महासचिवको पत्रले एमालेमा भाँडभैलो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा निर्वाचित पदाधिकारीलाई हटाएर पराजितलाई ल्याउन खोजेपछि भाँडभैलो सुरु भएको छ ।

कर्णाली प्रदेशमा एमालेको हालै सम्पन्न प्रदेश अधिवेशनमा उपसचिवमा रमेशकुमार शाही निर्वाचित भएका थिए । तर, एमाले महासचिव शंकर पोखरेलले शाहीलाई हटाएर उपसचिवमा पदमा खड्कालाई ल्याउन निर्देशन दिएका छन् ।

एमाले महासचिव पोखरेलले पार्टी सचिवालय बैठकको निर्णयअनुसार कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहलाई पत्र लेख्दै खड्कालाई उपसचिवमा ल्याउन र निर्वाचित उपसचिव शाहीलाई प्रदेश कमिटीमा मनोनित गर्न निर्देशन दिएका छन् । केन्द्रीय संगठन विभाग र कर्णाली प्रदेश कमिटीका इन्चार्जलाई समेत सो पत्रको बोधार्थ दिइएको छ ।

‘कर्णाली प्रदेश अधिवेशनमा पदाधिकारीमा महिला आरक्षण नगरिएकोमा उपसचिव पदमा महिला कोटा हुनुपर्ने दाबीसहितको निवेदनलाई समेत ध्यानमा राखी विजयी पुरुष उम्मेदवारमध्ये दोस्रो मत ल्याउने रमेश शाहीको स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने पदमा खड्कालाई उपसचिव पदमा बहाल गर्ने, रमेश शाहीलाई प्रदेश कमिटीमा मनोनित गर्ने,’ एमाले महासचिव पोखरेलले निर्देशनसहित पठाएको पत्रमा उल्लेख गरिएको छ ।

शाहीलाई हटाएर सो पदमा खड्कालाई उपसचिव बहाल गर्न कर्णाली प्रदेश कमिटीलाई दिएको निर्देशनपछि विवादले उग्ररूप लिएको छ । शाही सो निर्देशनविपरीत उभिएका छन् । महासचिव पोखरेलद्वारा जारी गरिएको पत्रविरुद्ध उनले सामाजिक सञ्जालमार्फत घोर भत्र्सना गरेका छन् ।

कर्णाली प्रदेश कमिटीको पदाधिकारीमा महिला आरक्षण नगरिएकाले खड्कालाई उपसचिवको पदमा कायम गरिएको निर्देशनसहितको पत्र महासचिव पोखरेलले जारी गरेपछि एमालेमा विवाद बढ्दै गएको हो ।

प्रदेश अधिवेशनका लागि भएको निर्वाचनमा शाही २९९ मत ल्याएर निर्वाचित भएका थिए । तर, गत २२ कात्तिकमा बसेको एमालेको २५औं केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार कर्णालीमा महिला आरक्षण नगरिएकोमा उपसचिव पदमा महिला कोटा हुनुपर्ने दाबीसहित निवेदन परेको भन्दै शाहीको स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा धेरै मत ल्याउने खड्कालाई उपसचिवमा बहाल गर्न कमिटीलाई निर्देशन दिएको हो ।

हामी मनोनित होइनौं, निर्वाचित हौं : शाही
एमाले महासचिव शंकर पोखरेलको निर्देशनसहितको त्यस्तो पत्र सार्वजनिक भएपछि निर्वाचित उपसचिव शाहीले ‘हामी मनोनित होइनौं, निर्वाचित हौं’ भन्दै आक्रोस व्यक्त गरेका छन् ।

‘हामी मनोनित भएका होइनौं । यो कुरा पार्टी महासचिवले सचिवालयको निर्णय गर्दा हेक्का गर्नुपथ्र्यो । हाम्रो पार्टीको विधान एकै हो जस्तो मलाई लाग्छ तर केन्न्द्रीय पार्टीको विधान एउटा, प्रदेश पार्टीको विधान एउटा र जिल्ला पार्टीको विधान एउटा हुन्छ जस्तो मलाई लाग्दैन । विधान त हाम्रो एउटै होला । विधानको पालना हामी सबैले गर्नुपर्छ होला नि ?’ निर्वाचित उपसचिव शाहीले सामाजिक सञ्जालमा लेखेका छन् ।

अधिवेशनमा निर्वाचन कमिटीले विजय घोषणा गरी प्रमाणपत्र प्रदान गरी शपथ ग्रहण गराइसकेको बताउँदै शाहीले कर्णाली प्रदेश कमिटीको प्रथम बैठक बसिसकेको र प्रथम पदाधिकारी बैठक पनि बसिसकेको अवस्थामामा पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णय भन्दै पदाधिकारी परिवर्तन गरेको निर्णय विधान र निर्वाचन प्रक्रियाविपरीत रहेको जनाएका छन् ।

उनले अगाडि लेखेका छन्, ‘यो निर्णयको घोर भत्र्सना गर्दछु । तत्काल यो निर्णय बदरका लागि केन्द्रीय पार्टीसँग अनुरोध गर्दछु । सबै साथीलाई संयम हुन अनुरोध गर्दछु । केही साथीले पार्टीका नेतालाई भ्रममा पार्दै यो निर्णय गर्न पनि सत्यको जित सुनिश्चित छ ।’

विधान र निर्वाचन प्रक्रियालाई गहन रूपमा बुझ्न महासचिव पोखरेललाई अनुरोध गर्दै उनले भनेका छन्, ‘आदरणीय महासचिव कमरेडलाई हार्दिक अनुरोध गर्दछु । आदरणीय कमरेड निर्वाचनमा दाबी विरोधको पनि व्यवस्था गरिएको थियो तर कसैले दाबी विरोधको निवेदन दिएको छैन ।

अनि निर्वाचनको कलस्टरको छलफल निर्वाचन गराउनुभन्दा अगाडि फाइनल हुन्छ । हाम्रो पार्टीमा कि त विधानले उल्लेख गर्छ कि त बन्द सत्रको हलले जे निर्वाचनलाई निर्णय गरेर दियो त्यही निर्वाचन कलस्टरअनुसार निर्वाचन हुन्छ । यी सबै कुरालाई पालना गर्दै प्रथम कर्णाली प्रदेश अधिवेशनबाट मलगायत पदाधिकारी र सदस्य निर्वाचित भएका हौं ।’

२०४८ सालदेखि नै पार्टीको विधान, विधि सबै बुझेर आफू एमालेको एक सिपाही जस्तो पार्टीको काम गर्दै आएको शाहीले जनाएका छन् । एमालेको लामो समय जिल्ला कमिटी सदस्य हुँदै दुईपटक सचिवालय सदस्य, जिल्ला पार्टी उपाध्यक्ष, जिल्ला अध्यक्ष, प्रदेश कमिटी सदस्य, प्रदेश कमिटी सचिवालय सदस्य हुँदै आफू प्रथम कर्णाली प्रदेश अधिवेशनबाट उपसचिव पदमा निर्वाचित भएको उनले जनाएका छन् ।

पार्टीको विधान र विधि राम्रोसँग बुझेकै बताउँदै उनले हालसम्म त्यसलाई कार्यान्वयन गर्दै र गराउँदै आएको जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 445 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका ५ पत्रकार चुनाव लड्दै, महासंघका निवर्तमान अध्यक्ष वडा सदस्यमा