प्रतिबद्धताभन्दा किन कम आउँछ विदेशी लगानी ?

काठमाडौं । उद्योग विभागको तथ्यांकलाई मात्र आधार मान्ने हो भने नेपालमा हालसम्ममा विदेशी लगानीका उद्योगहरूबाट मात्र ४ खर्ब ६८ अर्ब ३२ करोड ३२ लाख २४ हजार लगानी आइपुग्नुपर्ने हो ।

उद्योग विभागका अनुसार हालसम्ममा ६ हजार ३७ उद्योगका लागि प्रतिबद्धता आएको हो । कात्तिकमा मात्र पनि विभागले १ सय ७८ उद्योगका लागि विदेशी लगानी स्वीकृत गरेको छ ।

उद्योग विभागले स्वीकृत गरे तापनि वास्तविक रूपमा पनि उद्योगहरू स्थापना नहुने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकनुसार नेपालमा औसतमा प्रतिबद्धताको करिब ३६ दशमलव २ प्रतिशत मात्रै प्रत्यक्ष वैदेशिक लगानी भित्रिने गरेको छ ।

प्रतिवेदनअनुसार पछिल्लो २० वर्षमा प्रतिवर्ष भित्रिने प्रत्यक्ष वैदेशिक लगानी र आएको प्रतिबद्धतालाई औसतमा हिसाब गर्दा नेपालमा १ करोड रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आउँदा भित्रिने रकम भने जम्मा ३६ लाख मात्र हुने गरेको छ ।

आव २०७८÷७९ मा मात्रै नेपालमा झन्डै ५५ अर्ब रुपैयाँबराबरको वैदेशिक लगानीको प्रतिबद्धता आए पनि जम्मा १८ अर्ब ६० करोड रुपैयाँबराबर मात्रै लगानी भित्रिएको थियो । आव २०७७÷७८ मा पनि नेपालमा विदेशी लगानीकर्ताहरूले ३२ अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता जाहेर गरे पनि जम्मा १९ अर्ब ५ करोड रुपैयाँबराबर मात्रै भित्रिएको थियो ।

चालू आवको कात्तिकमा कुल १ अर्ब ७५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार २७ वटा नयाँ उद्योगमा १ अर्ब ७५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको हो ।

चालू आवको साउन, भदौ, असोज र कात्तिकमा कुल १ सय ७८ वटा नयाँ उद्योगमा १८ अर्ब ३५ करोड ४३ लाख ३ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।

कात्तिकमा लगानी प्रतिबद्धता आएका उद्योगमध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा आएको छ । पर्यटन क्षेत्रमा ५६ प्रतिशत लगानी प्रतिबद्धता आएको हो । यसैगरी, दोस्रोमा सेवा क्षेत्रमा ४४ प्रतिशत प्रतिबद्धता आएको छ ।

साउनदेखि कात्तिकसम्ममा पनि सबैभन्दा बढी पर्यटन क्षेत्रका उद्योग खोल्ने भनेर नै प्रतिबद्धता आएको छ । ४६ प्रतिशत प्रतिबद्धता सो क्षेत्रका लागि आएको हो । यसैगरी, सेवा क्षेत्रका लागि ३९ प्रतिशत प्रतिबद्धता रहेको छ । म्यानुफ्याक्चरिङका लागि भने १२ प्रतिशत, इनर्जीमा ४ प्रतिशत, आईसीटीमा ५ प्रतिशत र कृषिमा १ प्रतिशत आएको छ ।

लगानीका लागि यति धेरै प्रतिबद्धता आए पनि साउन, भदौ र असोजमा ३ अर्ब ३७ करोड १० लाख रुपैयाँ मात्रै विदेशी लगानीका लागि रकम भित्रिएको राष्ट्र बैंकको तथ्यांक रहेको छ ।

उद्योग विभागका अनुसार चार महिनामा साना उद्योग १ सय ७०, मझौला पाँच र ठूला उद्योग तीनवटा दर्ता भएका छन् ।

नेपालमा आव २०७८÷७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब ६४ अर्ब ३३ करोड कायम रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । २०७९ असार मसान्तसम्ममा नेपालमा ५७ मुलुकको प्रत्यक्ष वैदेशिक लगानी भित्रिने गरेको विदेशी लगानीसम्बन्धी अध्ययनमा उल्लेख छ ।

उद्योग विभागका अनुसार गत आवमा ३ सय २२ वटा उद्योग दर्ता भएका छन् । जसमा २ खर्ब १४ अर्ब २२ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरिएको थियो ।

यस्तै, आव २०७९-०८० मा कुल ३ सय २६ वटा उद्योगमा ३६ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको थियो । त्यसबाट १६ हजार ९ सय ६५ जनालाई रोजगारी प्रस्ताव गरिएको थियो ।

खासगरी विदेशी लगानीकर्ताहरूले कुनै आवमा गरेको प्रतिबद्धतानुसार लगानी ल्याउने वातावरण नहुँदा नेपालमा वास्तविक लगानी आकर्षित हुन नसकेको नेपाली उद्योगी व्यवसायीहरूको भनाइ छ । झन्झटिलो कागजी प्रक्रिया, विभिन्न सरकारी नीति नियम र उद्योग व्यवसायको वातावरणको कमीका कारण प्रतिबद्धतानुसारको लगानी भित्रिन नसकेको बुझाइ उनीहरूको छ ।

राष्ट्र बैंकका अनुसार सो अवधिमा नेपालमा रहेको वैदेशिक लगानीमा ८८ अर्ब १५ करोड रुपैयाँ नेपाल भित्रिएको विदेशी लगानी रहेको छ भने ७८ अर्ब ३८ करोड रुपैयाँ लगानीमा रहेका उद्योगहरूको आम्दानी र १६ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक कर्जा रहेको देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा एकीकृत समाजवादीको ५ सय मतान्तरले अग्रता