एनसेलबाट बाहिरियो आजियाटा ग्रुप

काठमाडौं । क्रमिक रूपमा नाफामा कमी आउन थालेपछि एनसेल आजियाटा ग्रुपले नेपालबाट बाहिरिने निर्णय गरेको छ । सात वर्षअघि टेलिसोनेरियाको सेयर खरिद गरेको आजियाटाले नेपालमा नाफा नदेखेपछि बाहिरिने निर्णय गरेको हो ।

सरकार र दूरसञ्चार प्राधिकरलाई गम्भीर झट्का

सन् २०२३ को तेस्रो त्रैमासिक प्रगति विवरणको समीक्षा गर्दै मलेसियन कम्पनी आजियाटा बर्हाडले नेपालबाट बाहिरिने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा एनसेलको अवस्था चुनौतीपूर्ण बन्दै गएको र नाफामा कमी आउन थालेकाले आजियाटाको सञ्चालक समितिले सेयर बिक्री गरी बाहिरिने निर्णय गरेको उल्लेख गरेका छन् ।

आजियाटा कम्पनी नेपालबाट बाहिरिने संकेत पाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टिकाइराख्न स्मार्ट सेल भिराउन खोजेको प्रयास पनि खेर जाने सम्भावना बढेको छ ।

नेपालको एक मात्र निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायकका रूपमा रहेको एनसेल बाहिरिने खबरपछि सरकारलाई समेत ठुलो धक्का लागेको छ ।

नेपाल टेलिकमको सेवालाई प्रतिस्पर्धी बनाई सबल बनाउन परोक्ष रूपमा टेवा पु¥याएको एनसेलमा आजियाटा बाहिरिने खबर नेपाल लगानी सम्मेलनको पूर्वसन्ध्यामा सार्वजनिक भएकाले सरकारलाई धक्का परेको हो ।

आजियाटा एनसेलले नेपालबाट बाहिरिनुले आजियाटालाई आगामी समयमा आफ्नो रणनीतिक प्राथमिकता अगाडि सार्न सहयोग गर्ने र हालका लागि नेपालबाट बाहिरिनु नै सबै सेयरहोल्डरको हितमा रहेको जिकिर गरिएको छ ।

सन् २००४ मा ‘मेरो मोबाइल’ नामबाट दूरसञ्चार सेवा प्रदान गर्दै आएको कम्पनीलाई सन् २००८ मा स्विडेनको टेलिसोनेरिया ग्रुपले आफ्नो मातहतमा ल्याई सन् २०१० मा एनसेलको नामबाट रिब्रान्डिङ गरेको थियो ।

टेलिसोनेरियाले ६ वर्ष सञ्चालन गरेपछि सन् २०१६ मा मलेसियाको आजियाटा ग्रुपले एनसेल खरिद गरी एनसेल आजियाटा नामाकरण गरेको थियो ।

नेपाल टेलिकमको एकछत्र राज चलिरहँदा एनसेल आजियाटाले गाउँगाउँमा फोरजी सेवा पु¥याई नेपाल टेलिकमलाई प्रतिस्पर्धामा उत्रिन बाध्य पारेको थियो ।

एनसेलले आर्थिक वर्ष २०७८–७९ मा ३९ अर्ब ७२ करोड आम्दानी गरेकोमा सन् २०७९–८० मा ३७ अर्ब ४४ करोडमा समेटिएपछि एनसेल झस्किएको थियो । आर्थिक वर्ष २०७४–७५ मा ५९ अर्ब ८१ करोड बराबरको आम्दानी गरेको कम्पनीको आम्दानी पछिल्लो पाँच वर्ष यता २२ अर्बले घट्दै गएको थियो ।

२०७५–७६ मा एनसेलको आम्दानी ५५ अर्ब २८ करोड, २०७६–७७ मा ४६ अर्ब ७७ करोड, २०७७–७८ मा ४० अर्ब २२ करोड रुपैयाँ रहेको थियो ।

आजियाटा एनसेल बाहिरिएला कि भन्ने डर पालेको दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन गरी एनसेल एक्जियता कम्पनीलाई स्मार्ट सेलको ऋण दायित्व सकार्न लगाउने र एनसेलको लाइसेन्स अवधि थपिदिने गरी चलखेल समेत गरेको थियो ।

अनुमतिपत्र बहाल नरहेको दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन गरेर स्मार्ट सेलको लाइसेन्स एनसेललाई दिलाउन सरकारी निकाय र एउटा व्यापारिक झुन्ड सक्रियतापूर्वक लागिपरेका थिए ।

लाइसेन्स खारेजीमा गइसकेको स्मार्टसेलको लाइसेन्स ऋण दायित्व सकार्ने कम्पनीलाई दिने भनेर नीतिगत निणर्य गरेकामा अहिले फेरि पब्लिक कम्पनीमा जानुपर्ने बाध्यतामा रहेको एनसेललाई पब्लिक कम्पनीमा जान नपर्ने गरी नीतिगत निर्णय गरे पनि प्राधिकरणको प्रयास खेर गएको छ ।

एनसेल आजियाटा बाहिरिएपछि अर्को लगानीकर्ता नेपालमा आउन सक्ने सम्भावना अत्यन्तै न्यून रहेको छ ।

विश्व बजारमा दूरसञ्चार सेवा क्रमिक रूपमा घट्दै गएको परिवेशमा दूरसञ्चारलाई लाग्ने नवीकरण शुल्क र इन्टरनेट सेवा प्रदायकको नवीकरण शुल्कमा आकाश जमिनको फरक भएकाले नेपालमा नयाँ लगानीकर्ता आउने सम्भावना न्यून रहेको छ ।

एनसेल आजियाटाले कम्पनी बिक्रीमा राखे पनि खरिद गर्ने भेट्टाउन नसकिने अवस्था नरहेको र आजियाटाले सेवा र सुधारमा क्रमशः कटौती गर्दै लग्ने जोखिम पनि उत्तिकै रहेको बताइएको छ ।

आजियाटालाई नेपालमा टिकाइ राख्न चलखेल गरेका एनसेलका २० प्रतिशत सेयरहोल्डरसमेत अहिले झस्किएका छन् ।

स्मार्ट सेलका लगानीकर्ता र एनसेलका २० प्रतिशत सेयर लगानीकर्तामध्ये एकै व्यक्ति भएको र उनीहरूले स्मार्टसेल भिडाएर नेपालमा टिकाउने प्रपञ्च रचेका थिए ।

एनसेलका लगानीकर्ताकै स्मार्ट टेलिकममा लगानी भएकाले ती व्यक्ति चलखेलमा लागेको बताइएको छ । एनसेल एक्जियता कम्पनी २५ वर्षे हदका कारण बाहिरिन सक्ने भएकाले नेपाली लगानीकर्ता एनसेललाई नेपालमा नै टिकाउन नीतिगत निर्णय गराउँदै हिंडेको र एनसेललाई टिकाउनकै लागि स्मार्टसेल जानाजान डुबाएको आरोप लागेको थियो ।

स्मार्ट टेलिकमको लाइसेन्स पाउनेले २ वैशाख २०९५ सालसम्म लाइसेन्स अवधि पाउनेगरी संशोधन गरिएको थियो । एनसेलको लाइसेन्सको म्याद १६ भदौ २०८६ सालमा सकिँदै छ । यदि एनसेलले बोलकबोल अथवा ऋण दायित्व स्वीकार गरी स्मार्ट टेलिकमको जिम्मा लिएको खण्डमा बाँकी करिब नौ वर्षको लाइसेन्स अवधि थपिने थियो ।

एक्जिएटाले हाल मलेसियामा सेलकमडिजी), इन्डोनेसियामा एक्सएल आजियता, श्रीलंकामा डायलग, बंगलादेशमा रोबी, कम्बोडियामा स्मार्टलगायत एसियाको दूरसञ्चार क्षेत्रमा लगानी गरिरहेको छ । मलेसियाको स्टक एक्सचेन्जमा सूचीकृत एक्जिएटा एसियामा बलियो उपस्थिति रहेको कम्पनी मानिन्छ ।

नेपालको दूरसञ्चार ऐनअनुसार अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो अनुमतिपत्र कसैलाई बिक्री गरी वा अन्य कुनै प्रकारले हक हस्तान्तरण गरी दिन चाहेमा त्यसको कारणसहित दुवै पक्षले आपसमा निर्धारित सर्त तथा बन्देजसमेत उल्लेख गरी स्वीकृतिका लागि प्राधिकरणसमक्ष संयुक्त निवेदन दिनुपर्ने प्रावधान रहेको छ । निवेदन प्राप्त हुन आएमा प्राधिकरणले आवश्यक छानबिन अनुमतिपत्र बिक्री वा हक हस्तान्तरण गर्न उचित देखेमा मात्र स्वीकृति दिने ऐनको व्यवस्था छ ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आजियता बाहिरिए पनि अहिले दिइरहेको आफ्नो सेवामा केही फरक नपर्ने एनसेल व्यवस्थापनले जनाएको छ ।

आजियाटाले एनएसलमा आफ्नो स्वामित्वको सबै ८० प्रतिशत सेयर बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै अब के हुने भन्ने अन्योलता थपिएको छ ।

एनसेलको २० प्रतिशत सेयर भने नेपाली साझेदार सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा छ ।

यसमा नेपाली साझेदार सतिशलाल आचार्य र सचिनलाल आचार्य प्रमुख रूपमा रहेका छन् ।

एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

आजियाटाले बिक्री गर्ने सेयर नेपाली साझेदारले नै किन्ने र यसमा स्मार्ट सेलका लगानी कर्ता र केही गैरआवासीय नेपालीले चासो दिइरहेको बताइएको छ । आजियतासँग कम मूल्यमा एनसेल हात पार्ने योजनामा रहेको बताइएको छ ।

प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न भनेरै सरकारले आगामी ९ वैशाख २०८१ सालमा ‘तेस्रो लगानी सम्मेलन’ काठमाडौंमा गर्ने घोषणापछि नेपालमा वैदेशिक लगानी नआउने हो कि भन्ने त्रास समेत उत्पन्न भएको छ ।

सन् २००४ मा स्पाइस नेपालका रूपमा स्थापना भएको कम्पनीले सन् २००५ मा मेरो मोबाइलमार्फत् पहिलोपटक निजी कम्पनीले दूरसञ्चार सेवा सुरु भरेको थियो ।

त्यसपछि सन् २००८ मा स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेरियाले कम्पनीको सेयर खरिद गरेपछि सन् २०१० को मार्च १२ मा स्पाइस नेपालको नाम फेरिएर एनसेल राखिएको थियो ।

सन् २०१५ को डिसेम्बर २१ मा टेलियासोनेराले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो । त्यसपछि मलेसियन कम्पनी आजियाटा नेपाल भित्रिएको थियो । सन् २०१६ को अप्रिल १२ आजियाटाले टेलिया सोनेरियाबाट एनसेलको सेयर खरिद गरेको थियो ।

सन् २०२० को अगस्ट ३ मा एनसेलको नाम एनसेल आजियाटा लिमिटेड राखिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे नाैमूलेमा प्रमुखमा माओवादी केन्द्र, उपप्रमुखमा समाजवादी विजयी