तीर्थकुमारीले मेटाइन् एकल साँझको तृष्णा

म त खाँदिन कुवाको पानी हो
मलाई लैजाउन छहारे छाँगैमा…

वरुणजंग राणाको शब्द संकलन तथा संगीतको उल्लेखित गीत गाउँदै गर्दा ७३ वर्षीया अग्रज गायिका तीर्थकुमारी थापा शुक्रबार साँझ ४२ वर्षअघि फर्किइन् ।

२०२८ सालमा रेडियो नेपालमा उनको पहिलो गीत रेकर्ड भएको थियो । सोही समयदेखि औपचापरिक गायन यात्रा थालेकी तीर्थकुमारीका लागि गएको ‘शुक्रबार’ जीवनकै विशेष दिन बन्यो ।

काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा हजारौं दर्शकबीच उनले आफ्ना १९ लोकप्रिय गीत गाइन् । हजारभन्दा बढी गीतमा स्वर दिएकी अग्रज गायिकाको एकल साँझ गर्ने धोको गायक छोरा सुरजकुमार थापाले पूरा गरिदिएका हुन् ।

‘तीर्थकुमारी स्वर्णिम साँझ–२०८०’मा उनलाई छोरा सुरजकुमारले नै युगल गायनमा न्यानो साथ दिए । त्यस्तै, गायिका निशा देशार, राधिका भण्डारी, शीला विष्ट, गायक ध्रुवराज खड्का, विपिन घिमिरे, श्रीवत्स खरेल र देवेन्द्रमान सिंहले समूह गायनमा अग्रज गायिका थापास“ग स्वरमा स्वर मिलाए ।

‘देश तथा विदेशमा धेरै सांगीतिक कार्यक्रम गरें, यहाँहरूको उपस्थितिले गायनलाई निरन्तरता दिन हौसला थपेको छ,’ उनले भनिन्, ‘मेरो गीत पुनः गाउने अवसर पाएँ । मेरो इच्छा पूरा गर्न सहयोगी भूमिका खेल्नुहुने सम्पूर्णप्रति आभारी छु, यो खुसीलाई शब्दमा व्यक्त गर्न सकिरहेकी छैन ।’

गायिका थापाका छोरा सुरजले आमाको इच्छा पूरा गर्न पाउँदा आफ्नो जीवनै सफल भएको बताए । ‘आमाको एकल साँझ गर्ने उद्देश्यले केहीसँग छलफल गरें । उहाँहरूले पुराना गीतसंगीत र स्रष्टालाई प्रवद्र्धन गर्न तत्परता देखाउनुभयो,’ छोरा सुरजले भने, ‘आमाले देख्नुभएको सपना पूरा गर्ने मेरो सपना आज पूरा भएको छ । यसलाई पूरा गर्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ ।’

एकल साँझमा गायिका थापाले ‘डाँडामा माथि बिहानै…’ गीतबाट साँझको सुरु गरेर आफ्ना लोकप्रिय गीत ‘म त खादिनँ कुवाको पानी हो…’, ‘ढुंगे बगर माया…’, ‘झम्के फुली नाकैमा बुलाकी…’, ‘उकालीमा पनि हजुर…’, ‘बारीको डिलमा ओखरबोट…’, ‘माछी मार न हे दाइ हो…’लगायत प्रस्तुत गरिन् । दर्शकको अनुरोधअनुरुप उनले ‘माछी मार न हे दाइ हो…’ दुईपटक गाइन् ।

कार्यक्रममा अग्रज संगीतकार रञ्जित गजमेर, गायिका ज्ञानु राणा, गीतकार दिनेश अधिकारी, गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्य, संगीतकार तथा संयोजक किरण कँडेललगायत संगीतकर्मी सहभागी थिए ।

अन्नपूर्ण चेम्बर अर्केस्ट्राको आयोजना तथा काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्स्ट्रक्सनको सहआयोजनामा कार्यक्रम भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा नेपाली कांग्रेस बन्यो पहिलो शक्ति