किन पक्राउ गर्दै छ साउदीले गैरकानुनी कामदार ?

काठमाडौं । साउदीले गैरकानुनी कामदारमाथि पक्राउ अभियान तीव्र पारेसँगै १७ हजार ४ सय ६३ जना आप्रवासी नागरिक पक्राउ परेका छन् । एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १७ हजार ४ सय ६३ जना पक्राउ परेका छन् ।

साउदीको गृह मन्त्रालयका अनुसार नोभेम्बर १६ देखि २२ तारिखसम्मको एक सातामा राज्यभर सुरक्षा बलका विभिन्न इकाइले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लंघन गर्ने १० हजार ८ सय ५६, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ३ हजार ९ सय ३४ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ६ सय ७३ रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा ७ सय ७३ जना व्यक्ति पक्राउ परेका थिए । जसमा ४४ प्रतिशत यमनी, ४५ प्रतिशत इथियोपियाली र ११ प्रतिशत अन्य राष्ट्रियताका थिए भने ५४ उल्लंघनकारी साउदी अरेबियाबाट बाहिर जान सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए ।

यीमध्ये कानुन उल्लंघन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने ११ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ । यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पु¥याएर देश निकाला गरिने जनाएको छ । हालसम्म कानुन उल्लंघन गर्ने ५० हजार ६ सय ९९ जनालाई पक्राउ गरिएको छ । जसमध्ये ४४ हजार ९१ पुरुष र ६ हजार ६ सय ८ महिला रहेका छन् ।

तीमध्ये ४४ हजार ६ सय ५१ उल्लंघनकारीलाई यात्रा कागजात प्राप्त गर्न तिनीहरूको कूटनीतिक नियोगमा पठाइएको छ भने १ हजार ६ सय १७ उल्लंघनकर्तालाई यात्रा अनुमति लिएर स्वदेश फिर्ता पठाउने तयारी भइरहेको जनाइएको छ । अहिलेसम्म १० हजार १ सय ९७ उल्लंघनकारीलाई देश निकाला गरिसकिएको जनाइएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिमानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परिसकेका छन् । हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्य कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गरिने भएको छ ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

यस्तै, रियादस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले गैरकानुनी रूपमा बसेका नेपालीलाई पनि एक्जिट भिसा दिँदै आएको छ । भिसा आइसकेपछि टिकट आफैंले काटेर स्वदेश फर्कनुपर्नेहुन्छ ।

एक्जिट भिसामार्फत ३० नेपालीको उद्धार
महावाणिज्यदूतावास जेद्दामार्फत ३० जना नेपालीको एक्जिट भिसा प्राप्त गरी उद्धार गरिएको छ । दूतावासले प्रकाशित गरेको सूचीमा नाम भएकाहरूको एक्जिट भिसा प्राप्त भएकाले यथाशीघ्र नेपाल फर्कन महावाणिज्यदूतावासले अनुरोध गरेको छ ।

भिसा लागेको म्यासेज मोबाइलमा नआएको र हालको राहदानी वा ट्राभल डकुमेन्ट जवाजत (अध्यागमन)मा अपडेट नभएको भए आवश्यक कागजात एयरपोर्ट जवाजतमा देखाउन पनि दूतावासले अनुरोध गरेको छ ।

साथै वान्ग्बु घले, सुरजबहादुर नेपाली, अब्दुर रहमान खान र मुस्तफा बेहनाको हकमा थप प्रक्रिया पूरा गर्नुपर्ने देखिएकोले दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनाङको नेस्याङ गाउँपालिकामा माओवादीबाट वडा अध्यक्ष निर्विरोध निर्वाचित