्यसमा असफल भए, पर्दाफास भयो त्यो षड्यन्त्र, त्यसबाट अरू प्रकारका असान्दर्भिक कुरा निकालेर जनतालाई अल्मल्याउने काम भइरहेका छन् ।’

मुलुकको लोकतन्त्र र गणतन्त्र चिठामा पारेर ल्याएको व्यवस्था नभएको बताउँदै अध्यक्ष ओलीले मुलुकको लोकतन्त्र र गणतन्त्र नेपाली जनताको खुन पसिना बगेर आएको व्यवस्था भएको प्रस्ट पारे । लोकतन्त्र र गणतन्त्रलाई समस्यामा पार्न खोज्ने तत्वलाई जुनसुकै अवस्थामा परास्त गर्ने र यसको नेतृत्व एमालेले गर्ने उनको दाबी थियो ।

अहिलेको सरकारले राम्रो काम गर्न नसकेको र गुन्डागर्दीलाई प्रोत्साहन गरिरहेको अध्यक्ष ओलीले बताए । उनले सरकारले अर्थतन्त्र ध्वस्त बनाएको र तस्करी बढाएको आरोप लगाए । अध्यक्ष ओलीले अहिलेको सरकारले अराजकतालाई नियन्त्रण गर्ने होइन प्रोत्साहन गरिरहेको बताए । उनले भने, ‘समाजमा सुशासन छैन, गुन्डालाई कारबाही गर्ने गिरफ्तार गर्ने होइन, प्रहरीले गिरफ्तार ग¥यो भने छोड्न लगाउँछ सरकारले, राष्ट्रपतिले माफी दिन्छन् गुन्डाहरू छानीछानी, यो सुशासन भएन, अर्थतन्त्र ध्वस्त बनाएको छ, तस्करी बढेकोबढ्यै छ ।’

३५ क्विन्टल बढी अवैध सुन आएको तथ्य बाहिरिएको तर सरकारले १ क्विन्टल पक्राउ गरेको भन्दै अध्यक्ष ओलीले त्यो सुन ६० किलोमा झार्ने काम सरकारले गरेको बताए । इलेक्ट्रिक सिगरेटमा साढे ९ केजी सुन पक्राउ परेकामा अहिले २ केजी मात्र रहेको भन्दै सरकारको बेथिति र कुशासनको चर्चा गरिसाध्य नभएको उनको आरोप छ ।

सरकारका कारण बेथिति बढ्यो भन्दैमा लोकतन्त्र र गणतन्त्र नै खराब भन्ने हुनै नसक्ने उनले प्रस्ट पारे । अध्यक्ष ओलीले अब ढुंगेयुगमा फर्किन नसकिने र जन्मिँदै कोही राजा हुने कुरा स्वीकार गर्न नसकिने बताए । जनताभन्दा एउटा व्यक्ति वा परिवार ठूलो हुने कुरा अबका सचेत जनताले स्वीकार गर्न नसक्ने पनि उनको प्रस्टोक्ति छ ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आफ्नै प्रतिस्पर्धीलाई एक लाख रुपैयाँको नोटको माला लाउँदै उम्मेदवारी फिर्ता