पोखरा । मधेश प्रदेशले प्रथम केपी ओली कप राष्ट्रिय टी २० क्रिकेट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
केपी ओली कप क्रिकेट
पोखरा रंगशालाको क्रिकेट मैदानमा शुक्रबार फाइनलमा राष्ट्रिय खेलाडीले भरिपूर्ण विभागीय त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश पहिलो पल्ट राष्ट्रियस्तरको प्रतियोगिता जित्न सफल भएको हो । १३६ रनको विजयी लक्ष्य पाएको आर्मी पूरै २० ओभरमा ७ विकेट गुमाएर १२४ रनमात्र बनाउन सकेको हो ।

उपाधिसँगै मधेशले ५ लाख रुपैयाँ तथा उपविजेता आर्मीले २ लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । म्यान अफ दि सिरिज मधेशका कप्तान हरिशंकर शाह भए । उनले नगद ३० हजार हात पारे । वेष्ट बलर कुल १० विकेट लिएका सन्दीप लामिछाने र वेष्ट व्याटरको उपाधि रित गौतम भए । उनले कुल १७० रन बनाएका थिए । उनीहरु दुवैले जनही २० हजार प्राप्त गरे ।
जितका लागि अन्तिम ३ बलमा आवश्यक १३ रनमा आर्मीका सोमपाल कामीले १ रनमात्र जोड्न सके । कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन जोड्दा विवेक यादव अविजित रहँदै २५ रन बनाएका थिए । कप्तान विनोद र सन्तोष कार्कीले सुरुवातमा राम्रो लय लिए । उनीहरुले ४ ओभरमा ३२ रनको साझेदारी खेले । प्रदीप पासवानको बलमा सन्तोषलाई एलबीडब्लू धरापमा परे भने रोहित पौडेलले मात्र ५ रन बनाउँदै आउट भए ।
मधेशलाई जिताउन कप्तान हरिशंकरले ४ विकेट हात पारे । फाइनलमा प्लेयर अफ दि म्यान उनले मात्र १९ रन खर्चेर ४ विकेट लिएका हुन् । प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने पर्थिक यादवले १ विकेट लिए ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी आयोजनामा भएको फाइनलमा टस जितेर मधेशले थालेको आक्रामक ब्याटिङमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । सातौं नम्बरमा ब्याटिङ गरेमा विशाल पटेलले ३२ बल खेल्दै सर्वाधिक ४९ रन बनाए । नटआउट रहेका उनले ३ चौका, ३ छक्का प्रहार गरेका हुन् । टिम कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इमरान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४ र मायन यादवले ३ रन बनाए ।
आर्मीका साहव आलमले ३ ओभरमा ५ रन खर्चिदै ३ विकेट लिए । विवेक यादवले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट लिए ।
गत ७ मंसिरदेखि सुरु प्रतियोगितामा विभागीय ३ सहित १२ टिमले भाग लिएका थिए । समापनमा विजेता टिम तथा खेलाडीहरुलाई पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नगद तथा ट्रफी वितरण गरे । प्रतियोगिता सफल पार्न सहयोग गर्ने सम्पूर्णमा एकेडेमी अध्यक्ष ध्रुव आचार्यले धन्यवाद दिए ।